आन्तरिक र बाह्य पर्यटकको रोजाइमा ‘चन्द्रागिरी’



काठमाडौं । नेपालको ऐतिहासिक एवं धार्मिक महत्व बोकेको ‘चन्द्रागिरी डाँडा’ स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख रोजाइ बन्दै गएको छ ।

संघीय राजधानीबाट दक्षिण–पश्चिम क्षेत्रमा अवस्थित रमणीयस्थल चन्द्रागिरीबाट काठमाडौँ उपत्यकाका साथै धादिङ, नुवाकोट, मकवानपुरलगायतका स्थलको मनोरम दृश्य देखिने र यहाँ विकास भएको एकीकृत पर्यटकीय संरचनामा रमाउन पाउने भएपछि यो डाँडा स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख रोजाइ बनेको हो ।

स्वदेशी तथा विदेशी पर्यटक हिमाल र काठमाडौँ उपत्यकाको मनोरम दृश्यमा रमाउन, आफ्नो दैनिकीबाट विश्राम लिई आराम गर्न, सभा–समारोह र बैठक आयोजना गर्न, विदेश तथा उपत्यका बाहिरबाट आएका पाहुनालाई भ्रमण गराउन चन्द्रागिरी जाने गरेका छन् । साथै धार्मिक तथा ऐतिहासिक चासो राख्ने व्यक्ति पनि दर्शन तथा अध्ययनका लागि चन्द्रागिरी पुग्ने गरेका छन् ।

शाहवंशीय राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको अभियानमा यही चन्द्रागिरी डाँडाबाट अवलोकन गरी काठमाडौँ उपत्यका (तत्कालीन नेपाल खाल्डो) को एकीकरणको सोच बनाएका थिए भन्ने ऐतिहासिक तथ्य नेपाल राज्य निर्माणको इतिहासमा भेटिन्छ ।

त्यसैले यही डाँडामा पृथ्वीनारायण शाहको सालिक पनि निर्माण गरिएको छ । उक्त इतिहाससँग जोडिएको सो सालिक त्यहाँ पुग्ने जो–कोहीको पनि मुख्य आकर्षण बन्ने गरेको छ र उनीहरू यो सालिकसँगै तस्बिर लिने गरेका छन् ।

चन्द्रगिरीमा भालेश्वर महादेवको मन्दिर छ । जहाँ साक्षात् महादेव उत्पत्ति भएको किंम्वदन्ती रहेकाले पनि यसको धार्मिक महत्वका कारण धेरै नेपाली तथा भारतीय नागरिक यहाँ पुग्ने गरेका छन् ।

यसरी आन्तरिक तथा बाह्य पर्यटकका अतिरिक्त यहाँको ऐतिहासिक र धार्मिक अध्ययन गर्नेहरूको पनि यो डाँडा आकर्षक गन्तव्य बन्न पुगेको देखिएको छ ।

२०७३ पुस १ देखि चन्द्रागिरी हिल्स लिमिटेडले व्यावसायिक रूपमा केबलकार सञ्चालनमा ल्याएसँगै केबलकारमार्फत चन्द्रागिरी डाँडामा उक्लिने यात्रुको संख्यामा वृद्धि भएको हो । यस्तै पर्यटकहरू पैदलमार्गबाट समेत चन्द्रागिरी डाँडा जाने गरेका छन् । यो लामो समयदेखिको ‘ट्रेकिङ रुट’ हो र अहिले पनि यसको महत्व घटेको छैन ।

चन्द्रागिरी हिल्स लिमिटेडका फाइनान्स प्रमुख विनायक पोखरेल बिहान ८ देखि बेलुका ८ बजेसम्म सञ्चालन हुने केबलकारमार्फत गएको पुसमा ७१ हजार १ सय ४५ जनाले चन्द्रागिरीको भ्रमण गरेको बताउँछन् । केबलकारमार्फत चन्द्रागिरी डाँडामा जान नेपाली नागरिकका लागि ७ सय ९९, नेपाली विद्यार्थीका लागि ६ सय र विदेशी नागरिकका लागि २२ अमेरिकी डलर शुल्क लाग्छ ।

चन्द्रागिरी डाँडामा अहिले दैनिक २ हजार व्यक्ति केबलकारबाट जाने गरेका छन् । बिदाका दिन ५ हजार व्यक्ति चन्द्रागिरी डाँडा पुग्ने गरेका छन् । चन्द्रागिरी डाँडामा भालेश्वर मन्दिर, पृथ्वीनारायण शाहको सालिक, जिपलाइन, बालउद्यान, घोडाचढी, चन्द्रागिरी हिल्स रिसोर्टलगायत हेर्नलायक र घुम्नलायक ठाउँ छन् ।

चन्द्रागिरी हिल्समा आर्थिक वर्ष २०७८/७९ मा ५ लाख ७ हजार ४ सय ११ नेपाली र ६३ हजार ३ सय ४४ सार्कसहित विदेशी मुलुकका पर्यटकले भ्रमण गरेको हिल्सका फाइनान्स प्रमुख पोखरेलले बताए ।

चन्द्रागिरी डाँडामा जिपलाइन सञ्चालनमा आएसँगै स्वदेशी तथा विदेशी पर्यटक बढ्न थालेका छन् । चन्द्रागिरी हिल्स प्रालिले गत वर्षदेखि जिपलाइन सञ्चालनमा ल्याएको थियो । जिपलाइन सञ्चालनमा ल्याएसँगै चन्द्रागिरीमा जिपलाइनको मज्जा लिने पर्यटकसमेत बढेका हुन् ।

७० लाख लगानीमा निर्माण गरिएको जिपलाइनको लम्बाइ सय मिटर छ भने अर्को २ सय मिटर लम्बाइ भएको जिपलाइनसमेत सञ्चालनमा छ । चन्द्रागिरी हिल्स प्रालिका महाप्रबन्धक सञ्जीव थापा स्वदेशी तथा विदेशी पर्यटकको गन्तव्य स्थलका रूपमा चन्द्रागिरीलाई विकास गर्न जिपलाइन सञ्चालनमा ल्याएको बताउँछन् ।

भालेश्वर मन्दिर नजिकदेखि बाल खेल बगैँचासम्म सय मिटर लामो निर्माण गरिएको जिपलाइनको मज्जा लिन ४ सय तिर्नुपर्छ भने २ सय मिटर लामो जिपलाइनको मज्जा लिन ८ सय तिर्नुपर्छ । ‘आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धन गर्ने नीतिअनुसार चन्द्रागिरीमा विभिन्न भौतिक पूर्वाधार निर्माण गरेका हौँ,’ महाप्रबन्धक थापाले भने ।

अस्ट्रियाली ‘डोब्बलमेयर’ कम्पनीले निर्माण गरेको चन्द्रागिरी केबलकारको लम्बाइ २ किलोमिटर ४ सय ६० मिटर छ । यसका मार्गमा ११ टावर छन् । यात्रु बोक्ने ३८ र सामान बोक्ने तीन गरी ४१ गोण्डला छन् । चन्द्रागिरी डाँडामा पुग्न थानकोट स्टेसनबाट ९ देखि १४ मिनेट लाग्छ ।

केबलकारको एउटा डिब्बामा ८ व्यक्ति ओहोरदोहोर गर्न मिल्छ । गत वर्षहरूमा कोरोनाका कारण आन्तरिक तथा बाह्य पर्यटक घटे पनि यो वर्ष पर्यटक आवागमनमा वृद्धि भएको चन्द्रागिरी हिल्सले जनाएको छ ।

चन्द्रागिरी हिल्स प्रालिले चन्द्रागिरीमा रिसोर्टसमेत सञ्चालनमा ल्याएको छ । अहिले काठमाडौँको व्यस्त दैनिकबाट केही समय आराम लिन र हप्ताभरको थकान मेट्न शुक्रबार या शनिबार आन्तरिक तथा बाह्य पर्यटक रिसोर्ट पुग्ने गरेका छन् ।

कुनै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमका सभा, सम्मेलन या सेमिनार आयोजनाका लागि पनि यहाँ हलको व्यवस्था छ । नेपाल सरकार एवं गैरसरकारी संघसंस्था र कम्पनीले यहाँ कार्यक्रम सञ्चालन गर्ने गरेका छन् ।

राजधानी काठमाडौँबाट सबैभन्दा नजिकको यो पर्यटकीय गन्तव्य सरकारको आमन्त्रणमा नेपाल आउने विभिन्न विदेशी विशिष्ठ पाहुनाको पनि आकर्षण बन्ने गरेको छ ।


क्लिकमान्डु