२ सय बिलियन गुमाउने पहिलो अर्बपति बने मस्क



काठमाडौं । ‘ब्लूमबर्ग बिलियनिर इन्डेक्स’काअनुसार ट्विटर र टेस्लाका मालिक एलन मस्क २ सय बिलियन अमेरिकी डलर गुमाउने संसारकै पहिलो अर्बपति बनेका छन् ।

उनले आफ्नो नेटवर्थमा अहिले भारी गिरावट भोगिरहेका छन् । १३ महिनाको अन्तरालमा २ सय बिलियन अमेरिकी डलर गुमाएका मस्कको यो घाटा इतिहासकै सबैभन्दा ठूलो नोक्सानी रहेको छ ।

सन् २०२१ को जनवरीमा उनको व्यक्तिगत नेटवर्थ २ सय बिलियन अमेरिकी डलरभन्दा बढेको थियो । तब उनले अमेजोनका मालिक जेफ बेजोसलाई पनि पछि पारेका थिए । त्यसपछि भने उनको नेटवर्थ बढेर ३ सय बिलियन अमेरिकी डलरसम्म पुगेको थियो ।

तर, अघिल्लो वर्ष मस्कका लागि फाइदाजनक भएन । जसकारण उनले २०२१ यताको अन्तरालमा नै २ सय बिलियन अमेरिकी डलर गुमाएका छन् ।

टेस्लाको सेयरमा हाल आएको गिरावटका कारण मस्कको कुल नेटवर्थ १३७ बिलियन अमेरिकी डलरमा झरेको छ । गत डिसेम्बर २७ मा टेस्लाको सेयर ११ प्रतिशतसम्मको गिरावट आएको थियो । आफ्ना लोकप्रिय मोडलहरुमा टेस्लाले अमेरिकी ग्राहकका लागि भन्दै दिएको ७ हजार ५ सय अमेरिकी डलरको छुट र कम्पनीको संघाई, चीनमा रहेको कारखानामा उत्पादनमा भएको कमीका बीच कम्पनीमा अहिले नोक्सान भइरहेको छ ।

२०२१ को नोमेम्बरमा मस्कको नेटवर्थ ३४० बिलियन अमेरिकी डलरसम्म पुगेको थियो । त्यसपछि मस्क एक वर्षसम्म संसारकै सबैभन्दा धनि व्यक्ति पनि बनेका थिए ।

कुनै बेला आफ्नो नेटवर्थ नै कुनै देशको अर्थतन्त्र बराबर बनाएका मस्कको अहिलेको नेटवर्थ १४० बिलियन अमेरिकी डलरको हाराहारीमा छ । हालसम्म सबैभन्दा धेरै ३४० बिलियन अमेरिकी डलर नेटवर्थ रहँदा यो रकम ग्रिसको अर्थतन्त्र बराबर भएको थियो ।

तर, पछिल्लो समयमा उनको सम्पत्तिको मूल्यमा कमी आइरहँदा यो स्थान पनि ‘एलभिएमएच’का संस्थापक बर्नार्ड अरनाल्टले ओगटेका छन् ।


क्लिकमान्डु