भक्का, सेलरोटी र पानीपुरीले धानेको गंगादेवीको परिवार



विराटनगर । प्रदेश १को राजधानी विराटनगर-३ स्थित बुद्ध चोकभन्दा दुई सय मिटर दक्षिणमा गंगादेवी पोखरेलको भक्का, सेलरोटी अनि चटपटेको व्यवसाय देख्न सकिन्छ । साँझ ४ बजे त्यहाँ पुग्दा उनी चुलोमा दाउरा बालेर हलुङ्गेको भड्डुभाँडामा धमाधम भक्का पकाउँदै थिइन् ।

त्यही बेला दुई महिला उनले भक्का पकाइरहेको स्थान नजिक राखिएका प्लाष्टिका दुईटा टुलमा आएर बसे । भक्का खान आएका उनीहरुलाई गंगादेवीले तयारी अवस्थामा रहेका भक्का दिइन् । त्यो भक्काको डल्लोमाथि हरियो धनियाँ, खुर्सानी र टमाटरको अचार राखिन् ।

भक्का खाँदै गर्दा उनीहरुले घर लैजानका लागि प्याक गरिदनि गंगादेवीसँग भने । ग्राहकको माग अनुसार उनले भक्का र अचार प्याक गरिदिइन् । त्यसबापतको रकम तिरेर उनीहरु बाटो लागे ।

ग्राहक हिँडेपछि गंगादेवीले चामलको पिठो हलुङ्गेको सानो बटुकोमा हालेर सेतो अनि सफा कपडाको टालोले बेरिन् र भड्डुभाँडाको माथिल्लो भागमा घोप्टो पारेर राखिदिइन् । अनि आगोको राप बढाउन चुलोमा दाउरा ठोसिन् । भक्का भड्डुभाँडामा उम्लेको पानीको बाफले पाकिरहेको थियो ।

स्कुटरमा आएका एक ग्राहक उनले भक्का पाइरहेको ठाउँ नजिक आएर रोकिए । छेउमा राखिएको प्लास्टिकको टुलमा बसे र भक्का अर्डर गरे ।

गंगादेवीले अघिल्ला ग्राहकलाई दिए जसरी नै चुलाबाहिर दाउराका कोइलामाथि राखिएको भड्डुभाँडाबाट भक्का झिकेर कागजमा राख्दै ग्राहकको हातमा थमाउन मात्र के लागेकी थिइन् ती ग्राहकले त्यो भक्का खान अस्वीकार गर्दै भने ‘मलाई त पकाउँदै गरेको तात्तातो जिब्रो पोल्ने भाँडाबाट निकालेर भक्का दिनू ।’ ग्राहकको इच्छा अनुसार उनले तातो भक्का दिइन् ।

उनका श्रीमान् चोलानाथ पाखेरेल पसलछेउमै प्लाष्टिटको कुर्सीमा बसेर गंगादेवीको काम नियालीरहेका थिए ।
ढाका टोपी लगाएका एक व्यक्ति गगंदेवीको पसलमा आइपुगे । उनले सेलरोटी किन्न खोजे । तर, समय अभावमा सेलरोटी पकाउन नसकेको जवाफ गंगादेवीले दिइन् ।

‘आज श्रीमान् बिहानै विवाहमा जानुभो, मैले एक्लैले भ्याइन् । अझै दुईचार दिन सेलरोटी पाक्दैन होला’ उनले भनिनन् ।

‘सेलरोटी छैन भने भक्का दिनुन त’ ग्राहकले भने । गंगादेवीले ६/७ वटा भक्का प्याक गरेर दिइन् । लगत्तै अर्की एक महिला ग्राहक सेलरोटी खरिदका लागि आइन् तर ‘आज नपाकेको’जवाफ पाइन् र फिर्ता भइन् ।

उनी जानासाथ साहुनी गंगादेवी र उनका पति चोलानाथ मुखामुख गरे अनि एकै छिनपछि चोलानाथले भने, ‘थुक्क आज सेलरोटी नपकाएको दिनचाहिं कति धेरै ग्राहक खोज्न आएका । गाउँभरि स्वस्थानी माताको साङ्गे र पूजा चलिरहेको छ । मान्छे त्यतै गइहाल्छन् खान, यताको सेलरोटी बिक्दैन भनेको त होइन रहेछ’ गंगादेवीले भनिन् ।

‘कमाउन सकिएन, जीवन धानिएको छ’

चोलानाथ घरमै चिया पसल चलाउँछन् भने श्रीमती गंगादेवी त्यसकै बाहिर भक्का, सेलरोटी, पानीपुरी र चटपटेको । घर धान्न सकस परेपछि ४/५ वर्षअघि गंगादेवीले पसल थालेको चोलानाथ बताउँछन् । कमाउन नसकिए पनि जीवन गुजार भइरहेको उनी बताउँछन् । ‘खोई के भनौं, जसोतसो, लिसिङपिसिङ, गुजारा चल्दैछ, जीवन धानिएकै छ भन्नु पर्‍यो नि, कमाउन सकिएको छैन’ चोलानाथले भने ।

चारदशक नाघेकी सामान्य साक्षर चिनेको गंगादेवी र पाँचदशक नाघेका एसएलसी पास उनका पति चोलानाथले यसअघि विभिन्न उद्योगधन्दामा मजदुरी गरेर छोराहरुलाई शिक्षा दिए । आफूहरुले दु:ख गरेर छोराहरुको लालानपालन गरेकाले उनीहरुले केही गर्लान् कि भन्ने आशा उनीहरुमा छन् ।

‘अब छोराले केही गर्लान् कि !, उनीहरूकै आडभरोशा छ । उनीहरू पढेलेखेका छन्, उनीहरूको सल्लाहबिना केही गर्न पनि त भएन नि ’ उनले भने ।

गंगादेवी र चोलानाथ आफ्नै टिनले छाएको घरमा बसेर त्यही घरअगाडि व्यवसाय चलाउँछन् । पुर्ख्यौली जंगामा बनेको तीन कोठाको घरमा टिनको छानो छ । उनीहरुले कमाइ अलिक भए घर सुधार गर्ने सपना बनाएका छन् तर त्यो अहिले सम्भव नभएको गंगादेवी बताउँछिन् ।

चोलानाथले दैनिक गुजार पसलबाट चलेपनि अन्य काम गर्न भने समस्या रहेको बताए । घरैपिच्छे पसल भएका कारण अहिले व्यापार खस्किएको उनीहरु बताउँछन् । ‘अहिले त घरैपिच्छे पसल भए, त्यति बिक्दैन पनि ’ चोलानाथले भने ।

मासिक १५ हजारको कमाइ

चोलानाथको चिया पसल बाह्रै महिना चलेपनि गंगादेवीको व्यापार बाह्रैमास चल्दैन । पानीपुरी र चटपटे गर्मी महिनामा मात्र बिक्री हुन्छ । ‘मंसिरदेखि माघसम्म तीन महिना भक्का र सेलरोटीको सिजन हुन्छ । त्यो बेला आम्दानी पनि राम्रै हुन्छ’ गंगादेवीले भनिन् । भक्का प्रतिगोटा १० रुपैयाँ र सेलरोटी २० रुपैयाँमा बेच्ने गरेको गंगादेवीले बताइन् ।

‘भक्कामा नाफा अलि बढी छ तर सेलरोटीमा खास छैन भन्दा नि हुन्छ । सेलरोटी बनाउन धेरै समय लाग्छ, सामान पनि धेरै जुटाउनु पर्दछ । तर भक्का चामलको पिठो र अचार त हो नि । त्यो थोरै लागतमा हुन्छ’, गंगादेवीले भनिन् ।

सेलरोटी नविक्दा घाटा धेरै हुने उनी बताउँछिन् । धेरै फाइदा बस्ने पानीपुरी र चटपटे विक्री हुने समयमा भने उनलाई राहत हुन्छ । आधालाख आसपास लगानी गरेका उनीहरुले मासिक १५ हजार कमाइ हुने गरेको बताए । अरुको खाली जग्गामा सागसब्जीसमेत लगाएकी गंगादेवीले एउटा बाख्रा पनि पालेकी छन् । त्यसको खोर निर्माणका लागि सहकारीबाट ६ हजार निकालेको उनले बताइन् ।

‘ऋण लिन डर’

पुँजी वृद्धि गरेर ठूलै व्यवसाय सञ्चालन गर्ने रहर भए पनि ऋण लिन डर लाग्ने उनले बताए । ‘ऋण लिन डर लाग्छ । तिर्न सकिएन भने बद्नाम हुइन्छ, उनले भने ‘पुँजी भए ठूलै व्यवसाय गर्न त मन लाग्छ नि तर लगानी गर्ने पैसा छैन । अलिकति पैसा भए जग हालेको दुईतिर कोठा थप्न सकिन्थ्यो कि भन्ने लाग्छ नि ।’

उनीहरूका अंकित, अनुज र आयुश २८,२४ र ९ वर्षका गरी तीन छोरा छन् । जेठो अंकितले त्रिविबाट बीडीएस सकेर संखुवासभामा दन्त्त क्लिनिक चलाउन थालेको ४ महिना भयो । माइलो अनुजले पूर्वाञ्चल विश्वविद्यालयबाट बीबीए सकेर काठमाडौंमा होटलमा जागिर खाँदैछन् । कान्छो आयुश भर्खर कक्षा– ३ मा पढ्दैछन् ।

दुई छोराहरुलाई खर्च दिन नपर्ने भएपछि कान्छो छोरालाई निजी स्कुलमा पढाएको गंगादेवी बताउँछिन् । ‘दुई छोराले अब आफैं गरिखान्छौं, हामीलाई खर्च दिनु पर्दैन भनेका छन्’ गंगादेवीले भनिन् ।


क्लिकमान्डु