अबदेखि बैंकहरुले तीन महिनामा मात्रै ब्याज दिने



काठमाडौं । बैंकहरुले दैनिक ब्याज गणना नगर्ने भद्र सहमति गरेका छन् ।

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स संघको बुधबार बसेको बैठकले मुद्दति निक्षेपमा दैनिक ब्याज गणना नगर्ने भद्र सहमति गरेको हो । मुद्दती खातामा निक्षेप राख्दा ब्याज रकमलाई हरेक दिन साँवामा गणना गर्दै त्यसमा पनि ब्याज दिने गरिएको थियो ।

जसले गर्दा बैंकहरुले प्रकाशित गरेको ब्याजदर भन्दा बढी रकम ब्याज दिने गरेका थिए । कुनै बैंकले निक्षेपकर्तालाई १२.१३ प्रतिशत ब्याज दिने भनेपनि मुद्दति निक्षेपमा दैनिक ब्याज गणना गरेर सावाँमा जोड्ने र त्यसबाट पनि ब्याज दिँदा निक्षेपकर्ताले पाउने ब्याज तोकेको भन्दा बढी हुने गरेको थियो ।

अब भने बैंकहरुले यसरी दिने ब्याज तीन-तीन महिनामा मात्रै भुक्तानी दिने भएका छन् । एक बैंकका सीईओले प्रत्येक महिनामा दिँदै आएको ब्याजलाई तीन-तीन महिनामा दिने भद्र सहमति भएको बताए ।

विगतमा वित्तीय प्रणालीमा तरलताको चरम अभावहुँदा निक्षेप आकर्षित गर्न बैकहरुले दैनिक ब्याज गणना गर्न सुरु गरेका थिए । बैंकले निक्षेप तान्न अस्वस्थ प्रतिस्पर्धा गरेको भन्दै राष्ट्र बैंकले आवश्यक कागजान समेत माग गरेको थियो ।

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई कात्तिक १४ गते संस्थागत मुद्दति निक्षेप संकलन गर्दा दैनिक ब्याज पुँजिकरण गरी ब्याजदर गणना गरेकाे र प्रकाशित ब्याजदर भन्दा बढी ब्याज दिएको गुनासो आएको भन्दै आवश्यक विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।


क्लिकमान्डु