पाकिस्तानका प्रधानमन्त्री शहबाज ऋण माग्दै, सुधारिएला त आर्थिक अवस्था ?



एजेन्सी । पाकिस्तानले अहिले गम्भीर आर्थिक संकटको सामना गरिरहेको छ । यसबीच पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले कैयौं देशहरुलाई ऋण र आर्थिक राहत उपलब्ध गराउने कोसिसमा सफलता पाएका छन् ।

पाकिस्तानको विदेशी मुद्रा भण्डारण लगातार कम भइरहेको छ । पाकिस्तानको केन्द्रिय बैंकले बिहीबार बताएअनुसार पाकिस्तानमा विदेशी मुद्रा भण्डारण अहिले केवल ४.३ अर्ब अमेरिकी डलर रहेको छ । विश्लेषकहरुले बताएअनुसार पाकिस्तासँग अब ३ देखि ४ हप्ताका लागि सामग्री आयात गर्न आवश्यक विदेशी मुद्रा मात्रै उपलब्ध छ ।

पाकिस्तानमा गत वर्ष सन् २०२२ मा बाढीका कारण ठूलो क्षति भएको थियो । बाढीका कारण १७ सयभन्दा धेरै मानिसको मृत्यु भयो भने ३.३ करोड मानिस प्रभावित भएका थिए । पाकिस्तानले यो बाढीका कारण ३० अर्ब अमेरिकी डलरको आर्थिक नोक्सानी भोग्नु परेको छ ।

लोकतान्त्रिक रुपमा छानिएका पाकिस्तानका प्रधानमन्त्री इमरान खानले विश्वासको मत लिन नसकेपछि पद छाडेका थिए । त्यसपछि पाकिस्तानमा गम्भीर राजनीतिक संकट देखा परेको छ । पाकिस्तानमा तहरीक–ए–तालिबान नामक समूह सक्रिय भइरहेको छ भने कैयौं ठाउँमा हमला समेत गरिरहेको छ ।

अहिलेको समयमा हेर्दा पाकिस्तान सबै रुपमा गम्भीर आर्थिक, राजनीतिक र सुरक्षा संकटमा फसेको छ ।

पाकिस्तानको आर्थिक अवस्था यति खराब भएको छ कि सरकारले बजार र सपिङ मलहरुलाई नियमित समयभन्दा पहिले नै बन्द्य गर्न आदेश दिनु परेको छ । सरकारी कार्यालय र विभागहरुमा पनि बिजुलीको खपतलाई ३० प्रतिशतसम्म कम गर्न सरकारले आदेश दिएको छ । बिजुलीको खर्च बचाउनका लागि पाकिस्तान सरकारले यस्तो आदेश दिएको हो ।

पाकिस्तान आफ्नो अधिकतम उर्जास्रोतका लागि आयातमाथि नै निर्भर रहेको राष्ट्र हो ।

पाकिस्तानले आगामी दुई वर्षसम्म प्रतिवर्ष २० अर्ब अमेरिकी डलर बराबरको ऋण पनि तिर्नुपर्ने बाध्यता छ । सन् २०१७ मा पाकिस्तानमाथि वर्षेनी ऋणको भार सात अर्ब अमेरिकी डलर थियो । अहिले यो ऋण बढेर २० अर्ब अमेरिकी डलर प्रति वर्ष भएको छ ।

२२ करोड जनसंख्या रहेको पाकिस्तान लगातार ऋणमा फसिरहेको छ । सन् २०१९ मा पाकिस्तानले अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग ५ अर्ब अमेरिकी डलरको बेलआउट प्याकेज हासिल गरेको थियो । त्यस्तै, गत वर्ष अगष्टमा पनि आईएमएप्ःले पाकिस्तानलाई १.१ अर्ब अमेरिकी डलरको ऋण दिएको थियो ।

सहयोगको आशमा पाकिस्तान

पाकिस्तानका प्रधानमन्त्ती शहबाज शरीफ र नयाँ सेना प्रमुख आसिम मुनीरले अहिले मित्र राष्ट्रहरुमा भ्रमण गर्दै पाकिस्तानका लागि ऋण र राहत जुटाउने कोशिश गरिरहेका छन् ।

शहबाज शरिफले बिहीबार संयुक्त अरब इमिरेट्स (युएई)को भ्रमण गरेका थिए । युएईले पाकिस्तानलाई एक अर्ब अमेरिकी डलरको नयाँ ऋण दिने घोषणा गरेको छ । सँगै युएईले पहिले नै दिएको दुई अर्ब अमेरिकी डलरको ऋणलाई पनि थप समयसम्म लम्ब्याउने बताएको छ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले बिहीबार अबुदाबीमा युएईका राष्ट्रपती शेख मोहम्मद बिन जायद अल नाहयानसँग भेटेका थिए । पाकिस्तानलाई ऋण उपलब्ध गराकोमा शरीफले उनलाई धन्यवाद ज्ञापन पनि गरेका छन् ।

केही दिन पहिले मात्रै साउदी अरबले पनि पाकिस्तानका लागि नयाँ ऋण दिने घोषणा गरेको थियो । पाकिस्तानका राजकुमार मोहम्मद बिन सलमानले पाकिस्तानको अर्थव्यवस्थामा सहयोग पुग्ने गरि लगानी गर्ने तरिकाहरु खोज्न समेत आदेश दिएका छन् ।

साउदी प्रेसको एक रिपोर्टकाअनुसार ‘साउदी फन्ड फर डेभलोपमेन्ट’ले पाकिस्तानको केन्द्रिय बैंकमा रहेको आफ्नो जम्मा पुँजीलाई तीन अर्ब अमेरिकी डलरबाट बढाएर पाँच अर्ब अमेरिकी डलर बढाउनका लागि अनुसन्धान गर्न लागेको छ ।

त्यस्तै, ब्लूमबर्गको एक रिपोर्टकाअनुसार साउदी अरबले पाकिस्तानमा आफ्नो लगानीलई १० अर्ब अमेरिकी डलरसम्म बढाउनेछ ।

यही वर्ष डिसेम्बरमा साउदी अरबले पाकिस्तानलाई चार प्रतिशतको ब्याजदरमा तीन अर्ब अमेरिकी डलरको अर्को ऋण पनि दिएको थियो।

हालसालै जेनेभामा भएको सम्मेलनमा विश्वका ठूला आर्थिक संस्थान र विकसित देशहरुले पाकिस्तानका लागि १० अर्ब अमेरिकी डलर बाढीका लागि राहतको रुपमा दिने घोषणा पनि गरेका थिए ।

किन पास्कितानमा निम्तिरहेको छ संकट ?

पाकिस्तान र विश्वका अन्य विकासशील देशहरुको सामुन्ने अहिले ब्यालेन्स अफ पेमेन्ट (भुक्तानी सन्तुलन) को संकट निम्तिरहेको छ । विकासशील देशहरुले निर्यात गर्ने सामग्रीको मूल्य आयात हुने सामग्रीको तुलनामा बृद्धि भएको छैन । उदाहरणका लागि कच्चा तेलको मूल्य १२३ अमेरिकी डलर प्रतिबेरल पुगेको थियो । अधिकतर विकासशील देशले एलएनजी (तरल प्राकृतिक ग्यास)को आयात गर्ने गरेका छन् । उक्त ग्यासको मूल्य बृद्धि भएको थियो । कोइलादेखि खाने तेलको मूल्य समेत बढेको छ ।

तर, पाकिस्तान जस्ता विकासशील देशहरुले निर्यात गर्ने वस्तुहरुको मूल्य भने आयात हुने उल्लेखित वस्तुहरुको मूल्यकै तुलनामा बृद्धि भएको छैन् । यसकारण यस्ता देशहरुको सामुन्ने ब्यालेन्स अफ पेमेन्ट (भुक्तानी सन्तुलन)को संकट देखा परेको छ ।

पाकिस्तान, घाना, अर्जेन्टिना, श्रीलंका, ग्रीस र जाम्बियाजस्ता देशहरुले यो समस्याको सामना गर्नु परेको छ ।
विश्लेषकहरुकाअनुसार यसकारण भुक्तानी सन्तुलनको संकट पैदा भएको छ, जुन आर्थिक चुनौतीहरुको जडको रुपमा देखा परेको छ ।

पाकिस्तानका वरिष्ठ आर्थिक विश्लेषक फारुख सलीमले पाकिस्तानको आर्थिक समस्याहरुलाई बुझाउँद्यै भन्छन्, ‘पाकिस्तान खारगरि भुक्तानी सन्तुलनको ठूलो संकटसँग लडिरहेको छ । पाकिस्तानको आयात र निर्यातमा ४० अर्ब डलरभन्दा धेरैको फरक आएको छ । यो बाहेक पाकिस्तानका नागरिकहरुले पनि महंगी भोग्नु परिरहेको छ ।’

यो महंगी २५ प्रतिशतभन्दा धेरै भएको छ । पाकिस्तासन्ग उपलब्ध रहेको डलरको सञ्चिती सकिदैं गइरहेको छ । पाकिस्तानसँग अबको तीन वा चार हप्ताका लागि मात्रै सामग्री खरिद गर्न सक्ने रकम सञ्चिती रहेको उनी बताउँछन् । पाकिस्तानको विदेशी मुद्रा भण्डारण यो समय ४.३ अर्ब डलर रहेको छ, जुन २०१४ यताकै सबैभन्दा कमजोर हो ।

पाकिस्ताको सामुन्ने आपतकालिन अवस्था सिर्जना भएको छ । जसकारण पाकिस्तानका प्रधानमन्त्री तथा सेना प्रमुख यस्ता देशहरुको भ्रमणमा छन्, जोसँग पाकिस्तानको मित्रवत सम्बन्ध रहेको छ । उनीहरु पाकिस्तानका लागि फण्ड जुटाउने कोसिस गरिरहेका छन् । यो बाहेक उनीहरुले आफूले यसअघि नै लिएर तिर्नु पर्ने ऋणहरुलाई पनि लम्ब्याएका छन् ।

‘एउटा सुखद अबर पाकिस्तानका लागि जेनेवाबाट आएको छ । दुनियाँका आर्थिक संस्थान र देशहरुले पाकिस्तानका लागि १० अर्ब डलरभन्दा धेरै रकम उपलब्ध गराउने घोषणा गरेका छन्’ फारुख सलीम भन्छन्, ‘यो पैसा पाकिस्तानमा जलवायु परिवर्तनका प्रभाव कम गर्ने कामहरुमा खर्च हुनुपर्नेछ । यो फण्डका कारण पाकिस्तानको आशा कैयौं बढेको छ । पाकिस्तानले आठ अर्ब डलर फण्ड आउने आशा गरेको थियो । तर योभन्दा कैयौं धेरै रकम दिइने बचन भएको छ ।’

के हो पाकिस्तानीको ऋणको समाधान ?

तर, यसबीच पनि अन्य देशबाट ल्याएको ऋण वा अन्य देश र आर्थिक संस्थानहरुले उपलब्ध गराउने घोषणा गरेको फण्डले पाकिस्तानको आर्थिक संकटमा राहत होला ?

‘यो घोषणाले पाकिस्तानको तत्कालिन आवश्यकताहरु पुरा गर्दैनन्,’ फारुख भन्छन्, ‘यो घोषणा जलवायु परिवर्तन रोक्नका लागि गरिएको हो, जसकारण यो फण्डको प्रयोेग पनि जलवायु परिवर्तनसँग जोडिएका परियोजनाहरुमाथि नै हुनपर्छ । संयुक्त अरब इमिरेट्स वा साउदी अरबबाट पाकिस्तानलाई ऋण उपलब्ध भइरहेको छ । यो पाकिस्तानको आर्थिक समस्याको समाधान होइन, अरु त्यसलाई दबाउने कोसिस हो । यो ऋण आर्थिक संकटको समाधान हुँदै होइन ।’

तर, नयाँ ऋणका कारण पाकिस्तानको हालको अवस्थालाई भने केही राहत अवश्य हुनेछ ।

आर्थिक सुधारको चुनौती

‘पाकिस्तानले एक दिन यो ऋण तिर्नै पर्नेछ’, फारुख भन्छन्, ‘अहिले पाकिस्तानको सामुन्ने अन्तराष्ट्रिय मुद्राको संकट देखा परेको छ र उसलाई अल्पकालिन हल चाहिएको छ । यस्तोमा ऋण अवश्य पनि सहयोगको तत्व हुन्छ । थोरै समयमा धेरै कुरामा सुधार ल्याउन सकिदैंन्, त्यसैले ऋण केही राहत प्रदान गर्ने तत्व चाहीँ हो ।’

पाकिस्तानको सामुन्ने सबैभन्दा ठूलो समस्या त्यहाँको आर्थिक सुधारको हो । विश्लेषकहरुकाअनुसार नयाँ ऋणले तत्काललाई राहत भएतापनि संकटको समाधान भने हुनेछैन ।

फारुख भन्छन्, ‘जहाँसम्म अर्थव्यवस्थामा सुधारको विषय छ, त्यो ऋणबाट हुँदैन् । सुधार बाहिरी सहयोगबाट नभएर कारोबारबाट नै हुन्छ । न आयातमा नियन्त्रण गरेर सुधार गर्न सकिन्छ । त्यसैले निर्यातलाई बढाउनुपर्ने हुन्छ ।’

पछिल्लो वर्षमा श्रीलंकामा गम्भीर आर्थिक संकट उत्पन्न हुँदा त्यहाँको राजनीतिक हालात पनि प्रभावित भएको थियो । मानिसहरु सडकमा आएरका थिए भने राष्ट्रपतिसम्मले देश छोडेर भाग्नुपर्ने बाध्यता आइपरेको थियो ।

तर, पाकिस्तानको आर्थिक संकट श्रीलंकाको जस्तै भएतापनि राजनीतिक असर त्यहाँको जस्तो देखिएको छैन ।

‘पाकिस्तानको सामुन्ने अहिले सबैभन्दा ठूलो संकट भुक्तानी सन्तुलनको हो,’ उनी भन्छन्, ‘श्रीलंकामा पनि आर्थिक संकट यहि कारणले पैदा भएको थियो । पाकिस्तानको आर्थिक संकटका लक्षणहरु पनि श्रीलंकामा जस्तो थियो त्यस्तै छन् । तर, श्रीलंका पाकिस्तानको तुलनामा निकै सानो देश हो । पाकिस्तानको भू–राजनीतिक महत्व श्रीलंकाको तुलनामा धेरै छ ।’

श्रीलंकामा भुक्तानी सन्तुलनबाट नै आर्थिक संकटको सुरुवात भएको थियो । पछि मुद्रा सञ्चितीमा पनि संकट पैदा भयो । यसको परिणामस्वरुप महंगी अकल्पनिय रुपमा बढ्यो र सामग्रीहरुको हाहाकार मच्चिन थाल्यो । यस्तोमा सबैजसो देशहरु जसले प्रमुख आवश्यक रहेका वस्तुहरुका लागि आयातमाथि नै परिनिर्भर हुनु परेको छ, त्यहाँ संकट परिरहेको छ । महंगी र भुक्तानी सन्तुलनको संकट पाकिस्तानमा पनि छ, तर श्रीलंकामा जस्तो राजनीतिक विरोध र प्रदर्शनको संकेत अहिलेसम्म पाकिस्तानमा देखिएको छैन ।

बीबीसी हिन्दीबाट


क्लिकमान्डु