सेती नदी ६ परियोजनाको सर्वेक्षण अनुमति माग्दै भारतीय कम्पनीले दियो निवेदन



काठमाडौं । भारत सरकारको लगानी रहेको एनएचपीसी लिमिटेडले ४५० मेगावाट क्षमताको सेती नदी ६ आयोजनाको सर्वेक्षण अनुमति माग गर्दै लगानी बोर्ड नेपालमा निवेदन दिएको छ ।

लगानी बोर्ड र एनएचपीसीबीच गत भदौ २ गते पश्चिम सेती र सेती नदी ६ परियोजना निर्माण सम्बन्धी समझदारी भएको थियो ।

एनएचपीसीले यसअघि नै पश्चिम सेती जलविद्युत परियोजनाको सर्वेक्षण अनुमति लिँदै प्रारम्भिक अध्ययन प्रतिवेदनसमेत बुझाइसकेको छ

सेती नदी ६ परियोजनाका विषयमा यसअघि अध्ययन गर्न लागेको विभिन्न लागत बुझाउँदै एनएचपीसीले सर्वेक्षण अनुमति माग गर्दै लगानी बोर्डमा निवेदन दिएको हो ।

एनएचपीसीले ७५० मेगावाट क्षमताको पश्चिम सेती परियोजनाका विषयमा वृहत अध्ययन गरिरहेको छ । बोर्डले सेती नदी ६ परियोजनाको सर्वेक्षण अनुमति दिए लगत्तै यस आयोजनाका विषयमा पनि अध्ययन अघि बढाउने छ ।

गत भदौ २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा भएको समझदारीपत्रमा दुई वर्षभित्र अध्ययन सम्पन्न गर्दै दुबै परियोजना निर्माण अघि बढाउने उल्लेख छ ।


क्लिकमान्डु