मुरारका ग्रुप र भारतको सेरामिक्स लिमिटेडबीच सहकार्य



काठमाडौं । नेपालको प्रख्यात व्यावसायिक समूह मुरारका ग्रुपले भारतको प्रसिद्ध सोमानी सेरामिक्ससँगको संयुक्त लगानीमा टायल उत्पादन केन्द्र स्थापना गर्ने भएको छ । मुरारका ग्रुप र सोमानीबीचको यो संयुक्त उद्यमले नेपालमा करिब ३ मिलियन स्क्वायर मिटर वार्षिक क्षमताको टाइल उत्पादन केन्द्र सञ्चालन र व्यवस्थापन गर्ने भएको हो ।

काठमाडौंको म्यारियट होटलमा सञ्चारकर्मी तथा कम्पनीका प्रतिनिधिको उपस्थितिमा आज आयोजित पत्रकार सम्मेलनमा उक्त सहकार्यको बारेमा जानकारी दिइएको हो । ‘मुरारका ग्रुप ग्राहकलाई सदैव गुणस्तरीय उत्पादन र सेवा प्रदान गर्न प्रतिबद्ध छ,’ सहकार्यबारे मुरारका ग्रुपका प्रबन्ध निर्देशक पशुपति मुरारका भने, ‘यो सहकार्यले नेपाली बजारमा देखिएको गुणस्तरीय टाइलको आवश्यकतालाई परिपुर्ति गर्नेछ भन्ने विश्वास छ ।’ यो सहकार्यले नेपालमा रोजगारी सिर्जना गर्दै देशको आर्थिक विकासमा समेत महत्त्वपूर्ण टेवा पुग्ने उनको भनाइ छ ।

त्यस्तै सोमानी सेरामिक्सका प्रबन्ध निर्देशक अभिषेक सोमानीले नेपालको प्रतिष्ठित व्यावसायिक घराना मुरारका ग्रुपसँग सहकार्य गर्न पाउँदा गौरवान्वित भएको बताए । सोमानी सेरामिक्सले विश्वभर आवासीय तथा औद्योगिक प्रयोजनका लागि उपयुक्त उच्च गुणस्तरको टाइल्स उत्पादन तथा आपूर्ति गर्दै आएको छ ।


क्लिकमान्डु