आर्थिक संकटमा व्यवसायी: ऋण तिर्न नसक्दा २ दिनमा तीनले रोजे मृत्यु, कालोसूचीमा पर्ने बढ्दै



काठमाडौं । उद्योग व्यवसाय सञ्चालन गर्नका लागि होस् वा नीजि प्रयोजनका लागि, बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसक्दा पछिल्ला दुई दिनमा तीन जनाले आत्महत्या गरेका छन् । पछिल्ला दुई दिनमा काठमाडौं र मोरङको विराटनगरमा एक/एक उद्योगी व्यवसायी र सप्तरीमा एक किसानले आत्महत्या गरेका छन् ।

मंगलबार नयाँ बानेश्वर चोकमा इलाम घर भएका प्रेमप्रसाद आचार्यले आफैंमाथि पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका थिए । उद्यमी आचार्यलाई तत्कालै उद्धार गरेर उपचारका लागि अस्पताल पुर्‍याइएको थियो । तर, बुधबार बिहान अस्पतालमा उपचारको क्रममा उनको निधन भयो ।

आत्मदाह प्रयास गर्नुअघि आचार्यले सामाजिक सञ्जालमा आफ्नो व्यक्तिगत जीवन, उद्योग, व्यवसायलगायतका विषयलाई लिएर लामो स्टेटस लेखेका थिए । फेसबुकमा राखिएको उनको स्टेटसमार्फत विभिन्न व्यवसाय गर्दा सरकारी नीति/नियमका साथै व्यापार व्यवसायका क्रममा हुने रुकावटका कारण सफल हुन नसकेको र ऋण लागेको उल्लेख गरेका थिए ।

उत्पादनको क्षेत्रमा केही गर्ने हुटहुँटी हुँदा हुँदै प्रणालीगत रुपमा देखिएका विभिन्न कारणहरुले आफूलाई ऋणको बोझले थिचेको र त्यसका कारणनै आफूले आत्मदाह गरेको उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

ट्राभल एजेन्सी, एग्रो उद्योग, फार्म हाउसलगायतका विभिन्न पेशा तथा व्यवसायमा संलग्न भएका आचार्य आफूले यीनै व्यवसाय गर्नका लागि बैंक तथा वित्तीय संस्थाहरुमार्फत लिएको ऋण तिर्न नसकेको र व्यवसायमा पनि असफल भएका कारण आत्महत्या गर्न बाध्यात्मक स्थिति सिर्जना भएको उल्लेख गरेका छन् ।

आचार्यले बानेश्वरमा आत्मदाह गरेकै दिन मंगलबार सप्तरीको छिन्नमस्ता गाउँपालिकामा ४५ वर्षीय रामदेव मरिक मृत अवस्थामा भेटिएका थिए । घर नजिकैको आँपको रुखमा झुन्डिएको अवस्थामा उनलाई मंगलबार बिहान स्थानीयले फेला पारेका थिए ।

मरिकको मृत्युको कारण पनि वित्तीय अवस्थासँगै जोडिएको छ । छोराको विवाहका लागि उनले ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाबाट ९० हजार ऋण लिएका थिए । त्यस्तै, गाउँकै महुली लघुवित्त संस्थाबाट १५ हजार रुपैयाँ ऋण लिएका थिए ।

पेशाले किसान रहेका मरिकको परिवारकाअनुसार दुई वित्तीय संस्थाबाट लिएको ऋणमध्ये ग्लोबल आईएमई लघुवित्त संस्थाबाट लिएको ९० हजार ऋणमध्ये उनले अब ४४ हजार ३ सय ३२ रुपैयाँ साँवा र २ सय ७१ रुपैयाँ ब्याज तिर्न बाँकी रहेको छ भने स्थानीय महुली लघुवित्त वित्तीय संस्थाबाट लिएको १५ हजार ऋणमध्ये ४ हजार ३ सय ३ रुपैयाँ ९० पैसा तिर्न बाँकी रहेको छ ।

नियमित रुपमा ऋणको किस्ता तिरिरहेका मरिकले मासिक रुपमा ९ गते किस्ता तिर्नुपर्ने थियो । तर, सोमबार वित्तीय संस्थाको बैठकमा नगएपछि संस्थाका कर्मचारी तथा समूह घरमै किस्ता लिन आएका थिए ।

मंगलबार जसरी पनि किस्ता बुझाउनु पर्ने भनेर वित्तीय संस्थाले भनेपछि रामदेवले गाउँघरमा ऋण खोजे । तर, नपाएपछि सो साँझ खाना खाएर सुत्न गएका उनलाई भोलिपल्ट बिहान घर नजिकैको आँपको रुखमा मृत भेटिएको थियो ।

आचार्य र मरिकको जस्तै अवस्थामा पुगेका मोरङका व्यवसायी मोहन प्रसाद न्यौपाने पनि बुधबार मृत भेटिए । मोरङ विराटनगरका व्यवसायी न्यौपानेले आर्थिक भार खेप्न नसकेका भन्दै सुसाइट नोट लेखेर ‘आत्महत्या’ गरेका हुन् । मोरङ प्रहरीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक दिपक कुमार श्रेष्ठकाअनुसार न्यौपाने आफ्नै घरको बाथरुममा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

न्यौपानेले आत्महत्या गर्नुअघि तीन पन्नाको सुसाइड नोट पनि लेखिएको भेटिएको छ । उक्त नोटमा उनले आफ्नो परिवारलाई सम्बोधन गर्दै बैंक तथा वित्तीय संस्थाको ऋणका कारण आफूले आत्महत्या गरेको उल्लेख गरेका छन् ।

सुसाइड नोटमा सांग्रिला बैंकबाट १ करोड ४५ लाख रुपैयाँको ऋण लिएको र एक सहकारीबाट १० लाख ऋण लिएको उल्लेख गरिएको छ ।

न्यौपाने मोरङ विद्यूतीय व्यवसायी संघका पूर्व अध्यक्ष समेत रहेका थिए । विराटनगरस्थित शनी रोडमा शिर इलेक्ट्रिक नाम व्यवसाय उनले सञ्चालन गर्दै आएका थिए ।

पछिल्लो समय बढ्दै गएको आर्थिक मन्दीका कारण व्यवसायी तथा सर्वसाधारण नै मारमा परेका यी तीन घटना प्रतिनिधि घटनाहरु हुन् । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनु, व्यवसाय सोचेको जस्तो नहुनु तथा ऋण तिर्न नसक्नुजस्ता कारणहरुले सर्वसाधारणदेखि व्यवसायी तथा उद्यमीहरुमा पनि नैराश्यता बढ्दै गएको छ ।

कालोसूचीमा पर्नेको संख्या बढ्दो

कर्जा सूचना केन्द्रकाअनुसार चालू आर्थिक वर्षको ६ महिनामा मात्रै १४ हजार ३८२ जनालाई कालोसूचीमा राखिएको छ । जबकी गत आर्थिक वर्षमा साउनदेखि माघ ११ को अवधिमा जम्मा ५८७९ जना ऋणी कालोसूचीमा परेका थिए । समयमा बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नतिर्दा कालोसूचीमा राख्ने गरिन्छ ।

चालु आर्थिक वर्षमा कालोसूचीमा राखिएकामध्ये १३ हजार ८८८ जना विभिन्न व्यवसायी वा उद्यममा संलग्न रहेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनेहरु छन् भने बाँकी व्यक्तिगत रुपमा ऋण लिनेहरु छन् ।

आर्थिक रुपमा संकटमा पर्दा सरकारले आवश्यक सम्बोधन नगरेको उद्योगी व्यवसायीहरुको गुनासो छ । बिहीबार उद्योग संगठन मोरङले उद्योग व्यवसायीहरुको गुनासो, पिरमार्का, समस्यालाई गम्भीरतापूर्व सरकारले सुनेर समयमै सम्बोधन गर्न आवश्यक रहेको जनाएको छ ।

दुई दिनमा दुई व्यवसायीको निधन भएको भन्दै संगठनले उद्योगी तथा व्यवसायीहरुले यो घट्नाले भोग्दै आएको भित्रि अन्तरवस्तु र पीडालाई उजागर गरेको बताएको छ ।

यस्ता घटना आगामी दिनमा दोहरिन नदिन नियमनकारी निकायले उद्योगी व्यवसायीहरुको उचित गुनासो, पिरमार्का, समस्यालाई गम्भीरतापूर्वक सुनी समयमै सम्बोधन गर्नुपर्ने संगठनको माग छ ।

देशमै उद्यम व्यवसाय गरी आत्मसम्मानका साथ जीवनयापन गर्ने चाहना राख्ने व्यवसायीको दुखद् आत्मदाहले राज्य र राज्यका संचालक, नीति र नियमलाई परिपालना गराउने संयन्त्रलाई गिज्याइरहेको भन्दै संगठनले यस घटनाबाट पाठसिकि काम गरी खान पाउने, स्वतन्त्रतापूर्वक वाँच्न पाउने अधिकारको रक्षाका लागि जिम्मेवार अभिभावकको रुपमा राज्य प्रस्तुत हुने गरी नीतिगत र प्रकृयागत सुधारका लागि सम्वन्धित सबैमा अपिल गरेको छ ।

राज्यले आर्थिक ‘डिप्रेसन’को विषयमा जिम्मेवार भएर सोच्नु पर्छ: मनोचिकित्सक

देशमा सर्वसाधारणदेखि उद्यमी तथा व्यवसायीहरुमाझमा बढ्दै गएको आर्थिक संकटको अवस्थाले नैराश्यता बढाउँदै लगेको छ । मानसिक स्वास्थ्यको क्षेत्रमा लामो समयदेखि कार्यरत मानसिक चिकित्सक डा. तृष्णा घोस अहिलेको अवस्थामा समाजदेखि राज्यले आर्थिक ‘डिप्रेसन’को विषयमा जिम्मेवार भएर सोच्नुपर्ने बताउँछिन् ।

‘नेपालजस्तो विकास भइरहेको देशमा सरकारीतर्फबाट क्षतिपूर्ति संयन्त्र केही पनि छैन,’ उनी भन्छिन्, ‘कोरोना भयो । त्यो बेला पनि ऋण तिर्नै पर्ने अवस्था थियो । मान्छेहरु आर्थिक अवस्थाका कारण आत्महत्यादेखि डिप्रेसनको अवस्थामा पुग्ने घट्नाहरु बढिरहेको छ । आर्थिक संकटका कारण आत्महत्या, डिप्रेसन, एन्जाइटी, रक्सी धेरै खानेजस्ता समस्याहरु देखा परिरहेका छन् ।’

यस्ता समस्याको बेलैमा समाधान गर्नेतर्फ नलाग्ने हो भने अवस्था अझ भयावह हुनसक्ने उनी बताउँछिन् । समस्याको समाधान गर्न नसक्दा व्यक्तिगतदेखि व्यवसाय तथा परिवारमा पनि तनावको वातावरण सिर्जना हुने अवस्था भएको डा. तृष्णा बताउँछिन् ।
अहिलेको अवस्थामा सरकारले पनि यो विषयलाई गम्भीरता पूर्वक लिँदै समस्या समाधानतर्फ अग्रसर हुनु पर्ने उनको भनाइ छ ।

‘इकोनोमिक डिप्रेसन विश्वव्यापी रुपमा नै भइरहेको छ,’ डा. तृष्णा भन्छिन्, ‘यस्तो बेलामा सरकारले कुनै न कुनै रुपमा व्यवसायी र सर्वसाधारणलाई क्षतिपूर्ति दिने गर्नुपर्छ । ऋण तिर्नुपर्ने समयलाई अलि बढाउने होस् वा ब्याजदर घटाउने होस् । जनतालाई कुनै न कुनै रुपमा सरकारले सहायता गर्नुपर्छ ।’

आर्थिक रुपमा तनाव र डिप्रेसन बढिरहेको बेला मनोपरामर्श तथा थेरापीको माध्यमबाट समाधान गर्न सकिने समस्याहरुको सीमितता हुने उनी बताउँछिन् । यस्तो बेलामा सेवाग्राहीले विकल्पहरु खोज्नुपर्ने हुन्छ । तर, सरकारले नै त्यो विकल्प सिर्जना नगर्नु भने दुःखद् भएको उनको भनाइ छ ।

‘विकल्प के हुन्छ र? सबै घरबार बेचेर पनि तिर्न नसकेको अवस्थामा मान्छेले के गर्ने? यस्तोमा परिवारलाई लिएर मर्ने, आत्महत्याको कोसिस गर्नेजस्ता कुराहरु आउँछन् । अहिलेको अवस्थामा सरकारले पनि यो विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने छ ’डा. तृष्णाले भनिन् ।


युवराज भट्टराई