आत्मदाह घटनाः भाटभटेनीसहित दर्जन बढी उद्योगी/व्यवसायीविरुद्ध किटानी जाहेरी दर्ता



काठमाडौं । उद्योगी व्यवसायी प्रेमप्रसाद आचार्यको आत्मदाह घटनामा शरीरमा पेट्रोल खन्याउनु अघि उनले सामाजिक सञ्जालमा उल्लेख गरेका व्यक्ति, संस्थाविरुद्ध किटानी जाहेरी दर्ता भएको छ ।

आचार्यको आत्मदाह दुरुत्साहनमा उनले मृत्युअघि सामाजिक सञ्जालमा उल्लेख गरेका सबै विरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा किटानी जाहेरी दर्ता भएको हो ।

बिहीबार मृतको परिवारका तर्फबाट मृत्युकालीन घोषणामा उल्लेख गरेका सबै व्यापारीका विरुद्धमा जाहेरी दर्ता गरिएको अधिवक्ता स्वागत नेपालले जानकारी दिए ।

मृतक आचार्यले आत्मदाह गर्नुअघि सामाजिक सञ्जालमा उल्लेख गरेका बैंकर तथा उद्योगी पवन गोल्यान, भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङ लगायत करिब दर्जन बढी उद्योगी, व्यवसायी, सरकारी नियकाका विरुद्ध किटानी जाहेरी दिइएको छ ।

घटना भएको नजिकको तीनकुने प्रहरीले जाहेरी दर्ता गर्न अस्वीकार गरेपछि प्रहरी परिसर टेकुमा किटानी जाहेरी दर्ता भएको अधिवक्ता नेपालले जानकारी दिए ।

आचार्यले मंगलबार संसद भवन नयाँ बानेश्वर बाहिर आत्मदाहको प्रयास गरेका थिए । उक्त स्थानबाट तत्कालै उद्दार गरिएका आचार्यको उपचारका क्रममा बुधबार निधन भएको थियो ।

यसअघि बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आचार्यको आत्मदाहका विषयमा गृहमन्त्रालयले छानबिन गर्ने निर्णय गरेको थियो । आचार्यले उठाएका विषयमा छानबिन गर्ने र छानबिनको निष्कर्षपछि आवश्यक कदम चाल्ने निर्णय गरेको उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिएका थिए ।


क्लिकमान्डु