नेपालमा रुस–युक्रेन द्वन्द्वको असरः आयात ५० प्रतिशत घट्यो, निर्यात २६ प्रतिशतले कम



काठमाडौं । रुस–युक्रेनबीच द्वन्द्व भएको १० महिना बितिसकेको छ । युक्रेनले नेटोसँग निकटता देखिएपछि रुसले आपत्ति जनाएर आक्रमण शुरु गरेको थियो ।

रुसले युक्रेनको दक्षिणी क्राइमिया प्रायद्वीपलाई आफ्नो नियन्त्रणमा लिएको र पूर्वी डोनबास क्षेत्रको रक्तपातपूर्ण विद्रोहलाई समर्थन गरेको ८ वर्षपछि तनाव पुनः चर्केर अहिले युद्ध भइरहेको छ ।

रुसले आक्रण थालेयता विश्वकै अर्थतन्त्रमा प्रभाव परेको छ । द्वन्द्वका कारण विश्वव्यापी रुपमा मूद्रास्फिति हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । रुस विश्वकै कच्चा तेल निर्यात गर्ने सबैभन्दा ठूलो देश हो भने युक्रेन पनि गहुँ, जौ र सन्फ्लावर तेल निर्यात गर्ने ठूलो देश हो ।

यी दुई देशको निर्यात हिस्सा निकै ठूलो भएकाले द्वन्द्वका कारण आयात तथा निर्यातको विश्वव्यापी चक्रमा प्रभाव पारेको छ । शुरुवाती चरणमा दुई देशबाट निर्यात हुन नसक्दा पेट्रोलियम पदार्थको मूल्य हालसम्मकै उच्च मूल्य कायम भएको थियो भने खाने तेलको मूल्य पनि दोब्बरले बढेको थियो ।

अधिकांश देशहरुले द्वन्द्वले खाद्यान्न अभाव हुने भन्दै निर्यात तथा आयातमा कडाइ गरेका थिए । तर, पछिल्ला दिनहरुमा दुई दशेबीच द्वन्द्व भइरहे पनि अवस्था भने सहज बन्दै गएको छ ।

रुस-युक्रेन युद्धले नेपाल पनि प्रभावित

द्वन्द्वले नेपालमा पनि प्रत्यक्ष असर परेको छ । पेट्रोलियमदेखि खाने तेलको मूल्य ह्वात्तै बढेको छ । त्यस्तै, द्वन्द्वका कारण यी दुई देशबीचसँग नेपालसँगको वैदेशिक व्यापारमा कमी आएको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा गत वर्षको सोही अवधिको तुलनामा ५० प्रतिशतले आयात घटेको छ भने २६ प्रतिशतले निर्यात घटेको छ ।

द्वन्द्वले गर्दा नेपालसँगको वैदेशिक व्यापारमा निकै प्रभाव परेको देखिन्छ । त्यसमा पनि रुसको वैदेशिक व्यापार ठूलो असर देखिन्छ । विगतमा अर्बौ रुपैयाँको वस्तु आयात गर्दै आएको नेपालले द्वन्द्वले गर्दा वस्तु आयात गर्न सकेको छैन ।

रुसबाट गत वर्षको ५ महिनाको अवधिमा नेपालले ३ अर्ब ४० करोड ८२ लाख रुपैयाँको वस्तु आयात गरेको थियो भने नेपालबाट ११ करोड ४३ लाख ८४ हजार रुपैयाँको वस्तु निर्यात भएको थियो ।

तर, यो वर्ष द्वन्द्वले गर्दा ५ महिनाको अवधिमा १० करोड ८४ लाख १५ हजारको वस्तु आयात गर्दा नेपालबाट ८ करोड ५५ लाख २० हजार रुपैयाँको वस्तु निर्यात भएको छ । जसमा रुसबाट आयात गर्ने वस्तुको आयातमा शतप्रतिशत घटेको छ ।

तथ्याङ्अनुसार चालु आवको ५ महिनाको अवधिमा रुसबाट आयात गर्ने वस्तुको आयात ९७ प्रतिशतले घटेको छ । सामान्य अर्थमाभन्दा रुसबाट नेपालमा वस्तु आयात हुनै छोडेको देखिन्छ । निर्यात भने ३३.२० प्रतिशतले घटेको छ ।

त्यसैगरी, युक्रेनसँगको वैदेशिक व्यापारमा पनि कमी आएको छ । विभागको तथ्याङ्कअनुसार नेपालले युक्रेनबाट चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा ६ अर्ब ३७ करोड ३२ लाख ११ हजार रुपैयाँको आयात गरेको छ भने २ लाख ४६ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ ।

गत वर्षको सोही अवधिमा नेपालले युक्रेनबाट ९ अर्ब ५४ करोड १४ लाख ५९ हजार रुपैयाँको वस्तु आयात गरेको थियो भने १० लाख ९३ हजार रुपैयाँको वस्तु निर्यात गरेको थियो ।

रुस–युक्रेनबीच द्वन्द्व शुरु भएदेखि असारसम्ममा नेपालले रुसबाट १ अर्ब ३२ करोड ९९ लाख ६८ हजार रुपैयाँको र युक्रेनबाट ३ अर्ब १७ करोड ९० लाख रुपैयाँको वस्तु आयात गरेको थियो ।

नेपालले यी दुई देशबाट कच्चा सन्फ्लावरको तेल आयात गर्ने हुँदा निकै प्रभाव परी बजारमा त्यसको प्रत्यक्ष असर देखिएको छ ।

रुस र नेपालको व्यापार सम्बन्धः के आयात हुन्छ, के निर्यात ?

रुससँग नेपालको वैदेशिक व्यापारघाटामा धेरै अन्तर छ । नेपालबाट निर्यात हुने वस्तुको अवस्था निकै कमजोर हुँदा रुससँग व्यापारघाटा उच्च छ । नेपालले रुसबाट विशेषगरी कच्चा तेल आयात गर्ने गरेको तथ्याङ्कले उल्लेख गर्छ ।

नेपालले चालु आर्थिक वर्षको ५ महिनानामा ७ करोड ५८ लाख ४४ हजार रुपैयाँको कच्चा सन्फ्लावर तेल आयात गरेको छ । त्यसपछि १ करोड ९ लाख ८९ हजार रुपैयाँको धनिया, ७० लाख ७९ हजार रुपैयाँको अन्य जीवजन्तु, ५७ लाख ७५ हजार रुपैयाँको अन्य वस्तु, ४६ लाख ७ हजार रुपैयाँका फिल्टरीङ मेसिन, २० लाख ९३ हजार रुपैयाँको फिल्टरिङ मेसिनको पार्टपूर्जा र १४ लाख ९५ हजार रुपैयाँको टेप, डिस्क तथा सफ्टवेयरसहितको डिभाइस आयात गरेको छ ।

त्यस्तै, नेपालबाट भने रुसमा सबैभन्दा बढी कार्पेट निर्यात हुँदै आएको छ । ५ महिनाको अवधिमा नेपालले रुसमा ४ करोड २ लाख ६१ हजार रुपैयाँको कार्पेट निर्यात गरेको छ ।

त्यसैगरी, ३ करोड ९३ लाख रुपैयाँको चिया, १७ लाख ८१ हजार रुपैयाँको ग्रीन टी, १५ लाख रुपैयाँको चाँदीको गहना, १४ लाख रुपैयाँको संगातिक सामाग्री र ६ लाख ३४ हजार रुपैयाँको फर्निचर निर्यात गरेको छ ।

युक्रेन र नेपालको व्यापार सम्बन्धः के आयात हुन्छ, के निर्यात ?

रुसभन्दा युक्रेनमा नेपालको वैदेशिक व्यापार बढी छ । नेपालले चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा साढे ६ अर्बको व्यापार गर्दा सबैभन्दा बढी कच्चा सन्फ्लावरको तेल आयात गरेको छ ।

नेपालले ५ महिनाको अवधिमा ४ अर्ब ८२ करोड ६ लाख ६५ हजार रुपैयाँको कच्चा सन्फ्लावर तेल आयात गरेको छ भने १ अर्ब ४२ करोड ६७ लाख ७९ हजार रुपैयाँको तोरीको दाना र ५ करोड २ लाख ९५ हजार रुपैयाँको अन्य भटमास आयात गरेको छ।

त्यसैगरी, २ करोड ७३ लाख ६६ हजार रुपैयाँको क्राउन क्रुक, ४ करोड ४० लाख ७६ हजार रुपैयाँको स्टपर, क्याप र लिड्स र १४ लाख ५१ हजार रुपैयाँको टोनर कारट्रिजसहित थोरै मूल्य बराबरको अन्य वस्तु आयात गरेको छ ।

तर, नेपालबाट भने यो वर्षको ५ महिनाको अवधिमा २ लाख ४६ हजार रुपैयाँको ३५ केजी फेल्ट निर्यात गरेको छ ।


अरिष्मा मोक्तान