युक्रेनमा हेलिकप्टर दुर्घटना: गृहमन्त्रीसहित १८ जनाको मृत्यु



काठमाडौं । युक्रेनमा हेलिकप्टर दुर्घटना हुँदा गृहमन्त्रीसहित १८ जनाको मृत्यु भएको छ ।

युक्रेनको राजधानी किएभको पूर्वी भागमा एक हेलिकप्टर शिशु-शिक्षालयनजिकै दुर्घटना हुँदा देशका मन्त्रीसहित १८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जमिनमा रहेका मानिसहरू समेत रहेको बीबीसीले जनाएको छ ।

मृत्यु हुनेमा तीन बालबालिका पनि छन् । थप १५ जनाको अस्पतालमा उपचार भइरहेको समाचारमा जनाइएको छ ।

हेलिकप्टरमा मन्त्री डेनिस मोनास्तिर्सकीसहित ८ जना सवार थिए। उनीबाहेक गृह मन्त्रालयका दुई वरिष्ठ अधिकारीहरूको पनि निधन भएको छ ।

उपमन्त्री र एक सचिवको पनि निधन भएको अधिकारीहरूले बताएका छन् । घटनामा २९ जना घाइते भएका छन् ।

युक्रेनी प्रहरी प्रमुखले फेसबुकमा लेख्दै उक्त हेलिकप्टर युक्रेनको आपत्कालीन सेवाको रहेको जनाएका छन् ।

जलिरहेको भवनबाहिर हेलिकप्टरको भग्नावशेष छरिएको देखिन्छ । शिशु शिक्षालयनजिकै आगो लागेकाले बालबालिका र त्यहाँका कर्मचारीलाई अन्यत्र लगिएको थियो ।

दुर्घटना हुँदा त्यहाँ निकै अँध्यारो थियो र हुस्सु लागेको जनाइएको छ । दुर्घटनाअघि हेलिकप्टर उक्त विद्यालयको भवनमा ठोक्किएको प्रारम्भिक विवरणहरु आएको समाचारहरुमा जनाइएको छ ।


क्लिकमान्डु