कानूनको धज्जी उडाउँदै जलविद्युत कम्पनी, नगद जरिवाना गराउन विनियमावली संशोधन गर्दै नेप्से



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत जलविद्युत कम्पनीले दिनु पर्ने अनिवार्य सूचना नदिँदा पनि नियामक निकायहरु भने बेखबर बनेका छन् ।

धितोपत्र सूचीकरण विनियमावली–२०७५ ले उल्लेख गरेका विवरण अधिकांश जलविद्युत कम्पनीले नेप्सेलाई उपलब्ध गराएका छैनन् । तै पनि धितोपत्र बोर्ड, नेप्से भने यसमा मौन बसेका छन् ।

नेप्सेमा ६२ वटा जलविद्युत कम्पनी सूचीकृत रहेका छन् । ६२ वटा कम्पनीमा ४३ वटा कम्पनीले नेप्सेको वेवसाइटमा राख्नुपर्ने सञ्चालक समितिको विवरण पूर्ण रुपमा राखेका छैनन् भने १० वटा कम्पनीले सञ्चालक समितिमा को–को छन् भनेर सू्चना उपलब्ध गराएका छैनन् । ८ वटा कम्पनीले भने सञ्चालक समितिको पूर्ण विवरण नेप्सेको साइटमा राखेका छन् ।

नेप्सेमा अपुरो सूचना दिने ४३ वटा कम्पनीमा केहीले अध्यक्ष, निर्देशक, प्रबन्ध निर्देशक, प्रमुख कार्यकारी अधिकृत (सीईओ) को मात्रै नाम अद्यावधिक गरेका छन् ।

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले हरेक सूचीकृत संस्थाले नेप्सेको साइटमा उल्लेख भएका सबै शीर्षकको सूचना दिनु कम्पनीको दायित्व भएको बताए । कम्पनीले आफ्नो विवरण नेप्सेको साइटमा राख्ने र त्यसलाई नेप्सेले एप्रुभ गर्ने गरेको उनले बताए ।

कुनै सूचना गलत भएको खण्डमा कम्पनीले सच्याउन सक्ने पराजुलीको भनाइ छ । कुनै कम्पनीले दिनु पर्ने सूचना नदिएको खण्डमा नेप्सेले कारबाही गर्न सक्ने उनले बताए ।

‘नेप्सेले सबै सूचीकृत कम्पनीले पूरै सूचना उपलब्ध गराउनु भनेर पटक पटक पत्राचार गरेको छ’ उनले भने, ‘कुनै कम्पनीले दिनुपर्ने सूचना नदिएको खण्डमा नेप्सेले कारबाही स्वरुप कारोबार रोक्का समेत गर्न सक्नेछ ।’

कारोबार रोक्का गर्दा लगानीकर्ता मर्कामा पर्ने भएपछि कारोबार रोक्का गर्नुभन्दा कानून कार्यान्वयन नगर्ने कम्पनीलाई नगद जरिवाना गराउने तयारीमा नेप्से लागेको छ ।

‘धितोपत्र सूचीकरण विनियमावली–२०७५ संशोधनको क्रममा रहेको छ’ उनले भने ‘अब संशोधन गर्दा सेयर कारोबार रोक्का गरेर लगानीकर्तालाई अप्ठ्यारो पार्नुभन्दा कम्पनीलाई नगद जरिवाना गराउने तयारीका साथ काम भइरहेको छ ।’

कारोबार रोक्का गर्दा निर्दोश लगानीकर्तालाई मर्का पर्ने भएकाले कम्पनीको गल्तीमा नगद जरिवाना गराउने गरी विनियमावली संशोधन भइरहेको प्रवक्ता पराजुलीको भनाइ छ ।

नियामक निकायले गरेको बेवास्ताका कारण जलविद्युत कम्पनीमा एकै व्यक्ति कुनै कम्पनीमा कार्यकारी अध्यक्ष र सोही व्यक्ति अर्को कम्पनीमा सम्पर्क व्यक्ति बनेर बसेका छन् ।

यस्तै एकै व्यक्ति विभिन्न कम्पनीमा सम्पर्क व्यक्ति रहेका छन् । कतिपय कम्पनीले प्रमोटरको स्वामित्व १०० प्रतिशत र पब्लिकको कुनै पनि स्वामित्व नभएको सूचना समेत नेप्सेलाई पठाएको छ । नेप्सेले त्यही सूचनालाई स्वीकृत गरेर आफ्नो वेवसाइटमा राखेको छ ।

त्यति मात्रै नभएर नेप्सेको वेवसाइटमा धितोपत्र बोर्डले १० वर्ष कुनै पनि सूचीकृत संगठित संस्थाको सञ्चालक हुन नपाउने, २५ देखि ७५ हजार रुपैयाँसम्म नगद जरिवाना हुने गरी कारबाही गरेको व्यक्तिलाई पनि अध्यक्ष, कार्यकारी अध्यक्ष, सम्पर्क व्यक्ति भनेर राखिएको छ ।

नेप्सेको वेब साइटमा धितोपत्र बोर्डले कारबाही गरेका नेपाल हाइड्रो डेभलपर्सका तत्कालीन अध्यक्ष ज्ञानेन्द्रलाल प्रधान र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपाने समेत रहेका छन् । प्रधानलाई अझै पनि नेपाल हाइड्रो डेभलपर्सको अध्यक्ष भनिएको छ । प्रधानले आफूसँग भएको सेयर परिवारका सदस्यको नाममा नामसारी गरेर बिक्री गरेर २०७८ भदौ १३ गते कम्पनीको अध्यक्ष तथा सञ्चालकबाट राजीनामा दिइसकेका छन् ।

नेप्सेको वेवसाइटमा गलत तथ्य राखिएको भए पनि नेपाल हाइड्रो डेभलोपर्सको आधिकारीक वेवसाइटमा भने अध्यक्षमा कुमुदकुमार दुगर रहेका छन् ।

नेप्सेकाअनुसार बोर्डका कारबाहीमा परेका जलविद्युत विज्ञ ज्ञानेन्द्रलाल प्रधान नेपाल हाइड्रो डेभलपर्सका अध्यक्ष रहेका छ्न् भने निर्देशकमा कुमुद कुमार दुगर, पुजा अटल र पशुपति मुरारका रहेका छन् ।

न्यौपाने विभिन्न कम्पनीमा कार्यकारी अध्यक्ष र केहीमा सम्पर्क व्यक्तिको रुपमा रहेका छन् । यस्ता विषयमा नेप्सेले कुनै ध्यान दिएको छैन भने कम्पनीले पनि गलत सूचना सेयर लगानीकर्तालाई दिइनै रहेको छ ।

अपुरो सूचना दिने ४३ कम्पनी
नेप्सेमा सूचीकृत ६२ वटा जलविद्युत कम्पनीमध्ये ४३ वटा कम्पनीले सेयरधनीलाई अपुरो सूचना दिएका छन् । त्यसरी अपुरो सूचना दिने कम्पनीहरुले केहीले अध्यक्ष, केहीले कार्यकारी अध्यक्ष, केहीले सीईओ, केहीले निर्देशकको मात्रै नाम राखेका छन् । सञ्चालक समितिको पूर्ण विवरण यी कम्पनीहरुले राखेका छैनन् ।

सञ्चालक समितिको बारेमा जानकारी दिनुपर्नेमा पिपुल्स हाइड्रोपावर कम्पनीको प्रबन्ध निर्देशक केशव बहादुर रायमाझीको मात्रै नाम राखेको छ । यस्तै इस्टर्न हाइड्रोपावरले अध्यक्ष धन बहादुर श्रेष्ठ, सिकलेश हाइड्रोपावरले प्रबन्ध निर्देशक रोशन केसी, पिपुल्स पावर कम्पनीले अध्यक्ष भरत बहादुर खत्री, सयपत्री हाइड्रो पावर कम्पनीले निर्देशक गोपालप्रसाद निउरेको मात्रै नाम राखेको छ ।

यस्तै राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सनले निर्देशक कुलबिक्रम शाह, अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले सीईओ दीजे श्रेष्ठ, मन्दाकिनी हाइड्रोपावरले प्रबन्ध निर्देशक देव बहादुर गुरुङ, श्वेत गंगा हाइड्रोपावर एण्ड कन्ट्रक्सनले कार्यकारी निर्देशक सुवर्ण दास श्रेष्ठ, अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीले प्रबन्ध निर्देशक देवराज खड्काको मात्रै नाम राखेको छ ।

नेप्सेका अनुसार हिमालयन हाइड्रोपावर कम्पनीले अध्यक्ष खोमबहादुर केसी, बिन्ध्यवासीनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले अध्यक्ष सिता आचार्य, दोर्दी खोला जलविद्युत कम्पनीले अध्यक्ष दिपेन्द्र लाल कर्ण, रिभर फल्स पावर कम्पनीले अध्यक्ष सुभाष अमात्य, बलेफी हाइड्रोपावर कम्पनीले अध्यक्ष उमेश कसजु, ग्रिन भेन्चर्स लिमिटेडले अध्यक्ष सुवाशचन्द्र संघाई, बुद्धभूमि नेपाल हाइड्रोपावरले अध्यक्ष पूर्णलाल श्रेष्ठको मात्रै नाम राखेको छ ।

मध्य भोटेकोशी जलविद्युत कम्पनीले अध्यक्ष हरराज न्यौपाने, न्यादी हाइड्रोपावर कम्पनीले सीईओ उत्तम अमात्य, सामलिंग पावर कम्पनीले अध्यक्ष मोहनदास मानन्धर, तेह्रथुम पावर कम्पनीले प्रबन्ध निर्देशक मोहनकुमारी डाङ्गी, साहस उर्जा कम्पनीले नेप्सेको साइटमा अध्यक्ष हिम प्रसाद पाठकको नाम मात्रै राखेको छ ।

यस्तै मैलुङ खोला जलविद्युत कम्पनीले अध्यक्ष विरेन्द्रप्रसाद महतो, रु रु जलविद्युत परियोजनाले अध्यक्ष आशिष सुवेदी, सिंगटी हाइड्रो इनर्जीले कार्यकारी निर्देशक गणेश कार्की, ग्रिनलाइफ हाइड्रोपावरले अध्यक्ष यानछिन डोमा लामा, युनाइटेड आईडीआई मर्दी हाइड्रोपावरले प्रबन्ध निर्देशक रोशन केसी, माउन्टेन इनर्जीले निर्देशक डोलराज शर्माको मात्रै नाम राखेको छ।

नेप्सेका अनुसार शिव श्री हाइड्रोले अध्यक्ष बच्चु पौडेल, लिबर्टी इनर्जीले प्रबन्ध निर्देशक आत्मराम घिमिरे, हिमाल दोलखा हाइड्रोपावरले अध्यक्ष निरा श्रेष्ठ, सान्जेन जलविद्युत कम्पनीले अध्यक्ष मनोज सिवलाव, रसुवागढी हाइड्रोपावर कम्पनीले सीईओ छविलाल गैरे, युनियन हाइड्रोपावरले अध्यक्ष किरण मल्ल, हिमालयन उर्जा विकास कम्पनीले कार्यकारी अध्यक्ष हरी प्रसाद पाण्डे, पाँचथर पावर कम्पनीले प्रबन्ध निर्देशक पुष्प ज्योती ढुंगानाको मात्रै राखेको छ ।

यता माउन्टेन हाइड्रोले कार्यकारी निर्देशक सतिश तिमल्सीना, युनिभर्सल पावर कम्पनीले प्रबन्ध निर्देशक विजय कुमार भण्डारी, अप्पर तामोकोशी हाइड्रोपावरले सीईओ विज्ञानप्रसाद श्रेष्ठको मात्रै नाम राखेको छ । नेप्सेको साइटमा श्रेष्ठलाई सीईओ भने पनि कम्पनीको वेवसाइटमा भने निमित्त प्रमुख कार्यकारी अधिकृत भनेर दिनेशजंग राणाको नाम रहेको छ । यहाँ पनि कम्पनीले नेप्सेलाई गलत सूचना दिइरहेको छ ।

यस्तै जोशी हाइड्रोपावरले अध्यक्ष विरेन्द्रबाबु न्यौपाने, आँखु खोला जलविद्युत कम्पनीले अध्यक्ष राम श्रेष्ठ, सिनर्जी पावर डेभलपमेन्टले प्रबन्ध निर्देशक सुरेन्द्र बहादुर खड्का, अपी पावर कम्पनीले प्रबन्ध निर्देशक संजिव न्यौपानेको मात्रै नाम उल्लेख गरेको छ ।

यी कम्पनीले देखाए इमान्दारिता
नेप्सेका सूचीकृत रहेका कम्पनीमा केही कम्पनीले वास्तविक सूचना उपलब्ध गराएका छन् । जसमा घलेम्दी हाइड्रो लिमिटेडले वास्ताविक सूचना नेप्सेको वेवसाइटमा राखेको छ । कम्पनीका अनुसार अध्यक्ष किशोर सुवेदीका साथै ७ जना निर्देशक रकेका छन् । जसमा नारायण बाबु अधिकारी, उत्तम प्रसाद वैद्य, टंक प्रसाद बरुवाल, मनिस प्रधान, राजु कुमार शर्मा, प्रमोद श्रेष्ठ र शरद राज श्रेष्ठ रहेका छन् ।

धेरै कम्पनीले सञ्चालक समितिको बारेमा नेप्सेलाई जानकारी नगराउँदा केही कम्पनीले मात्रै पूर्ण रुपमा जानकारी गराएका छन् । त्यसरी जानकारी गराउनेमा हिमालयन पावर पार्टनर पनि रहेको छ । कम्पनीको अध्यक्षमा जिवनाथ लामिछाने रहेका छन् भने निर्देशकमा चन्द्र प्रसाद ढकाल, महेश कुमार श्रेष्ठ, अम्बिका प्रसाद पौडेल, नारायण बाबु लोहनी र हेमन्त कुमार दवाडी रहेका छन् । यस्तै कार्यकारी निर्देशकमा गुरु प्रसाद ढकाल रहेका छन् ।

छ्याङदी हाइड्रोले पनि सञ्चालकको बारेमा जानकारी नेप्सेलाई इमान्दारिताका सूचना दिएको छ । कम्पनीले नेप्सेलाई गराएको जानकारी अनुसार अध्यक्षमा रामेश्वर थापा रहेका छन् भने निर्देशकमा अमर नाथ श्रेष्ठ, उदय कुमार पिया, प्रवल शर्मा, टिना राजभण्डारी र कुशन राजभण्डारी रहेका छन् ।

युनाइटेड मोदी हाइड्रोपावरका अनुसार कम्पनीको अध्यक्षमा नरेन्द्र बल्लभ पन्त रहेका छन् भने प्रबन्ध निर्देशकमा सुधिर प्रसाद तिमिल्सिना तथा निर्देशकमा रेनुका पाण्डे, मुकुन्द प्रसाद तिमिल्सिना सुनिल भक्त श्रेष्ठ, आशिष थापा र रोमन दंगाल रहेका छन् ।

बरुण हाइड्रोपावर कम्पनीले भने सबै जानकारी नेप्सेको साइटमा राखेको छ । जसमा अध्यक्ष शैलेन्द्र गुरागाई रहेका छन् भने निर्देशकमा टंक प्रसाद रेग्मी, बासुदेव गिरी, अर्जुन प्रसाद गौतम, कृष्ण लाल श्रेष्ठ, डा. भोगेन्द्र गुरागाई र डेडाराज खड्का रहेका छन् ।

सानिमा माई हाइड्रोपावर कम्पनीको अध्यक्षमा टेकराज निरौला रहेका छन् भने निर्देशकहरुमा महेश घिमिरे, टुक प्रसाद पौडेल, भरत कुमार पोखरेल, खेम राज लामिछाने, शिमरन कुमारी बिमसरिया र हित मान गुरुङ रहेका छन् ।

यस्तै अरुण काबेलीको अध्यक्षमा भेज प्रसाद तिमिल्सिना रहेका छन् भने धितोपत्र बोर्डले कारबाही गरेका गुरु प्रसाद न्यौपाने कार्यकारी अध्यक्ष रहेका छन् । यस्तै निर्देशकमा जिवन राज शाक्य, बच्चराज टाटर, नोल कुमार आचार्य, मिलन खड्का र इन्द्रमणी त्रिताल रहेका छन् । सम्पर्क व्यक्ति हरि प्रसाद सुवेदी रहेका छन् ।

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको कार्यकारी अध्यक्षमा रमेश प्रसाद न्यौपाने रहेका छन् भने निर्देशकमा जिवन राज शाक्य, विवेक टेटर, मिलन खड्का र प्रजिता बास्तोला रहेका छ्न ।

१० कम्पनीको सञ्चालक समितिमा को–को छन् ?
नेप्सेमा सूचीकृत ६२ वटा जलविद्युत कम्पनी मध्ये १० वटा कम्पनीले सञ्चालक समितिको बारेमा केही पनि सूचना दिएका छैनन्।

नेप्सेको वेवसाइटमा केही पनि सूचना नदिने कम्पनीमध्ये रहेको कालिका पावर कम्पनीले सम्पर्क व्यक्ति भनेर किशोस कुमार डंगोलको नाम मात्रै राखेको छ । कम्पनीले प्रमोटरको १०० प्रतिशत सेयर स्वामित्व रहेको र सर्वसाधारणको कुनै पनि स्वामित्व नभएको नेप्सेको साइटमा उल्लेख छ ।

पञ्चकन्या माई हाइड्रोपावरले पनि सञ्चालक समितिको बारेमा जानकारी गराएको छैन । सम्पर्क व्यक्तिमा भने प्रकाश बिष्टको नाम राखेको छ । यस्तै राधी विद्युत कम्पनीले सञ्चालक समितिमा केही पनि राखेको छैन । सम्पर्क व्यक्ति भनेर बिनय कुमार भण्डारीको नाम मात्रै राखेको छ ।

दिव्यश्वरी हाइड्रोपावर कम्पनीले सञ्चालक समितिको बारेमा केही जानकारी गराएको छैन । तर सम्पर्क व्यक्ति भनेर हरिप्रसाद सुवेदी राखेको छ । खानीखोला हाइड्रोपावर कम्पनीले पनि सूचनामा केही राखेको छैन भने ङादी ग्रुप पावरले पनि सञ्चालक समितिमा कुनै सूचना उपलब्ध गराएको छैन ।

रिडी पावर कम्पनीले सञ्चालक समितिमा नाम खाली राखेको भएपनि सम्पर्क व्यक्तिमा गुरु प्रसाद न्यौपानेलाई राखेको छ । यता चिलिमे हाइड्रोपावर कम्पनीले सम्पर्क व्यक्ति राम पासवान भएको जनाएको छ भने कम्पनीले सम्पर्क नम्बर १२३४५६७ राखेको छ । बुटवल पावर कम्पनीले पनि सम्पर्क व्यक्तिमा राम पासवानलाई नै राखेको छ ।

यस्तै नेशनल हाइड्रो पावर कम्पनीले पनि सम्पर्क व्यक्तिमा राम पासवान नै नाम राखेको छ । कम्पनीको फोन नम्बर १२३४५६ रहेको छ ।

धितोपत्र बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले यो विषयमा नेप्सेसँग जानकारी लिने बताए । सूचीकृत कम्पनीले दिनु पर्ने सूचना नदिएको रहेछ भने बोर्डको सुपरिवेक्षण विभागले पनि अनुसन्धान गर्ने प्रवक्ता श्रेष्ठको भनाइ छ ।


सोभित थपलिया