सुन आयातमा भारी गिरावट, कसरी चल्दैछ बजार ?



काठमाडौं । कच्चा सुन तथा सुनका गरगहना आयातमा भारी गिरावट आएको छ । आर्थिक वर्ष २०७८/७९ को पहिलो ७ महिनामा २५ अर्ब ७९ करोड रुपैयाँबराबरको ३ हजार ७ सय २९ किलो सुन आयात भएकोमा चालू आवको सोही अवधिमा १३ अर्ब ६० करोड रुपैयाँबराबरको १ हजार ७ सय ३७ किलो सुन भित्रिएको हो ।

साउनदेखि माघसम्म हरेक महिना २ अर्ब रुपैयाँबराबरको कच्चा सुन र सुनका गरगहना भित्रिएका छन् । समीक्षा अवधिमा गत वर्ष ८७ किलो सुनका गरगहना आयात भएकोमा चालू आवमा २० किलो सुनका गरगहना आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

गत वर्षको ७ महिनामा टर्कीबाट ५ अर्ब ५६ करोड मूल्यबराबरको ८ सय ११ किलो सुन आयात भएको छ भने युनाइटेड अरब इमिरेट्स (यूएई)बाट १९ अर्ब ६४ करोड रुपैयाँको सुन आयात भएको छ ।

चालू आवमा भने स्विट्जरल्यान्डबाट पनि सुन आइरहेको छ । समीक्षा अवधिमा स्विट्जरल्यान्डबाट करिब ७१ करोड रुपैयाँबराबरको सय किलो सुन भित्रिएको हो । त्यस्तै टर्कीबाट १ अर्ब ८ करोड मूल्यबराबरको १ सय ५० किलो र यूएईबाट १० अर्ब ७८ करोड रुपैयाँबराबरको १ हजार ४ सय ६७ किलो सुन आयात भएको छ ।

चालू आवको साउनदेखि माघसम्ममा १ अर्ब ३ करोड रुपैयाँबराबरको २० किलो सुनका गरगहना आयात भएका छन् । सुनका गहना अफ्रिकी देश मोरोक्कोदेखि अमेरिका, अस्ट्रेलिया र युरोप मुलुकबाट पनि भित्रिएका छन् । ६६ करोड रुपैयाँका गहना त हङकङबाट मात्रै आयात भएको छ ।

गत वर्षभरमा ३५ अर्ब ६१ करोड रुपैयाँको सुन आयात भएको थियो । त्यस्तै आव २०७७/७८ मा २७ अर्ब ३४ करोडको र २०७६/७७ मा १३ अर्ब ४६ करोड मूल्यबराबरको सुन नेपाल भित्रिएको थियो ।

बजारमा सुन अभाव छ : महासंघ

विगत वर्षहरुमा कोभिड–१९ महामारीका कारण सुन आयात प्रभावित बनेको थियो । तर, यो वर्ष भने सरकारले आयातमा कडाइ गरेकाले आयात घटेको हो ।

सरकारले विदेशी मुद्राको सञ्चिति बढाउन विलासिताको वस्तुको आयातमा प्रतिबन्ध लगाउँदा सुन आयातको हिस्सा पनि घटाएको छ । २०७८ फागुन २१ सम्म दैनिक प्रतिकिलो २० किलो सुन आयात भइरहेकोमा फागुन २२ देखि १० किलोमा झारिएको छ ।

‘सुन आयात घट्नुको कारण अरु केही नभएर कोटा कटौती नै हो,’ नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले क्लिकमान्डुसँग भने, ‘सरकारले दैनिक १० किलोमा झारेपछि बजारमा एक किसिमको हाहाकार नै छ ।’

मंसिरसम्म जसोतसो चलेको र पुस अफ सिजन भएकाले समस्या नदेखिएको उनले बताए । ‘तर माघदेखि गरगहना केही मात्रामा पाइए पनि सुनको चरम अभाव भइसकेको छ,’ शाक्य भन्छन्, ‘कोटा घटाइँदा सुन बजार अस्तव्यस्त बनेको छ ।’

महासंघका अनुसार बजारको दैनिक माग ३० देखि ३५ किलो छ । तर, एक वर्षदेखि दैनिक १० किलो मात्र सुन आयात हुँदा बजार कसरी चलिरहेको छ ?

‘बजारको ३० देखि ४० प्रतिशत माग पुरानो सुनले धान्छ, अहिले मूल्य बढेकाले पुरानो सुन अलि बढी आइरहेको छ,’ अध्यक्ष शाक्य भन्छन्, ‘तर त्यसले लामो समय धान्न सक्दैन, सुन अभावकै कारण व्यवसायी धरापमा पर्ने स्थिति आइसकेको छ ।’

‘राजस्व प्रभावित’

सुन आयात कटौतीले राजस्व संकलन पनि ठूलो मात्रमा प्रभावित भएको छ । महासंघका अनुसार एक किलो सुन आयात गर्दा राज्यले साढे ८ लाखभन्दा बढी राजस्व प्राप्त गर्छ । दैनिक १० किलो सुन कटौती हुँदा मासिक ६३ करोड रुपैयाँबराबर राजस्व गुमिरहेको छ ।

चालू आवको ७ महिनामा सरकारले सुन आयातमार्फत २ अर्ब ७१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । गत वर्षको सोही अवधिमा ३ अर्ब १३ करोड राजस्व संकलन भएको थियो । गत वर्षको तुलनामा सुन प्रतितोला १२ हजार रुपैयाँभन्दा धेरैले बढेको छ । बुधबार सुन प्रतितोला १ लाख ३ हजार रुपैयाँले कारोबार भयो ।

‘सुन रोकेर फरक पर्दैन’

सुन आयात रोकेर क्षणिक रुपमा राजस्व संकलन प्रभावित भए पनि कुनै फरक नपर्ने अर्थविदहरु बताउँछन् । ‘सरकारले सुन मात्र होइन, अन्य विलासिताका वस्तुको आयात अलि लामै समय रोक्नुपथ्र्यो,’ अर्थशास्त्री केशव आचार्यले क्लिमान्डुसँग भने, ‘विदेशी मुद्रा रित्तिन नदिन सरकारले विलासिताका वस्तु आयातमा कडाइ गर्नैपर्छ ।’

यद्यपि, आयात प्रतिबन्धले दीर्घकालीन समाधानको उपाय नभएकाले आन्तरिक उत्पादन वृद्धि, आयात प्रतिस्थापन र निर्यात प्रवर्धन नै सरकारको प्राथमिकता हुनुपर्ने उनको भनाइ छ ।

‘एकतर्फी व्यापार’

चालू आवको ७ महिनामा नेपालले १ सय ५१ देशसँग व्यापार गरेको छ । यो अवधिमा ९ खर्ब १९ अर्बको आयात र ९३ अर्ब ४३ करोड रुपैयाँको निर्यात गरेको नेपालले ८ देशबाट आयात गरेको छैन, निर्यात मात्र गरेको छ ।

त्यस्तै १ सय ५१ मध्ये ३१ देशबाट नेपालले आयात मात्र गरेको छ । ती देशमा कुनै पनि सामान निर्यात गर्न सकेको छैन । यसको अर्थ नेपालले ३९ देशसँग एकतर्फी व्यापार गरेको छ ।

कहाँबाट भित्रियो डेढ अर्बको सामान ?

नेपालले करिब डेढ अर्ब रुपैयाँबराबरको सामान आयात गरेका मुलुकबारे भन्सार विभाग अनभिज्ञ छ । विभागले १ अर्ब ४७ करोड ९७ लाख रुपैयाँबराबरको सामान आयात भएका देशबारे जानकारी नै नपाएको हो ।

तथ्यांकमा आयातित परिमाण र मूल्यबारे जानकारी दिइएको छ तर देशको नामको ठाउँमा ‘नट स्पेसिफाइड’ उल्लेख छ । त्यस्तै १ लाख ८८ हजार रुपैयाँको सामान ‘मेनी कन्ट्रिज’ शीर्षकमा निर्यात गरिएको छ । त्यसबाहेक १ लाखभन्दा कम परिमाणमा व्यापार भएका देशलाई छुट्ट ‘अदर कन्ट्रिज’मा सूचीकृत गरिएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा पनि ३ अर्ब ७७ करोड रुपैयाँको सामान आयात भएको देशबारे विभागलाई जानकारी थिएन । यति ठूलो परिमाणमा कहाँबाट आउँछ सामान, जसको जानकारी भन्सार विभागलाई हुँदैन ?


क्लिकमान्डु