एकीकृत समाजवादीद्वारा वाम एकताका लागि ४ सदस्यीय कार्यदल गठन



फाइल तस्बिर

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले वामपन्थी पार्टीहरुबीचको एकताका लागि कार्यदल गठन गरेको छ ।

उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले केन्द्रीय सचिवालय बैठकले वाम एकताको लागि कार्यदल गठन गरेको जानकारी दिए ।

बिहीवार पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालयको बैठकले महासचिव वेदुराम भुसालको संयोजकत्वमा ४ सदस्यीय वाम एकतासम्बन्धी कार्यदल गठन गरेको हो ।

कार्यदलमा भुसालसहित गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल रहेको खतिवडाले बताए ।

कार्यदलले वामपन्थीहरुसँग छलफल र परामर्श गर्ने र वाम एकताका लागि व्यक्ति र संस्थालाई जोड्न काम गर्ने बताए ।

‘हामीले गत पोलिटब्युरो बैठकबाट एउटा प्रस्ताव पारित गरेका थियौँ । हामी वाम एकताको लागि विभिन्न ढंगले पहल गर्ने र त्यसको अगुवाइ हाम्रो पार्टीले शुरुवात गर्ने भनेर निर्णय गरेका थियौँ । यसै विषयमा व्यापक छलफल गरेका छौँ । विगतमा हामीले बनाएको एउटा कमिटी थियो, जसले ४/५ वटा पार्टीलाई हाम्रो पार्टीमा समावेश गरेको थियो । एकीकृत भएका थियौँ । त्यसलाई सँगै पूरा गर्ने जिम्मेवारी पूरा गर्न कमरेड महासचिव वेदुराम भुसाल नेतृत्वको गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल ४ सदस्यीय वाम एकता सम्बन्धी कार्यदल गठन गरेका छौँ । यो कार्यदलले वामपन्थीहरुसँग छलफल गरी निस्कर्ष निकाल्नेछ’उनले भने ।

उपमहासचिव खतिवडाले वर्तमान सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्नेबारेमा औपचारिक प्रस्तावनै सरकारमा सहभागी पार्टीहरुले नगरेको बताए ।


क्लिकमान्डु