बजारमा आउँदै छन् यी विद्युतीय गाडी



एजेन्सी । संसारभर नै पछिल्लो समय सवारी साधनको क्षेत्रमा विद्युतीय सवारी साधनको प्रयोग बढ्दै आएको छ । प्रयोगकर्ताहरु माझ विभिन्न किसिमका विद्युतीय सवारी साधनहरु लोकप्रिय भइरहेका छन् ।

बढ्दो विद्युतीय सवारी साधनको प्रयोगसँगै उत्पादक कम्पनीहरुले आगामी दिनका लागि पनि नयाँ नयाँ विद्युतीय सवारी साधनको उत्पादन शुरु गरिसकेका छन् । बजारमा आगामी दिनमा आउने सवारी साधनको लागि लिएर पनि उत्तिकै उत्साह चुलिएको छ ।

सवारी साधनबारे जानकारी दिने ‘कार्सगाइड’ वेबसाइटकाअनुसार अहिले विश्वभरमा करिब ५१ देशहरुले पूर्ण रुपमा नै २०२५ सम्ममा विद्युतीय सवारीसाधनलाई अनुशरण गर्ने बताएका छन् ।

केही तथ्यांकहरुले २०३० सम्ममा विद्युतीय सवारी साधनको बिक्री ४ करोडसम्म पुग्ने अनुमान गरेका छन् । २०२१ सम्म विश्वभरमा यो तथ्यांक ४२ लाख थियो ।

विद्युतीय सवारी साधनको बढ्दो माग र लोकप्रियताकाबीच विभिन्न कम्पनीहरुले भविष्यका लागि नयाँ नयाँ प्रविधिमा काम गरिरहेका छन् । टेस्ला, बिवाइडी, भल्सवागन, निशान, ह्युण्डाईजस्ता विश्वभरमै लोकप्रिय ब्राण्डहरुले अहिले भविष्यका लागि नयाँ र क्रान्तिकारी प्रविधिसहितको विद्युतीय सवारी साधन निर्माण गर्न गृहकार्य गरिरहेका छन् ।

कियाको ‘ईभी नाइन’

२०२३ मा बजारमा उपलब्ध गराउने गरि अहिले ‘किया’ले आफ्नो विद्युतीय कार ‘इभी नाइन’ मा काम गरिरहेको छ ।

आकर्षक आवरणसहितको यो गाडीलाई २०२३ को पहिलो त्रैमासमा नै तयार गरेर बजारमा ल्याउने कियाले जानकारी दिएको छ । कियाकै चर्चित गाडी ‘टेल्लुरिड’कै जस्तो आवरणमा रहेको यो गाडी एक पटकको पूर्ण चार्जमा कम्तीमा ३ सय माइल (४८२ किलोमिटर) गुड्ने बताइएको छ ।

यो गाडीले ३५० किलोवाटसम्म फास्ट चार्जिङ सपोर्ट गर्ने कम्पनीले बताएको छ । तर, सन् २०२२ मा कियाका अध्यक्ष तथा सिईओ हो सुङ सङले बताएअनुसार दक्षिण कोरियाली सडकमा प्रशिक्षण गर्दा गाडीले ५४० किमिसम्मको दुरी एक पूर्ण चार्जमा पुरा गरेको थियो ।

फास्र्ट चार्जिङ भएका कारण यो गाडीमा २० देखि ३० मिनेटमा नै १० बाट ८० प्रतिशत ब्याट्री चार्ज हुने कम्पनीले दाबी गरेको छ ।

१० मिनेट मात्र चार्ज गर्दा पनि यो गाडीले सय किलोमिटरको यात्रा पुरा गर्न सक्ने कम्पनीका अध्यक्ष सङले बताएका छन् ।

गाडीका चालकहरुका लागि सहज होस भनेर यसमा २७ इञ्चको डिस्प्ले हुनेछ, जसमा गाडी चलाइरहँदा विभिन्न सुविधाहरुलाई प्रयोग गर्न सकिनेछ भने भिडियो नै हेर्न पनि मिल्नेछ ।

होण्डा ‘प्रोलग’

२०२४ को शुरुवातमा नै बजारमा ल्याउने तयारी भइरहेको होण्डाको प्रोलग पूर्ण रुपमा विद्युतीय एसयुभी हो । यो गाडी एक पूर्ण चार्जमा ३ सय माइल (४८२ किमि) गुड्ने कम्पनीले जनाएको छ ।

विभिन्न सञ्चारमाध्यमहरुका अनुसार यो गाडीले ११.५ किलोवाटको एसी चार्जर र १९० किलोवाटको डिसी चार्जरबाट ब्याट्री चार्ज गर्ने सुविधा उपलब्ध गराउनेछ । १० मिनेटको चार्जमा नै यो गाडी ८७ माइलसम्म कुद्ने पनि बताइएको छ ।

बिवाईडीको ‘सिल’

नेपाली बजारमा पनि चर्चित रहेको विद्युतीय गाडी उत्पादक कम्पनी ‘बिवाईडी’को नयाँ गाडी ‘सिल’ २०२३ को नोमेम्बरमा बजारमा आउने तयारीमा छ । भारतमा गत महिना भएको ‘अटो एक्स्पो’मा यो गाडीलाई प्रस्तुत गरिएको थियो ।

सिलमा घुम्ने किसिमको १५.६ इञ्चको डिस्प्ले रहेको छ । त्यस्तै, दुई किसिमको ब्याट्री क्षमता हुने यो गाडीको अधिकतम् क्षमता ७०० किमिसम्म कुद्ने कम्पनीको दाबी छ । कम्पनीले ६१.४ किलोवाटआवर युनिट ब्याट्री भएको भेरियन्ट ५५० किमि कुद्ने बताएको छ भने ८२.५ किलोवाट हावर युनिट रहेको गाडी ७ सय किमिसम्म कुद्ने बताइएको छ ।

दुई भेरियन्टमध्ये पहिलोलाई ११० किलोवाटले चार्ज गर्न सकिन्छ भने दोस्रोलदाई १५० किलोवाटको चार्जरले चार्ज गर्न सकिन्छ ।
उपभोक्ताले यो गाडीमा एकल वा डबल मोटरको छनोट गर्न पाउनेछन् ।

महिन्द्राको ‘बिई फाइभ’

सवारी साधनको उत्पादनमा चर्चित भारतीय ब्राण्ड महिन्द्राले आफ्नो विद्युतीय गाडी बिई फाइभलाई २०२५ को अक्टोबरमा बजारमा ल्याउने तयारी गरिरहेको छ । कम्पनीले पूर्ण रुपमा विद्यूतीय सवारी साधनतर्फ प्रतिस्थापन भएर उत्पादन गर्न लागेको यो पहिलो गाडी हो ।

यो गाडीमा दुई किसिमका ब्याट्री प्याक हुनेछन् । जसमा ६० किलोवाटआवर र ८० किलोवाट आवर उपलब्ध हुनेछ । यी दुवै ब्याट्रीहरुलाई १७५ किलोवाटको फास्ट चार्जरले चार्ज गर्न सकिनेछ ।

कम्पनीकाअनुसार ८० किलोवाटआवरको ब्याट्री रहेको गाडीले ४५० किमिसम्मको दुरी मापन गर्न सक्नेछ । हाल कम्पनीले भारतको पुनेमा गाडीको उत्पादनका लागि कारखाना सञ्चालन गरिरहेको छ ।

हालको अनुमान अनुसार यो गाडीको बजार मूल्य भारतमा २४ लाख भारतीय रुपैयाँ हुने अनुमान गरिएको छ ।

कुन कुन छन् अरु विद्युतीय गाडी ?

अहिले विश्वभर नै सैयौं विद्युतीय गाडीहरु उत्पादनको क्रममा छन् । महंगादेखि सस्तासम्म गाडीहरु बजारमा आउने तयारी भइरहेको छ । र यो दौडमा विश्व चर्चित सुपरकार ब्राण्ड तथा लक्जरी कार ब्राण्डहरु पनि रहेका छन् ।

२०२४ मा एमजि ५, २०२५ मा जिपको एभेन्जर, २०२५ मा टाटाको अभिन्याजस्ता गाडीहरु पनि बजारमा आउने तयारीमा छन् । त्यस्तै, टाटाले नै अल्ट्रोज इभी पनि बजारमा ल्याउँदै छ, तर हालसम्म यो उपलब्ध हुने मिति खुलाइएको छैन् । यहि वर्ष अडिले ए सिक्स इ ट्रोन गाडी बजारमा ल्याउँदै छ ।

त्यस्तै, विद्युतीय सवारी साधनको बजारमा लिफ गाडीबाट निकै चर्चित रहेको ह्युडाईले पनि एरिया एसयुभीलाई २०२३ मा नै बजारमा उपलब्ध गराउने जनाएको छ । टोयटाको बिजि फोर एक्स, मर्सिडिज बेन्जको ईक्युएस एसयुभी, भोल्भोको सि४० पनि २०२३ मा बजारमा आउने तयारीमा रहेका छन् ।


क्लिकमान्डु