प्रतिबन्धका बाबजुद ७ अर्ब रुपैयाँको ७१ हजार दुई पाङ्ग्रे सवारी साधन आयात



काठमाडौं । उच्च आयातका कारण विदेशी सञ्चिति घट्दै गएको र बजारमा तरलता अभाव भएको भन्दै सरकारले कडाइ गर्दा पनि ७ अर्बभन्दा बढीका दुई पाङ्ग्रे सवारी साधन भित्रिएको छ ।

सरकारले २०७८ पुसमा विभिन्न २० वस्तुको आयातमा एलसी मार्जिनको व्यवस्था गरेको थियो । त्यस्तै, २०७८ माघमा पुनः २७ वटा वस्तु थप गरी ४७ वस्तु आयातमा शतप्रतिशत र ५० प्रतिशत मार्जिनको व्यवस्था गरियो ।

उक्त व्यवस्थाले पनि आयातमा कमी नआएपछि वैशाखमा सरकारले राजपत्रमा सूचना प्रकाशन गरी १० वटा वस्तुको आयातमा प्रतिबन्ध नै लगाएको थियो । पेट्रोलियम पदार्थबाट चल्ने दुई पाङ्ग्रे सवारी साधनको आयातमा पनि प्रतिबन्ध लगाइएको थियो ।

सरकारले गत पुस अन्तिमदेखि भने आयात खुला गरेको छ । तर, आयात प्रतिबन्ध भएकै अवधिमा पनि ७ अर्ब बढी रकम सवारी साधन खरिदका लागि बाहिरिएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ७ महिनामा ७ अर्ब ३३ करोड ६० लाख रुपैयाँको ७१ हजार २२५ वटा दुई पाङ्ग्रे सवारी साधन आयात भएका छन् ।

उक्त आयातित सवारी साधनबाट ७ अर्ब ५८ करोड १५ लाख ५० हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

प्रतिबन्धका कारण दुई पाङ्ग्रे सवारी साधनको आयात भने ६२.४९ प्रतिशतले घटेको हो । विभागको तथ्यांकअनुसार गत वर्षको ७ महिनामा १९ अर्ब ११ करोड ६९ लाख रुपैयाँको १ लाख ८९ हजार ९२७ वटा दुई पाङ्ग्रे सवारी साधन आयात भएको छ ।

सरकारले गत वर्ष आयातित सवारी साधनबाट १८ अर्ब ७७ करोड ४ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । नेपालले चालू आर्थिक वर्षको ७ महिनामा ४ अर्ब ३० करोड ७६ लाख रुपैयाँको २५ सीसीदेखि १२५ सीसीसम्मको ४८ हजार ७६८ वटा दुई पाङ्ग्रे सवारी साधन आयात गरेको छ ।

त्यसैगरी, १२५ सीसीदेखि २०० सीसीसम्मका १९ हजार ५४४ वटा, २०० सीसीदेखि २५० सीसीसम्मका १९ सय ८१ वटा, २५० सीसीदेखि ५०० सीसीसम्मका १३२ वटा र २५० सीसीदेखि ४०० सीसीसम्मका ८ सय वटा सवारी साधन आयात भएको छ ।

सो अवधिमा ७ अर्ब १४ करोड ९९ लाख रुपैयाँका ७० हजार ३२३ वटा भारतबाट, १७ करोड ६६ लाख रुपैयाँका ८४६ वटा चीनबाट र ९४ लाख ४० हजार रुपैयाँका ५६ वटा ताइवानबाट दुई पाङ्ग्रे सवारी साधन आयात गरिएको छ ।

तरलता अभावका कारण अहिले बजारमा माग नभएकाले पनि आयात बढ्न नसकेको नाडा अटोमोबाइल एसोसिएसनले जनाएको छ ।

विद्युतीय दुई पाङ्ग्रे ५ हजार भित्रिए

भन्सार विभागको तथ्यांकअनुसार चालू आवको ७ महिनामा ६८ करोड २८ लाख ४२ हजार रुपैयाँको ५ हजार २६५ वटा दुई पाङ्ग्रे विद्युतीय सवारी साधन आयात भएको छ । उक्त सवारी साधनबाट नेपालले १८ करोड १७ लाख १० हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

नेपालले ७ महिनाको अवधिमा ४८ करोड १४ लाख रुपैयाँको ३ हजार ९६६ वटा चीनबाट,  १८ करोड १६ लाख ५६ हजार रुपैयाँको १२ सय २५ वटा भारतबाट, १ करोड ९० लाख ५९ हजार रुपैयाँको ७२ वटा इन्डोनेसियाबाट र ७ लाख २२ हजार रुपैयाँको २ वटा दुई पाङ्ग्रे विद्युतीय सवारी साधन हङकङबाट आयात गरेको छ ।


क्लिकमान्डु