एयर ट्राफिकले रनवे ३० बाट अवतरण अनुमति दिँदा पाइलटले रवने १२ बाट अनुमति मागेपछि…



काठमाडौं । पोखराको सेती नदी खोचमा दुर्घटना भएको यती एयरलाइन्सको विमान रनवे ३० बाट अवतरण गर्न एयर ट्राफिक कन्ट्रोलर (एटीसी)ले अनुमति दिएको थियो ।

पोखरा विमानस्थलमा प्रुभिङ उडानमा रहेकी पाइटल अन्जु खतिवडाले विमानलाई पूर्वतर्फको रनवे ३० बाटभन्दा पनि पश्चिमतर्फको रनवे १२ बाट अवतरण गर्न अनुमति मागिन् । मौसम सफा भएकाले एटीसीले पश्चिम तर्फबाट अवतरण गर्ने अनुमति दियो ।

पोखरा टावरमा रहेका एक अधिकारीका अनुसार यती एयरलाइन्सको विमान विमानस्थल नजिकैबाट पश्चिमतर्फ जाँदा सन्तुलित अवस्थामा थियो ।

‘पाइलटले रनवे १२ बाट अवतरण गर्ने अनुमति मागेपछि हामीले अनुमति दिएका थियौं । त्यसबेलासम्म विमान सन्तुलित अवस्थामा थियो,’ नेपाल नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले भने, ‘तर, एक्कासी विमान घुमाउँदा सन्तुलन गुमाउन पुग्यो । जसले गर्दा आजको दुर्घटना भएको हुनसक्छ ।’

विमान अवतरणका लागि नोज (अगाडिको चुच्चो भाग) मिलाउँदा सार्प टर्न लिएकाले विमानको सन्तुलन बिग्रिएको हुन सक्ने प्राधिकरणका एक पूर्वउपमहानिर्देशक बताउँछन् ।

‘आकासमा विमान उड्दा बैंक एंगल ६० डिग्रीभन्दा बढीमा टर्न गर्न खोज्यो भने विमानको भार एकतर्फ मात्रै परेर सन्तुलन बिग्रने जोखिम हुन्छ,’ ती अधिकारी भन्छन्, ‘अहिले नै सार्प टर्न गरेर वा विमानको भार एकतर्फ परेरै दुर्घटना भयो भनेर ठोकुवा गर्न सकिन्न । तर, समाजिक सञ्जालमा देखिएको भिडियो हेर्दा एकतर्फ मात्रै भार हुँदा विमान दुर्घटना परेको देखिन्छ ।’

विमान रनवे ३० बाट रनवे १२ तर्फ जाँदा राम्रै अवस्थामा देखिएको, पाइटलले विमानमा गडबढी भएको कुनै जानकारी नदिएको र विगतमा पनि विमान खराब रहेको केही जानकारी नआएकाले विमान टर्न गर्दा बैंक एंगल ६० डिग्रीभन्दा बढी भएर विमानको तौल एकैतर्फ केन्द्रीत भएको हुन सक्ने एक अर्का एटीसी आशंका गर्छन् ।


क्लिकमान्डु