सामुन्द्रिक माछा मासुको आयात ६६% ले घट्यो, नेपालले कुन-कुन देशबाट ल्याउँछ ?



काठमाडौं । सरकारले उच्च आयातका कारण तरलता अभाव भएको भन्दै मार्जिनको व्यवस्था गरेसँगै सामुन्द्रिक माछा मासुको आयात ६६ प्रतिशतले घटेको छ । सरकारले गत वर्षको पुस र माघ महिनामा उच्च आयात भइरहेको ४७ वस्तुको आयातमा शतप्रतिशत र ५० प्रतिशतको मार्जिनको व्यवस्था गरेको थियो ।

नगद मार्जिनको व्यवस्था गरेसँगै पछिल्ला दिनहरुमा यसको प्रत्यक्ष असर देखिएको थियो । त्यस्तै, सरकारले सामुन्द्रिक माछा मासुको आयातमा पनि शतप्रतिशत नगद मार्जिनको व्यवस्था गरेको थियो । उक्त व्यवस्था गरेसँगै सामुन्द्रिक माछामासुको आयात घटेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।

भन्सार विभागको तथ्याङ्कले चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा गत वर्षको सोही अवधिको तुलनामा सामुन्द्रिक माछा मासुको आयात ६६ प्रतिशतले घटेको जनाएको छ ।

नेपालले गत वर्षको ५ महिनाको अवधिमा ६८ करोड ५३ लाख ८७ हजार रुपैयाँको २५ लाख ६ हजार ४३७ केजी माछामासु आयात गरेको थियो ।

चालु आर्थिक वर्षको सोही अवधिमा नेपालले २३ करोड २६ लाख ९० हजार रुपैयाँको ७ लाख ८४ हजार २८६ केजी माछामासु आयात गरेको छ । जसमा नेपालले ७ करोड ४६ लाख ११ हजार रुपैयाँ राजस्व महसुल संकलन गरेको छ ।

त्यस्तै, नेपालले गत आर्थिक वर्षमा ३ अर्ब १३ करोड ६१ लाख ५५ हजार रुपैयाँको ६१ लाख ७६ हजार ६१६ केजी र आर्थिक वर्ष २०७७÷७८ मा ३ अर्ब ३३ करोड ७२ लाख १४ हजार रुपैयाँको ७८ लाख ५६ हजार २६१ केजी सामुन्द्रिक माछामासु आयात गरेको छ ।

नेपालले कहाँ–कहाँबाट ल्याउँछ माछा मासु ?

नेपालमा माछा मासुको उत्पादनमा तीब्ररुपमा बढ्दो छ । त्यस्तै, सरकारले पनि आत्मनिर्भर कृषि उत्पादनमा जोड दिँदै आएको छ । सरकारले यो वर्ष पनि माछा मासुमा आत्मनिर्भर बन्नका लागि विभिन्न कार्यक्रम अगाडि बढाएको छ । तर, सरकारले हरेक वर्ष विभिन्न कार्यक्रम अगाडि सारेपनि आत्मनिर्भर भने हुन सकेको छैन ।

आन्तरिक उत्पादनले नपुगेपछि नेपालले विभिन्न देशबाट माछामासु आयात गरी बजारमा आपूर्ति गर्दै आएको छ । जसमा नेपालले वार्षिक करिब साढे ३ अर्बको माछा मासु आयात गर्दै आएको तथ्याङ्क छ ।

नेपालले सबैभन्दा बढी भियतनामबाट सामुन्द्रिक माछा मासु आयात गर्दै आएको तथ्यांक छ । नेपालले चालु आर्थिक वर्षको पाँच महिनामा मात्रै भियतनामबाट १५ करोड २७ लाख ३८ हजार रुपैयाँको ५ लाख ४८ हजार ७८४ केजी सामुन्द्रिक माछा मासु आयात गरेको छ ।

भियतनामपछि नेपालले ७ करोड ६२ लाख ३३ हजार रुपैयाँको २ लाख ३२ हजार ३३६ केजी माछा मासु भारतबाट आयात गरेको छ । त्यसपछि थाइल्यान्डबाट २२ लाख ६६ हजार रुपैयाँको २८ सय १० केजी, डेनमार्कबाट १३ लाख ८ हजार रुपैयाँको ३६ केजी, हङकङबाट ७१ हजार रुपैयाँको २१९ केजी, चीनबाट ३३ हजार रुपैयाँको ५० केजी, बंगलादेशबाट २८ हजार रुपैयाँको ३० केजी र १० हजार रुपैयाँको ११ केजी माछा मासु सिंगापुरबाट आयात गरेको छ ।

२६ करोड रुपैयाँको जिवित जनावर तथा मासु आयात

नेपालले २३ करोड रुपैयाँको माछामासु आयात गर्दा २५ करोड ६३ लाख २२ हजार रुपैयाँको जिवित चल्ला तथा जनावर आयात गरेको छ भने ६२ लाख ७४ हजार रुपैयाँको ४० हजार १५ केजी मासु आयात गरेको छ ।

नेपालले पाँच महिनाको अवधिमा २० करोड ५५ लाख ६५ हजार रुपैयाँको ९९ हजार ६४४ वटा चल्ला आयात गरेको छ । जसमा नेपालले अष्ट्रेलियाबाट ९१ लाख ५१ हजार रुपैयाँको ७ हजार २८० वटा, क्यानाडाबाट २ करोड ८ लाख ५५ हजार रुपैयाँको १५ हजार ४० वटा, डेनमार्कबाट ३ करोड २९ लाख ४६ हजार रुपैयाँको २५ हजार ३६० वटा, फ्रान्सबाट ५२ लाख ९८ हजार रुपैयाँको ४ हजार ६६० वटा, मलेसियाबाट १ करोड ३४ लाख ४४ हजार रुपैयाँको ११ हजार ९ सय वटा, न्यूजिल्यान्डबाट १० करोड ९३ लाख ४३ हजार रुपैयाँको १५ हजार १६४ वटा र स्पेनबाट १ करोड ४५ लाख २९ हजार रुपैयाँको १० हजार २४० केजी चल्ला आयात गरेको छ ।

अन्य जिवित जनावरहरु ब्रुनाई, अर्जेन्टिना, अष्ट्रेलिया, बंगलादेश, भुटान, ब्राजिल, क्यानाडा, चीन, चेच रिपब्लिक, डेनमार्क, इजिप्ट, फ्रान्स, जर्मनी, हंगेरी, भारत, इटली जापान र दक्षिण अमेरिकाबाट आयात गरेको छ । त्यसैगरी, कुबेत, माल्टा, मोजाम्बीक्यू, नेदरल्यान्ड, पाकिस्तान, पोल्यान्ड, कतार, रिपब्लिक अफ मोल्दोभा, रोमनिया, रुस, साउदी अरेबिया, सर्बिया, साउथ अफ्रिका, स्लोभाकिया, स्पेन, थाइल्यान्ड, टर्की, बेलायत र अमेरिकाबाट अन्य जिवित जनावर आयात गरेका छन् । नेपालले सबैभन्दा बढी सर्बियाबाट अन्य जिवित जनावर आयात गर्दै आएको छ ।


क्लिकमान्डु