ऋण तिर्न नसकेर विराटनगरका एक व्यवसायीद्वारा ‘आत्महत्या’



विराटनगर । विराटनगरका एक व्यवसायीले आर्थिक ऋणको भार थेग्न नसकेर आत्महत्या गरेका छन् ।

विराटनगर महानगरपालिका ३ पोखरियाका ५७ वर्षीय मोहन न्यौपानेले बैंकको ऋण तिर्न नसकेर आफूले मृत्युवरण गरेको ‘सुसाइड नोट’ मा उल्लेख गरेका छन् ।

न्यौपाने पनि बुधबार मृत भेटिएका थिए । विराटनगर शनीमन्दिर रोडमा शिखर इलेक्ट्रिक पसल सञ्चालन गर्ने न्यौपानेलाई आफ्नै घरको वाथरुममा झुण्डिएको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठका अनुसार तीन पन्नाको ‘सुसाइड नोट’मा बुबाआमासहित परिवारलाई सम्बोधन गर्दै बैंक र सहकारीबाट लिएको ऋण तिर्न नसक्ने अवस्थाका कारण आफूले मर्नु परेको उल्लेख गरेका छन् ।

सुसाइड नोटमा सांग्रिला बैंकबाट १ करोड ४५ लाख रुपैयाँको ऋण लिएको र एक सहकारीबाट १० लाख ऋण लिएको उल्लेख गरिएको छ ।

न्यौपाने मोरङ व्यापार संघका कार्यकारिणी सदस्य थिए । उनी मोरङ इलेक्ट्रिक संघका पूर्वअध्यक्ष तथा पतञ्जी योग समिति मोरङका उपाध्यक्षसमेत थिए ।

के भन्छन् उद्योगी/ व्यवसायी

उद्योग संगठन मोरङले उद्योगी व्यवसायीहरुको उचित गुनासो, पिरमार्का, समस्यालाई गम्भीरतापूर्वक सुनी समयमै सम्बोधन गर्न नियमनकारी नियकायलाई आग्रह गरेको छ ।

दुई दिनमा इलाम निवासी उद्योगी व्यवसायी प्रेम प्रसाद आचार्य र विराटनगर निवासी व्यवसायी मोहन न्यौपानेको मृत्यु घटनाले सम्पूर्ण उद्योगी व्यवसायीका साथै देशलाई नै स्तब्ध पारेको भन्दै संगठनले दुखद् र मार्मिक घटनाले उद्योगी/व्यवसायीले भोग्दै आएको भित्री अन्तरवस्तु र पीडालाई उजागर गरेको उल्लेख गरेको छ ।

यस्ता घटना आगामी दिनमा दोहरिन नदिन नियमनकारी निकायले उद्योगी व्यवसायीहरुको उचित गुनासो, पिरमार्का, समस्यालाई गम्भीरतापूर्वक सुनी समयमै सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याएको संगठनले जनाएको छ ।

देशमै उद्यम व्यवसाय गरी आत्मसम्मानका साथ जीवनयापन गर्ने चाहना राख्ने व्यवसायीको दुखद् आत्मदाहले राज्य र राज्यका संचालक, नीति र नियमलाई परिपालना गराउने संयन्त्रलाई गिज्याइरहेको भन्दै संगठनले यस घटनाबाट पाठसिकि काम गरी खान पाउने, स्वतन्त्रतापूर्वक वाँच्न पाउने अधिकारको रक्षाका लागि जिम्मेवार अभिभावकको रुपमा राज्य प्रस्तुत हुने गरी नीतिगत र प्रकृयागत सुधारका लागि सम्वन्धित सबैमा अपिल गरेको छ ।

उद्योग व्यवसायलाई पेशा बनाइ दैनिकी जीवनयापन गर्दै आएका व्यवसायीलाई असफलताबाट हतोत्साहित भई अप्रिय निर्णय लिनुभन्दा पनि पेशागत संघ/संस्थाको माध्यमबाट पद्धति सुधारका लागि राज्यका संयन्त्रहरुलाई दबाब दिन आवश्यक पहल गरी अरुका लागि प्रेरणा श्रोत हुन संगठनले अपिल गरेको छ ।

‘व्यवसाय संचालनका दौरानमा विभिन्न समयमा आईपर्ने वाधा व्यवधानको एकल रुपमा गरिएको प्रयासलाई असफलताको अन्तिम प्रयासका रुपमा ब्याख्या नगरी यस संगठनको तर्फबाट समाधानका लागि सामूहिक प्रयासका लागि अनुरोध गर्दछौं’ बिहीबार जारी विज्ञप्तिमा भनिएको छ ।

एफएनसीसीआई प्रदेश १ का अध्यक्ष टीकाराज ढकालले कोभिड महामारी, युक्रेन र रुसको युद्ध, बैंक तथा वित्तीय संस्थाको चर्को व्याज दरलगायतका कारण देशको आर्थिक अवस्था भयावह स्थितिमा रहेको उल्लेख गरेका छन् ।

व्यवसायीहरु आफ्नो उत्पादन कटौती गर्न वाध्य भएको र बजारबाट उधारो उठ्न नसक्दा व्यवसायको प्रशासनिक खर्च धान्न समेत धौ धौ परेको ढकालको भनाइ छ ।

विराट व्यापार संघका अध्यक्ष नरेश खत्रीले बैंकको चर्को व्याज र ऋण तिर्न बैंकको ताकेत तथा दबावका कारण व्यवसायीहरूले अरु विकल्प नभएर यस्ता अप्रिय घटना रोजेको बताए ।

यस्ता घटनाबाट पाठ सिकेर सरकार र राष्ट्र बैंकले चाडै नै नीतिगत सुधार गरेर निजी क्षेत्रलाई राहत दिनुपर्ने उनको सुझाव छ । सरकारले अब पनि आर्थिक क्षेत्रमा व्यापक सुधार गर्न नसके र निजी क्षेत्रको समस्या समाधान नगरे स्थिति भयावह हुने बताउँछन् ।


क्लिकमान्डु