चैतभित्रै सुरक्षण मुद्रण सुरु गर्न मन्त्री शर्माको निर्देशन



काभ्रे । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस) बाट चैत मसान्तभित्र अन्तःशुल्क ‘स्टिकर’ छाप्ने व्यवस्था मिलाउन निर्देशन दिएकी छिन् ।

काभ्रेको पनौती नगरपालिकामा रहेको सुरक्षण मुद्रण केन्द्रको निरीक्षण गर्दै उनले अर्थ मन्त्रालयबाट आवश्यक बजेट व्यवस्था भएकाले यो वर्षभित्रै काम सुरु गर्ने गरी चैत मसान्तसम्म अन्त:शुल्क छाप्न निर्देशन दिइन् ।

एक चरणको परिणाम आयो भने बाँकी काम अघि बढाउन आगामी आर्थिक वर्षका लागि आवश्यक बजेट व्यवस्था गर्ने पनि मन्त्री शर्माले बताइन् । यसको प्रभावकारिताको आधारमा थप काम अघि बढाइने उनको भनाइ छ ।

यो केन्द्रबाट सुरुमा अन्त:शुल्क स्टिकर, दोस्रो चरणमा राहदानी, राष्ट्रिय परिचयपत्र हुँदै केही समयपछि बैंक नोट छाप्नेसम्मको योजना छ ।

केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलले केन्द्रबाट कागजमा आधारित मुद्रण गर्न सकिने अवस्थामा पुगेको जानकारी दिए । अब लगत्तै आवश्यक मुद्रण सामग्री ल्याउने र आवश्यक जनशक्तिलाई तालिम दिएर मुद्रण सुरु गर्ने मन्त्रालयको तयारी छ ।

प्रेस सञ्चालनमा आएपछि सुरक्षित मुद्रणबापत नेपालबाट वार्षिक बाहिरिने १० अर्ब जोगिने सरकारको विश्वास छ ।


क्लिकमान्डु