बैंकको ब्याजदर बढ्दा जलविद्युत् कम्पनीको आम्दानीमा असर, अधिकांशको नाफा घट्यो



काठमाडौं । चालु आर्थिक वर्षको ६ महिना सम्ममा अधिकांश जलविद्युत् कम्पनीको नाफा घटेको छ । कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय अवस्था अनुसार अधिकांश कम्पनीको नाफा घटेको छ ।

चालु आर्थिक वर्षको ६ महिनामा जलविद्युत कम्पनीको नाफा ४२ प्रतिशतले घटेको छ ।

६ महिनाको अवधिमा कम्पनीको नाफा ४२ प्रतिशतले घटेर १ अर्ब ८३ करोड ९४ लाख ६२ हजार २७१ रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा जलविद्युत् कम्पनीको नाफा ३ अर्ब १५ करोड ९१ लाख ६५ हजार ४९९ रुपैयाँ नाफा आर्जन गरेका थिए । ५२ कम्पनीको वित्तीय अवस्था हेर्दा १० वटा कम्पनीको बढेको छ भने बाँकी ४२ वटा कम्पनीको नाफा घटेको छ । केही कम्पनीहरु भने नोक्सानमा नै रहेका छन् ।

पछिल्लो समय बढेको ब्याजदर र बर्षात कम भएका कारण नाफामा गिरावट आएको उर्जा उद्यमी तथा जलविद्युत् क्षेत्रका जानकार प्रकाश दुलाल बताउँछन् ।

‘बैंक ब्याज बढ्दा लागत बढेको र यो वर्ष गत वर्षको सोही अवधिको तुलनामा बर्षात पनि कम भएका कारण अधिकांश जलविद्युत् कम्पनीको नाफा घटेको हो’ उनले भने ‘यो वर्ष पानी कम पर्दा खोलामा पानी कम भयो, ९, १० प्रतिशतको ब्याजदर १५, १६ प्रतिशत पु्गेको छ ।’

लागत बढ्दा कम्पनीहरुले नाफा आर्जन गर्न नसकेको उनको भनाइ छ ।

१० कम्पनीको नाफा बढ्यो

चालु आर्थिक वर्षको ६ महिनामा ५२ मध्ये १० वटा कम्पनीको नाफा बढेको छ ।

यो अवधिमा १० वटा कम्पनीहरुको नाफा उल्लेख्य सुधार देखिएको छ । पुस मसान्तसम्म बुटवल पावर कम्पनीको नाफा २६.०३ प्रतिशतले बढेर २२ करोड ८७ लाख १७ हजार रहेको छ । गत आवको सोही अवधिमा १८ करोड १४ लाख ६५ हजार रुपैयाँ रहेको थियो । यस्तै अपर सोलु हाईड्रो इलेक्ट्रिक कम्पनीको नाफा १०३.८१ प्रतिशतले बढेर ५ करोड ६७ लाख ५० हजार ३१६ रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा २ करोड ७८ लाख ४४ हजार ४४६ रुपैयाँ रहेको थियो ।

यस्तै दोर्दी खोला जलविद्युत कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासमा ७९ हजार रुपैयाँ रहेकामा चालु आवको सोही अवधिमा १ करोड ४२ लाख १७ हजार रुपैयाँ रहेको छ ।

मैलुङ खोला जलविद्युत् कम्पनीको नाफा ९२.७९ प्रतिशतले बढेर १ करोड ६० लाख ८४ हजार ५८९ रुपैयाँ रहेको छ । छ्याङदी हाईड्रोपावरको नाफा ६७.४६ प्रतिशतले बढेर १ करोड ४२ लाख ६२ हजार १७० रुपैयाँ रहेको छ । युनिभर्सल पावर कम्पनीको नाफा १९७.९१ प्रतिशतले बढेर ८ करोड १४ लाख ६९ हजार रुपैयाँ रहेको छ । राप्ती हाईड्रो एण्ड जनरल कन्ट्रक्सनको नाफा ५९४.५५ प्रतिशतले घटेर १२ लाख ७४ हजार ८११ रुपैयाँ रहेको छ ।

यस्तै राधी विद्युत कम्पनीको नाफा ६७.७७ प्रतिशतले बढेर ५ करोड ३६ लाख ९३ हजार ९३२ रुपैयाँ रहेको छ । चालु आवको ६ महिनाको अवधिमा नेपाल हाईड्रो डेभलोपर्सको नाफा ४३.७१ प्रतिशतले बढेर ३ करोड ३२ लाख ८८ हजार रुपैयाँ पुगेको छ । यस्तै विन्धाबासिनी हाईड्रोपावरको नाफा पनि ३.०६ प्रतिशतले बढेर ११ करोड २६ लाख ६१ हजार ६७० रुपैयाँ पुगेको छ । बाँकी ४२ कम्पनीको नाफा घट्यो, केही नोक्सानमा गएका छन् ।


सोभित थपलिया