गृहमन्त्री रविलाई उनकै प्रश्नः देशमा यत्रा जनता मर्दा कहाँ छौ, मुचुल्कामा उठाइने लासका फगत गन्ती हुन् जनता ?
काठमाडौं । आइतबार काठमाडौंबाट पोखरा जाँदै गरेको यति एयरलायन्सको एटिआर-७२ विमान अवतरण हुनुभन्दा केही क्षणअघि सेती नदी खोंचमा दुर्घटना पर्यो । चालक दलका ४ सदस्यसहित ७२ जना सवार विमानमा कोही जीवित हुने सम्भावना छैन । सोमबार मध्याह्न १२ बजेसम्म ६८ जनाको शव भेटिएको छ । आइतबार ६३ शव भेटिएकोमा सोमबार बिहान थप ५ वटा शव फेला पारिएको प्रहरीले जनाएको छ । हराइरहेका ४ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेकामध्ये २६ जनाको शव पहिचान खुलेको छ ।
सामाजिक सञ्लाजहरुमा सेयर भएका भिडियोहरुमा विमान ल्याण्ड गर्नुअघि कोल्टिएको र आगो लागेका भिडियोहरु सार्वजनिक भएका छन् । हृदयविदारक फोटा र भिडियोहरुले सामाजिक सञ्जाल हेर्न सकिने अवस्था छैन ।
देशकै सबैभन्दा ठूलो हवाई दुर्घटना हुँदा सरकार भने एक थान छानबिन समिति बनाएर सार्वजनिक बिदा दिएर बसेको छ । राष्ट्रिय शोकका लागि बिदा दिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासको छतमा मुस्कानसहित घाम तापिरहेको फोटो स्वकीय सचिवहरुले सेयर गरिरहेका छन् ।
राजनीतिमा आउनुभन्दा अघि राज्य सञ्चालकमाथि ‘धाराप्रवाह’ गाली दिएर नथाक्ने रवि लामिछाने अहिले देशको गृह मन्त्रालय सम्हालिरहेका छन् ।
२०७८ असोजमा मुगु बस दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएपछि उनै लामिछानेले गृहमन्त्री र नीति निर्मातामाथि ‘आगो ओकलेका’ थिए । तर, उनै आज गृहमन्त्रीको कुर्सीमा छन् । बिडम्बना, यसअघिका नीति निर्माता र गृहमन्त्रीझैं उनी पनि गुमनाम छन् ।
नीति निर्मातालाई दुर्घटनामा ज्यान गुमाएकाहरुको हत्यारा भएको भन्दै चर्को स्वरमा चिच्याएका लामिछानेको ७२ जना सवार विमान दुर्घटनामा परि ह्वारह्वार जलिरहँदा बोली भासिएको छ ।
देशको शक्तिशाली मन्त्रालयमा उनी छन् या छैनन् जनताले कुनै आभाष पाउन सकेका छैनन् ।
मुगु दुर्घटनाको समयमा लामिछानेले ‘हत्यारा’ को आरोप लगाउँदै लामिछानेले टेलिभिजन कार्यक्रममा भनेका थिए, ‘झारा टार्न प्रेस संयोजकले लेखिदिन्छ, आज भएको दुर्घटनामा मृत्यु भएकाप्रति श्रद्धाञ्जली प्रकट गर्छु परिवारमा हार्दिक समवेदना साथै घाइतेहरुको शीर्घ स्वास्थ्य लाभको कामना गर्दछु । त्यो रेडिमेट ड्राफ सामाजिक सञ्जालमा पोस्ट गरेर मासु लुछ्दै चाड मनाउने नीति निर्माता नालायकनै हुन् । हत्यारा नै हुन् ।’
पदमा नरहँदा गरेको प्रश्न यति बेला जवाफ दिने ठाउँमा रहेका लामिछानेतर्फ नै सोझिएको छ । तर, देखिने र सुनिने गरी उनको जवाफ आउन सकेको छैन ।
हुन त उनले त्यतिबेलै दुर्घटना कम गर्न उपाय नदिएका होइनन् । तर, त्यतिबेला कसैले सुनेनन् वा वेवास्ता गरे । उनले भनेका थिए, ‘नीति निर्माताहरुले त्यसबारेमा पढ्नु पर्छ । चाडपर्व आउनुभन्दा अघि अनुगमन गर्नुर्छ । गृह मन्त्रालय, सडक विभाग, ट्राफिक प्रहरी, यातायात स्थानीय सरकारले जोखिम कम गर्न ज्यान फालेर काम गर्नुपर्छ । अनि कम हुन्छ दुर्घटना र ज्यान बच्छ।’
दुर्घटनामा ज्यान गुमाएकाहरुमाथि वा दुर्घटनामा ज्यान गुमाएकाहरुको उद्धार, राहतका लागि राजनीतिक दलहरुले केही नगरेको आरोप लगाउने लामिछाने यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति हुन् ।
आइतबारको दुर्घटनालाई लिएर न उनको पार्टीले कतै मिटिङ गरेको सुनियो न त देखियो । ‘काम न काजका राजनीतिक पार्टीहरु दुर्घटनामा पर्दा बिहान दिउँसै, साझै, राति, मिटिङ माथि मिटिङ हुने यो देशमा यत्रा जनता दिन दिनै मर्दा कहाँ हुन्छौं क्या तिमीहरु (राजनीतिक दल र नेताहरु)’ लामिछानेले टेलिभिजनबाट गरेको प्रश्न उनैमाथि सोध्न मनासिब न होला र ?
दुर्घटना निरन्तर भइरहेको भन्दै लामिछानेले यस्ता अप्रिय घटनालाई दुर्घटन नभइ घटना भएको र यसमा पन्छिन नमिल्ने बताउँथे । तर, उनी उपप्रधानमन्त्री रहेको मन्त्रिपरिषदले के गर्यो ? त्यत्रो घटना हुँदा घटनास्थलमा गृहमन्त्रीको उपस्थिति किन हुन सकेन आम मानिसले प्रश्न गरिररहेका छन् । आइतबार प्रधानमन्त्री प्रचण्डसँगको एउटा बैठकमा मात्रै देखिए गृहमन्त्री लामिछाने ।
दुर्घटनामा ज्यान गुमाएका नेपाली जनता मुचुल्कामा उठाइने फगत लासका गन्ती हुन् त गृहमन्त्रीज्यू अब जवाफ दिने पालो तपाईंको छ र जनता आतुर छन् । किनकी, चर्को स्वरमा यहाँले सोध्नु भएको थियो, ‘के नेपाली जनता मुचुल्कामा उठाइने लासका फगत गन्ती हुन् ? जिम्मेवारी लिनु पर्दैन कसैले ? चालकको लापरवाही भनेर प्रतिवेदन भनेर फालिदिँदा पुग्छ ?’
‘दुर्घटना न्यूनीकरण गर्ने एक होइन, अनेक उपाय छन्’ उनले भनेका थिए । सायद ती उपाय अवलम्बन गर्न सरकार चुक्यो होला र यत्रो दुर्घटनाले देश शोकमा बिदामा छ र झण्डा आधा झुकाइएको छ ।
‘पार्टी फोड्न, आन्दोलन गर्न, सडकको बत्ती फोड्न, मान्छेको टाउको फोड्न मात्र जानेर हुँदैन । दुर्घटना न्यूनीकरणका अनेकौं कार्ययोजना पनि जान्नुपर्छु भन्ने गृहमन्त्रीले त्यसका लागि के कति कदम चाल्नु भयो यतिबेला जनता जान्न चाहन्छन् । लामिछानेका यस्तै चर्का र उग्र कुरालाई मन पराएर जनताले पार्टी गठन भएको ६ महिनामै शक्तिमा पुर्याइदिए । र, त्यसकै बलमा ‘बार्गेनिङ’ गरेर उनी यतिबेला उपप्रधानसहित गृहमन्त्रीमा छन् ।
‘आफ्नो पद खस्ला भनेर लाएजति पिर बस खस्ला भनेर लिएमात्र पुग्छ ? माननीय गृहमन्त्री र भौतिक पूर्वाधार मन्त्रीज्यू मान्छेको ज्यानको मूल्य छु उनले भनेका थिए । अब प्रश्न फेरि पनि उनैतर्फ सोझिएको छ । कि गृहमन्त्री रवि लामिछानेका लागि अब मान्छेको ज्यानको मूल्य छैन ?
दुर्घटनामा एक राजनीतिक दलका लागि फगत भोटर घटे होलान् । तपाईंले भनेजस्तै कयौं परिवारले आफ्नो प्रियजन गुमाए, कयौं छोराछोरी टुहुरा भए, कयौंको कोख रित्तियो, सिन्दुर पुछियो के माननीय गृहमन्त्रीज्यूका नजरमा यो अहिले पनि असाध्यै ठूलो विपत्ति होला ? यदी हो भने को टुहुरा भएका कहाँ पुग्नु भयो ? सायद खुसुक्क पो जानु भयो कि ? तर जानु भएको भए पक्कै पनि स्वकीयहरुले लाइभ गर्थे होलान् र कतिपयले फेरि ‘भौमान’बनाइसकेका हुन्थे होला ।
तर, सामाजिक सञ्जालका भित्ताहरुमा ती फुटेजहरु देख्न पाइएको छैन ।
‘सही समयमा अनुगमन नगरेर थपिएको मृत्युको पासो हो यसलाई हटाउन सकिन्छ । यदी एक थान समवेदना पत्रभन्दा माथि उठेर सोच्ने हो भने मृत्यु हुनेको अनुहारमा आफन्तको अनुहार देख्नु पर्यो । आज तपाईंहरुले सम्हालेको मन्त्रालयसँग सरोकार राख्ने निकायहरुको लापरवाहीले कयौं घर उजाडियो’ टेलिभिजन स्कृनमा भट्याइएका यी बाक्यहरु यतिबेला सामाजिक सञ्जालमा जताततै भाइरल भएको सायद तपाईंले मेसो पाउनु भए कि ?
पाउनु भएको भए गृह मन्त्रीज्यू, टेलिभिजन स्कृनमा देखिने रवि लामिछानेलाई यतिबेला पनि नागरिकले खोजिरहेका छन् । नागरिकले खोजिरहँदा विमानस्थलमा गाडीमा सिट खाली हुँदा पनि उभिएर ‘स्टन्ट’ गर्ने मानसिकताबाट माथि उठेर ‘जादुको छडी’ जसरी काम काम गरेको हेर्न चाहिरहेका छन् र यहाँले नै भनेजस्तै दुर्घटना न्यूनीकरणको उपाय खोजी गर्न ढिला भएन र ?