४ सय प्रतिशतले बढ्यो निर्जीवन लघुबीमा व्यवसाय



काठमाडौं । लघु निर्जीवन बीमाको व्यवसाय बढ्दै गएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार निर्जीवन बीमा व्यवसायमा लघुबीमाको हिस्सा बढेको हो ।

तथ्यांकअनुसार निर्जीवन बीमा कम्पनीहरुमा लघुबीमालेखको संख्या समेत बढ्दै गएको छ । कम्पनीहरुमा साउन महिनाको तुलनामा मंसिर महिनासम्ममा ३९६.२६ प्रतिशतले लघुबीमा व्यवसाय बढेको हो ।

कम्पनीहरुले साउन महिनाको अवधिमा ६३ लाख ३ हजार रुपैयाँको लघुबीमा व्यवसाय गरेका थिए । जुन कुल निर्जीवन बीमा व्यवसायको ०.१४ प्रतिशत हुन आउथ्यो । उक्त अवधिमा कम्पनीहरुमा लघुबीमाका २ हजार ९०९ वटा बीमालेख जारी भएका थिए ।

कम्पनीहरुले मंसिरसम्ममा ३ करोड १२ लाख ७९ हजार रुपैयाँको व्यवसाय गरेका छन् । जुन कुल निर्जीवन बीमा व्यवसायको ०.२० प्रतिशत हुन आउँछ । कम्पनीहरुले लघुबीमाका १५ हजार ८५ वटा बीमालेख जारी गरी उक्त रकम संकलन गरेका हुन् ।

कुन प्रदेशबाट कति व्यवसाय ?

तथ्यांकअनुसार कम्पनीहरुले बागमती प्रदेशबाट धेरै बीमाशुल्क संकलन गरेका छन् । मंसिरसम्ममा कम्पनीहरुले यस प्रदेशबाट ९२ लाख ८३ हजार रुपैयाँको लघुबीमा व्यवसाय गरेका हुन् । यस प्रदेशमा लघु निर्जीवन बीमाका कुल ४ हजार २७६ वटा बीमालेख जारी भएका छन् ।

बागमती प्रदेशपछि निर्जीवन लघुबीमा व्यवसायमा गण्डकी प्रदेशको योगदान धेरै छ । यस प्रदेशबाट कम्पनीहरुले ९२ लाख ६४ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । गण्डकी प्रदेशमा लघुबीमाका ३ हजार ७५५ वटा बीमालेख जारी भएको प्राधिकरणले जनाएको छ ।

बागमती र गण्डकी प्रदेशपछि प्रदेश नम्बर एकबाट कम्पनीहरुले लघुबीमाका २ हजार २६ वटा बीमालेख जारी गरी ५१ लाख ६८ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

प्रदेश नम्बर एकपद्धि लघुनिर्जीवन बीमा व्यवसायमा लुम्बिनी प्रदेशको योगदान अन्य प्रदेशको तुलनामा धेरै छ । यस प्रदेशमा लघुबीमाका ४३२ वटा बीमालेख जारी भएका छन् । उक्त संख्याका बीमालेख जारी गरी कम्पनीहरुले ४३ लाख ९२ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

यस्तै, कम्पनीहरुले सुदुरपश्चिम प्रदेशबाट २० लाख ३० हजार रुपैयाँ, कर्णाली प्रदेशबाट ७ लाख ३८ हजार रुपैयाँ र मद्येश प्रदेशबाट ४ लाख ४ हजार रुपैयाँको लघुबीमा व्यवसाय गरेका छन् ।

सुदरपश्चिम प्रदेशमा लघु निर्जीवन बीमाका ८७१ वटा, कर्णाली प्रदेशमा ४३२ वटा र मद्येश प्रदेशमा २२१ वटा बीमालेख जारी भएका छन् ।

बीमा प्राधिकरण(साविकको बीमा समिति)ले लघुबीमा निर्देशिका, २०७६ लाई संशोधन गर्दै ५ लाख रुपैयाँसम्मको लघुबीमा पोलिसी बिक्री गर्न पाउने व्यवस्था गरेको छ ।

न्यून आय भएका व्यक्तिहरुलाई लक्षित गरी ल्याईएको बीमा कार्यक्रम नै लघुबीमा हो । लघुबीमा कार्यक्रमलाई प्रभावकारी बनाउन नियामक निकायले यस सम्बन्धी निर्देशिका जारी गरेको छ ।

प्राधिकरणले गरेको नयाँ व्यवस्थाअनुसार ३ लाख रुपैयाँसम्मको जीवन लघुबीमा(सावधिक, म्यादी, अन्य) गर्न सकिन्छ ।

यस्तै, लघु निर्जीवन बीमा व्यवसाय अन्र्तगत निर्जीवन बीमा कम्पनीहरुले सम्पत्ति लघुबीमा, घर लघुबीमा, दुर्घटना लघुबीमा, स्वास्थ्य लघुबीमा, घातक रोग लघुबीमा, कृषि लघुबीमा र समितिले तोकिए बोजिमको अन्य लघु निर्जीवन बीमाको व्यवसाय गर्न पाउने व्यवस्था छ ।


क्लिकमान्डु