भारतले धान निर्यात गर्ने देशमध्ये नेपाल ८औं स्थानमा, वार्षिक कति गर्छ निर्यात ?



काठमाडौं । विश्वको पाँचौ ठूलो अर्थतन्त्र भएको देश भारत धान उत्पादन गर्नेमा दोस्रो स्थानमा रहेको छ । चीनपछि सबैभन्दा बढी धान उत्पादन गर्ने देश भारतले वार्षिक १३ करोड टन हाराहारीमा धान उत्पादन गर्दै आएको छ ।

भारत, नेपाललगायत विभिन्न देशमा चामललाई प्रमुख खाना मानिन्छ । त्यसैले यसको माग र खपत उच्च छ । उखु, मकैपछि विश्वमा सबैभन्दा बढी उत्पादन हुने कृषि बाली धान उत्पादनमा चीन पहिलो स्थानमा छ । चीनले वार्षिक २१ करोड टन हाराहारीमा धान उत्पादन गर्दै आएको छ ।

भारतको बेंगाल, उत्तर प्रदेश, आन्द्र प्रदेश, तामिल नाडु, बिहार, चण्डीगर्ग र ओडिसामा सबैभन्दा बढी धान उत्पादन हुने गर्छ । भारत सरकारले विश्वका १५० वटाभन्दा बढी देशमा वार्षिक खर्बौं रुपैयाँको निर्यात गर्दै आएको छ ।

वार्षिक ३ हजाभन्दा बढी प्रकारका धान उत्पादन गर्ने भारतमा ४५ हजार ४१६ हेक्टर क्षेत्रफलमा धान उत्पादन हुने गरेको भारतको कृषि मन्त्रालयले जनाएको छ । कृषि मन्त्रालयको तथ्याङ्कअनुसार सन् २०२१/२२ मा १३ करोड टन धान उत्पादन गरेको उल्लेख छ । जुन हालसम्मकै उच्च रहेको जनाएको छ ।

भारतमा सन् २०२०/२१ मा १२ करोड ४३ लाख टन, सन् २०१९/२० मा ११ करोड ८ लाख टन, सन् २०१८/१९ मा ११ करोड ६ लाख टन र सन् २०१७/१८ मा ११ करोड २७ लाख टन चामल उत्पादन गरेको थियो ।

तथ्याङ्क हेर्दा भारत सरकारले हरेक वर्ष चामलको उत्पादन बढाउँदै लगेको देखिन्छ । सन् २००७ देखि सन् २०११ सम्ममा वार्षिक १० करोड टनको हाराहारीमा चामल उत्पादन गर्दै आएको भारतले त्यसयता वर्षेनी बढाउँदै अहिले वार्षिक १३ करोड टन उत्पादन गर्ने अवस्थामा पुगेको छ ।

भारतले सन् २०२१/२२ मा प्रतिहेक्टर जग्गाको क्षेत्रफलमा २७१३ केजी धान उत्पादन भएको जनाएको छ । भारतले वार्षिक उत्पादन गरेको चामलमध्ये ८५ प्रतिशत मुख्य १० देशमा निर्यात गर्दै आएको छ । तथ्याङ्अअनुसार भारतले निर्यात गर्ने मुख्य देशमा नेपाल पनि समावेश रहेको छ ।

नेपालमा प्रमुख खाद्यान्नको रुपमा चामल रहेको छ । नेपालको उत्पादन भएको धानले बजारको माग धान्न नसकेपछि वार्षिक अर्बौं रुपैयाँको चामल आयात गर्दै आएको छ । त्यस्तै, भारतले चामल निर्यात गर्ने प्रमुख देशमध्ये नेपाल ८औं स्थानमा रहेको त्यहाँको कृषि मन्त्रालयले उल्लेख गरेको छ । भारतले नेपालमा सन् २०२१/२२ मा ३ करोड ८० हजार अमेरिकी डलरको चामल निर्यात गरेको छ ।

भारतले नन–बास्मती चामल विश्वको १५० वटा देशमा निर्यात गर्दै आएको छ । जसमा भारतले सबैभन्दा बढी चामल चीनमा निर्यात गर्दै आएको तथ्याङ्कले देखाउँछ ।

भारतले सन् २०२१/२२ मा चीनमा १६ करोड अमेरिकी डलरको चामल निर्यात गरेको छ । त्यसपछि भारतले बेनिनमा ८ करोड ६ ० लाख अमेरिकी डलर, गिनियामा ७ करोड ६० लाख अमेरिकी डलर, सेनेगलमा ६ करोड २० लाख अमेरिकी डलर र कोटे डी भोयुरमा ४ करोड ५० लाख अमेरिकी डलरको चामल निर्यात गरेको छ ।

त्यसैगरी, भारतले भियतनाममा ४ करोड ३० लाख अमेरिकी डलर, टोगोमा ४ करोड २० लाख अमेरिकी डलर, सोमालियामा ३ करोड ४० लाख अमेरिकी डलर र अंगोलामा ३ करोड १० लाख अमेरिकी डलरको चामल निर्यात गरेको छ । भारतले सन् २०२१/२२ मा मात्रै ६ अर्ब अमेरिकी डलर बराबरको धान निर्यात गरेको छ ।


क्लिकमान्डु