उपत्यकामा घरजग्गा कारोबार ६१% ले घट्यो, ६ महिनामा पौने ११ अर्ब मात्रै कर्जा प्रवाह



काठमाडौं । बैंकिङ प्रणालीमा देखिएको लगानी योग्य पुँजी (तरलता) अभाव र चर्को ब्याजदरका कारण घरजग्गाको कारोबारमा ब्यापक गिरावट आएको छ । काठमाडौं उपत्यकामा मात्रै घरजग्गा किनबेच ६१ प्रतिशतले घटेको छ ।

बजारमा अहिले तरलताको चरम अभाव भएका कारण लागनीयोग्य क्षेत्रमा लगानी हुन सकेको छैन भने बजारमा माग नहुँदा सञ्चालनमा रहेको उद्योगको उत्पादन पनि कटौती गर्नु परेको अवस्था छ ।

तरलता अभावको ठूलो असर घरजग्गा कारोबारमा पनि परेको छ । चालू आर्थिक वर्षको ७ महिनाको अवधिमा गत वर्षको सोही अवधिको तुलनामा उपत्यकामा घरजग्गा किनबेच ६०.९६ प्रतिशतले घटेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ ।

देशभर रहेको घरजग्गा किनबेचमध्ये सबैको आकर्षणको केन्द्र काठमाडौं उपत्यकामा तरलता अभावले कारोबार कमी हुँदा राजस्व संकलनमा पनि ठूलो असर पुगेको छ ।

विभागअनुसार चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा उपत्यकाको ९ वटा मालपोत कार्यालयबाट २४ हजार १३८ वटा घरजग्गा किनबेच भएको छ । जबकी गत वर्षको सोही अवधिमा उपत्यकाका मालपोत कार्यालयहरुबाट ६१ हजार ८३८ वटा घरजग्गा किनबेच भएका थिए ।

गत वर्ष उपत्यकामा मासिक ९ हजारको हाराहारीमा घरजग्गा किनबेच भएका थिए । तर, यो वर्ष तरलता अभाव र कित्ताकाटको समस्याले गर्दा कारोबारमा निकै धक्का पुगेको विभागका सूचना अधिकारी विष्णुकुमार महत बताउँछन् । उनकाअनुसार पछिल्ला दिनहरुमा कित्ताकाटको समस्या हट्दै गएको छ । तर, तरलता अभावको समस्या कायमै रहेकाले कारोबारमा सुधार आउन सकेको छैन ।

विभागको तथ्याङ्क अनुसार यो वर्ष उपत्यकामा मासिक ३ हजारको हाराहारीमा मात्रै घरजग्गा किनबेच भएको पाइन्छ । गत वर्ष मासिक ९ हजारको हाराहारीमा घरजग्गा किनबेच भएको थियो ।

विभागअनुसार चालु आर्थिक वर्षको साउन महिनामा ३ हजार २१६, भदौमा ४३ सय, असोजमा २७ सय ६१, कात्तिकमा २७ सय ७९, मंसिरमा ३१ सय ९५, पुसमा ३६ सय ४१ र माघमा ४१ सय ९५ वटा घरजग्गा किनबेच भएका छन् । त्यस्तै, पछिल्ला दिनहरुमा कित्ताकाट विस्तारै अगाडि बढ्न थाले पछि कारोबार बढ्न थालेको महतको भनाइ छ ।

सरकारले यो वर्षको बजेट तथा नीति तथा कार्यक्रममार्फत् घरजग्गा कारोबारमा कडाइ गर्ने घोषणा गरेको थियो । जसले गर्दा बजारमा घरजग्गा कारोबार निकै प्रभावित भएको घरजग्गा व्यवसायीहरुको भनाइ छ । साथै, अहिले घरजग्गा किनबेचका लागि बैंक तथा वित्तीय संस्थाले पर्याप्त मात्रामा कर्जा प्रवाह गर्न नसकेको अवस्थाले पनि घरजग्गा कारोबारमा ठूलो धक्का पुगेको व्यवसायीहरुको भनाइ छ ।

घरजग्गा व्यवसायी अधिराज राईले तरलता अभावले कर्जा पर्याप्त मात्रामा प्रवाह नभएको र चर्को ब्याजदर भएका कारण घरजग्गा कारोबार बढ्न नसकेको बताए । घरजग्गा किनबेच माग नहुँदा व्यवसायीहरु निकै मारमा परेको उनको भनाइ छ ।

कुन मालपोत कार्यालयबाट कति घरजग्गा किनबेच ?

उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा गरि ९ वटा मालपोत कार्यालय छन् । त्यसमध्ये चालू आर्थिक वर्षको ७ महिनाको अवधिमा सबैभन्दा बढी मालपोत कार्यालय ललितपुरबाट ५ हजार ५३८ वटा घरजग्गा किनबेच भएको छ । गत वर्ष सो मालपोत कार्यालयबाट ७ महिनामा १४ हजार १५८ वटा घरजग्गा किनबेच भएको थियो ।

ललितपुरपछि भक्तपुर मालपोत कार्यालयबाट ५ हजार १७९ घरजग्गा किनबेच भएको छ । गत वर्ष भक्तपुरबाट सबैभन्दा बढी घरजग्गा किनबेच भएको थियो । भक्तपुरबाट गत वर्ष ७ महिनाको अवधिमा १४ हजार ६०६ वटा घरजग्गा किनबेच भएको थियो।

त्यसैगरी, कलंकी मालपोत कार्यालयबाट ४ हजार ३४९, साँखुबाट ३ हजार २६८, चावहिलबाट २ हजार ८२६, डिल्लीबजारबाट १ हजार १४८, टोखाबाट ९१५, मनमैजुबाट ८१० र गोटीखेल मालपोत कार्यालयबाट १०५ वटा घरजग्गा किनबेच भएका थिए ।

करिब ८ अर्ब रुपैयाँ राजस्व संकलन
घरजग्गा कारोबारबाट उपत्यकाका मालपोत कार्यालयहरुले चालु आर्थिक वर्षको ७ महिनामा करिब ८ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । साउनदेखि माघ मसान्तसम्ममा मालपोत कार्यालयहरुले ७ अर्ब ८७ करोड रुपैयाँ राजस्व संकलन गरेको छन् । चालु आर्थिक वर्षमा कारोबार घट्दा राजस्व संकलनमा पनि असर पुगेको छ ।

उपत्यकाको मालपोत कार्यालयबाट साउनमा १ अर्ब १ करोड रुपैयाँ, भदौमा १ अर्ब ४२ करोड रुपैयाँ, असोजमा ९३ करोड ६६ लाख रुपैयाँ, कात्तिकमा ९३ करोड ३८ लाख रुपैयाँ, मंसिरमा ९६ करोड ४१ लाख रुपैयाँ, पुसमा १ अर्ब २४ करोड ३६ लाख रुपैयाँ र माघमा १ अर्ब ३५ करोड ७१ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

७ महिनाको अवधिमा उपत्यकाको मालपोत कार्यालयमध्ये सबैभन्दा बढी ललितपुर मालपोत कार्यालयले राजस्व संकलन गरेको छ ।

ललितपुर मालपोत कार्यालयबाट १ अर्ब ७५ करोड ७४ लाख रुपैयाँ राजस्व संकलन भएको छ । त्यसैगरी, डिल्लीबजार मालपोत कार्यालयबाट १ अर्ब २५ करोड २१ लाख रुपैयाँ, चावहिलबाट १ अर्ब २१ करोड ६४ लाख रुपैयाँ, कलंकीबाट १ अर्ब १९ करोड ४५ लाख रुपैयाँ, भक्तपुरबाट १ अर्ब १८ करोड ७० लाख रुपैयाँ, साँखुबाट ५० करोड २८ लाख रुपैयाँ, मनमैजुबाट ४१ करोड ४६ लाख रुपैयाँ, टोखाबाट ३४ करोड १२ लाख रुपैयाँ र गोटीखेल लगनखेलबाट ४३ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

पौने ११ अर्ब मात्रै कर्जा प्रवाह

तरलता अभावले कर्जा प्रवाह हुन नसक्दा चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १० अर्ब ७५ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । गत वर्षको सोही अवधिमा घरजग्गा क्षेत्रमा मात्रै ६१ अर्ब ८१ करोड ९७ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो ।

नेपाल राष्ट्र बैंकअनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा व्यक्तिगत डेढ करोड, आवासीय क्षेत्रमा मात्रै १० अर्ब ७५ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । यता रियल स्टेट कर्जा भने प्रवाह नभएको राष्ट्र बैंकको तथ्याङ्क छ ।

चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा व्यक्तिगत आवासीय क्षेत्रमा ६ अर्ब २३ करोड ९० लाख रुपैयाँ, व्यवसायिक कम्प्लेक्स र आवासिय अपार्टमेन्ट निर्माणका लागि ७३ करोड ६९ लाख रुपैयाँ र आम्दानी गर्ने व्यवसायिक कम्प्लेक्स क्षेत्रमा ३ अर्ब ५३ करोड ११ लाख रुपैयाँ कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ । साथै, जग्गा खरिद र प्लटिङ क्षेत्रमा १४ करोड १३ लाख रुपैयाँ मात्रै कर्जा प्रवाह भएको छ ।


अरिष्मा मोक्तान