१५ अर्ब लगानीमा दोधारा-चाँदनी सुख्खा बन्दरगाह बन्ने, ३ हजार मालवाहक पार्किङ क्षमता



काठमाडौं । कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिकामा दोधारा–चाँदनी सुख्खा बन्दरगाह/एकीकृत जाँचचौकी बन्ने भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको मातहतमा रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले उक्त बन्दरगाह निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेस गरेको छ ।

समितिले दोधारा–चाँदनी नगरपालिका वडा १,२ र ३ क्षेत्रमा सडक, रेल्वे, प्लेटफर्म, गोदाम, पार्किङ क्षेत्र, भन्सार, तौल पुल, कन्टेनर यार्ड, यात्रु टर्मिनल, पशुपन्छी/खाद्य जाँच केन्द्र, कार्यशाला, बैंक, प्रहरी केन्द्र, प्रशासनिक भवन आदि भौतिक संरचनाहरु निर्माण गर्नेछ ।

समितिले करिब २८० बिगाहा (१८९ हेक्टर) क्षेत्रफलमा बन्दरगाह निर्माण गर्ने जनाएको छ । जसमा १४७.२९ हेक्टर क्षेत्रफलमा कुल निर्माण क्षेत्र हुनेछ ।

समितिअनुसार बन्दरगाहमा ३ देखि ५ मिटर उचाईमा अन्डरग्राउन्ड सल्ट हुनेछ । त्यसैगरी, बन्दरगाहमा आयात ७ हजार वर्गमिटर क्षेत्रफलमा गोदाम हुनेछ भने २५२० वर्गमिटरमा निर्यात गोदाम हुनेछ । साथै, १७ हजार ५ सय वर्गमिटरमा रेल्वे वायर हाउस हुनेछ भने १० हजार वर्गमिटरमा कन्टेनर स्टेकिङ यार्ड हुनेछ ।

बन्दरगाहमा ६६० वर्गमिटरमा यात्रु टर्मिनल भवन, १६५० वर्गमिटरमा प्रशासनिक भवन, १६५० वर्गमिटरमा चमेना गृह, ९६० वर्गमिटरमा सुरक्षा कर्मचारी, ६६० वर्गमिटरमा भन्सार र १२ सय वर्गमिटरमा बैंक/क्वारेन्टाइन निर्माण गर्नेछ । त्यस्तै, २४ सय वर्गमिटर क्षेत्रफलमा कर्मचारी आवास र ७५ वर्गमिटरमा पार्किङ क्षेत्र शौचालय निर्माण गर्ने प्रतिवेदनमा उल्लेख छ ।

समितिअनुसार बन्दरगाहमा ३ हजार मालवाहक पार्किङ क्षमता हुनेछ । समितिले बन्दरगाह निर्माणका लागि १५ अर्ब खर्च हुने जनाएको छ ।


क्लिकमान्डु