भारतीय अर्बपति अडानीको समूहको निष्कर्षः अमेरिकी रिपोर्ट ‘भारतविरुद्धको हमला’



काठमाडौं । अमेरिकाको फोरेन्सिक फाइनेन्सियल कम्पनी हिडनबर्गले सार्वजनिक गरेको रिपोर्टलाई भारतीय अर्बपति गौतम अडानीको व्यापारिक समूहले भारतविरुद्धको हमलाको संज्ञा दिएको छ ।

२५ जनवरीमा उक्त कम्पनीले सार्वजनिक गरेको रिपोर्टको जवाफमा अडानी समूहले आइतबार ४१३ पानाको प्रतिवेदन दिँदै सो रिपोर्टलाई भारतविरुद्धको हमला भएको जनाएको छ ।

हिडनबर्गको रिपोर्टले भारतको व्यापारिक समूह अडानी ग्रुपअन्तर्गतका कम्पनीहरुको सेयरमा भारी गिरावट भएको उल्लेख गरेको थियो । सो रिपोर्ट प्रकासित भएपश्चत अडानी समूहको बजार पुँजीमा चार लाख करोड रुपैयाँको नोक्सान भएको थियो । विभिन्न कम्पनीको सेयरको मूल्यमा भारी गिरावट अडानी समूहले भोग्नु परेको थियो ।

सँगै हिडनबर्ग रिपोर्टकै प्रभावस्वरुप कम्पनीका मालिक गौतम अडानीको कुल सम्पत्तीमा पनि १८ प्रतिशतको गिरावट आएको थियो । रिपोर्ट सार्वजनिक हुनुअघि संसारकै चौथो धनि व्यक्ति रहेका अडानी रिपोर्ट सार्वजनिक भएपश्चात सातौं स्थानमा झरेका थिए ।

बजारमा आफ्नो कम्पनी र आफ्नो व्यापारिक विरासतलाई हलचल गराउने किसिमको रिपोर्ट आएपछि अडानी समूहले आइतबार ४१३ पानाको जवाफ सार्वजनिक गरेको छ ।

भारतीय सञ्चारमाध्यम द हिन्दुमा प्रकासित समाचारमा अडानी समूहको जवाफमा रिपोर्टमा हिडनबर्गले सार्वजनिक गरेको रिपोर्टलाई भारत र भारतको स्वतन्त्र संस्थानहरुमाथिको एउटा हमला भएको बताइएको छ ।

अडानी समूहले प्रकासित गरेको जवाफमा भनिएको छ, ‘यो कुनै एउटा कम्पनीमाथि गरिएको विशेष किसिमको हमला मात्रै होइन् । बरु, भारत र यहाँका संस्थानहरुको गुणस्तर, इमान्दारिता र स्वतन्त्रतासँगै भारतको महत्वकांक्षाहरुमाथि र यहाँको विकासमाथि गरिएको एउटा नियोजित हमला हो ।’

अडानी समूहका सिएफओ (प्रमुख आर्थिक अधिकृत) जुगेशिन्दर सिंह ले यो रिपोर्टलाई आफूहरुमाथि भएको हमलाको संज्ञा दिएका छन् ।

इकोनोमिक्स टायम्ससँगको अन्तर्वातामा उनले भनेका छन्, ‘हामी यो रिपोर्टको पछाडि को छ भन्ने अनुमान लगाउन चाहँदैनौं । हामीले त्यस्तो गर्ने बारेमा पनि सोचेका छैनौं । हामीले कुनै अर्को कर्पोरेट कम्पनीले यस्तो किसिमको काम गर्छ भन्ने मान्दैनौं । तर, यदि यसको पछाडि कोही छ भने त्यो पक्कै सामुन्ने आउनेछ । र हामी त्यो बेला कडा रुपमा प्रस्तुत हुनेछौं । तर, यस्तो रिपोर्ट (जुन हामीसँग सम्बन्धित छ, र जहाँ हाम्रा तथ्यहरुलाई गलत रुपमा पेश गरिएको छ) सार्वजनिक गर्नुअघि सम्बन्धित पक्षहरुसँग छलफल गरिन्छ । किनकी यस्तो रिपोर्टले स्टक मार्केट (सेयर बजार)लाई असर पुर्याउने हुन्छ ।’


क्लिकमान्डु