यातायात र वैदेशिक रोजगार कार्यालयबाट ३८ जना बिचौलिया पक्राउ



काठमाडौं । नेपाल प्रहरीले यातायात व्यवस्था कार्यालय (मोटर साइकल) गुर्जुधारा र बैदेशिक रोजगार कार्यालयबाट ३८ जना बिचौलियालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीका अनुसार गुर्जुधाराबाट २५ जना र बैदेशिक रोजगार कार्यालयबाट १३ जनासहित ३८ जना बिचौलियाहरु पक्राउ परेका छन् ।

परिसरका प्रवक्ता समेत मैनालीका अनुसार बुधबार बिहीबार चन्द्रागिरी नगरपालिका–५ मा रहेको यातायात ब्यवस्था कार्यालय गुर्जुधारा शाखा र काठमाडौं महानगरपालिका–१३ ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयमा सेवा लिन आएका सेवाग्राहीसँग बिचौलियाको काम गर्नेलाई प्रहरीले पक्राउ गरेको हो ।

बिना इजाजत सेवा लिने÷दिने कार्यमा बाधा पुर्‍याई लाग्ने दस्तुर भन्दा बढी दस्तुर लिने, छिटो छरितो काम गर्ने आश्वसन दिने र गर्न नसक्ने कामलाई पनि सरल बनाई दिन्छौ भन्दै ठग्नेलाई प्रहरीले नियन्त्रणमा लिएको उनको भनाइ छ ।

बिचौलियाहरुले जवरजस्ती सेवाग्राहीलाई तानी सरकारी काम कारबाहीमा बाधा अवरोध गरी अनावश्यक दुःख हैरानी दिई अभद्र व्यवहार गरी अनुचित लाभसमेत लिने गरेको पाइएको मैनालीले बताए ।


क्लिकमान्डु