१८.५० प्रतिशतले घट्यो अभिकर्ता कमिसन, कुन कम्पनीले कति खर्चिए ?



काठमाडौं । सञ्चालनमा रहेका १८ वटा जीवन बीमा कम्पनीहरुले दोस्रो त्रैमासको अवधिमा बीमा अभिकर्ता कमिसनमा ६ अर्ब २० करोड २९ लाख रुपैयाँ खर्च गरेका छन् ।

जुन गत आवको सोही अवधिको तुलनामा १८.५० प्रतिशतले थोरै हो । समीक्षा अवधिमा अभिकर्ता कमिसन १ अर्ब ४० करोड ७८ लाख ९१ हजार रुपैयाँले कम हो ।

गत आवको दोस्रो त्रैमासमा बीमा कम्पनीहरुबाट अभिकर्ताहरुले ७ अर्ब ६१ करोड ८ लाख ६६ हजार रुपैयाँ कमिसन बुझेका थिए । कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरणअनुसार सबै कम्पनीको अभिकर्ता कमिसन शिर्षकमा हुने रकम घटेको छ ।

यस अवधिमा १८ वटा कम्पनीमध्ये अभिकर्ता कमिसन शिर्षकमा नेपाल लाइफले १ अर्ब ५३ करोड ८० लाख ५१ हजार रुपैयाँ खर्चेको छ । समीक्षा अवधिको तुलनामा १६.६२ प्रतिशतले थोरै हो । गत आवको सोही अवधिमा इनस्योरेन्सले यस शिर्षकमा १ अर्ब ८४ करोड ४६ लाख ८२ हजार रुपैयाँ खर्चिएको थियो । नेशनल लाइफका अभिकर्ताले यस अवधिमा ७३ करोड ९३ लाख रुपैयाँ कमिसन बुझेका छन् ।

लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) का अभिकर्ताले ७१ करोड १८ लाख रुपैयाँ, यूनियन लाइफका अभिकर्ताले ३९ करोड ७९ लाख, एशियन लाइफका अभिकर्ताले ३५ करोड १९ लाख रुपैयाँ, सिटिजन लाइफका अभिकर्ताले ३४ करोड २७ लाख रुपैयाँ, रिलायबल नेपालका अभिकर्ताले २४ करोड ८० लाख रुपैयाँ र मेट लाइफ अभिकर्ताले २३ करोड १६ लाख रुपैयाँ कमिसन बुझेका छन् ।

यस्तै, आइएमई लाइफका अभिकर्ताले २२ करोड ४६ लाख रुपैयाँ, रिलायन्स लाइफका अभिकर्ताले १८ करोड ४१ लाख रुपैयाँ, प्राइम लाइफका अभिकर्ताले १७ करोड ३१ लाख रुपैयाँ, सन् नेपाल लाइफका अभिकर्ताले १६ करोड ५१ लाख, सानिमा लाइफका अभिकर्ताले १४ करोड ६१ लाख, गुराँस लाइफका अभिकर्ताले १४ करोड २६ लाख, महालक्ष्मी लाइफका अभिकर्ताले १० करोड ९३ लाख रुपैयाँ, सूर्याज्योति लाइफका अभिकर्ताले २५ करोड ७७ लाख रुपैयाँ र राष्ट्रिय बीमा संस्थानका अभिकर्ताले ९ करोड १३ लाख रुपैयाँ कमिसन बुझेका छन् ।

बीमा कम्पनी र बीमितका बीचमा मध्यस्थकर्ताको रुपमा काम गर्ने व्यक्ति अभिकर्ता हुन् । बीमा ऐन २०७९ अनुसार बीमा समितिबाट इजाजत पत्र पाएका व्यक्ति अभिकर्ता हुन् ।

बीमा अभिकर्ताले बीमा कम्पनीको तलबी कर्मचारी नभइ कमिसनको आधारमा बीमा कम्पनीको तर्फबाट काम गर्छन् ।

अभिकर्ताले पाउने कमिशनको व्यवस्था बीमा नियमावली, २०४९ मा व्यवस्था गरिएको छ । बीमा जीवन बीमामा पहिलो, दोस्रो र तेस्रो वर्षको प्रिमियको २५ प्रतिशत, दोस्रो र तेस्रो वर्ष १५ प्रतिशत, त्यसपछि ८ वर्षसम्म प्रिमियमको ५ प्रतिशतका दरले कमिसन प्रदान गरिन्छ । तर, बीमा योजना र बीमा अवधिका आधारमा बीमा अभिकर्ताले पाउने कमिसन प्रतिशत फरक फरक हुने व्यवस्था छ ।


क्लिकमान्डु