मेडिकल पसलको रुपमा खुलेको ‘पेप्सीको’ कसरी बन्यो विश्वकै दोस्रो ठूलो खाद्यान्न तथा पेय पदार्थ कम्पनी ?



एजेन्सी । पेप्सीको अर्थात विश्वकै दोस्रो ठूलो खाद्यान्न तथा पेय पदार्थको कम्पनी । यो कम्पनी पेप्सीदेखि ट्रोपिकाना, लेजदेखि कुरकुरेजस्ता ब्राण्डहरुको मालिक रहेको छ ।

हाल पेप्सीको संसारभरका २ सयभन्दा धेरै देशमा उपलब्ध छ । यससँगै दैनिक रुपमा पेप्सीको कम्पनीका दैनिक करिब एक अर्बभन्दा धेरै उत्पादनहरु बजारमा बिक्ने गरेका छन् ।

अहिले पेप्सीको कम्पनी आफ्नो एक्वाफिना ब्राण्डका कारण चर्चाम छ । ट्रोपिकाना र स्लाइसपछि कम्पनीले अहिले एक्वाफिनाका लागि पनि बलिउड अभिनेत्री कटरिना कैफलाई ब्राण्ड एम्बेस्डर बनाएको छ ।

तर, अहिले यति ठूलो साम्राज्य बनेको पेप्सीको कम्पनीको सुरुवात यो क्षेत्रसँग सम्बन्धित नै थिएन । मेडिकल स्टुडेन्टले सुरु गरेको कम्पनी कसरी विश्वकै शीर्ष कम्पनीहरुमा पर्यो त ?

वर्ष १८६७ । अमेरिकाका एक युवक चिकित्सक बन्ने सपना लिएर हिँडेका थिए । तर, मेडिकल शिक्षाको पढाइको क्रममा जब आर्थिक संकट आइपर्यो, तब उसको चिकित्सक बन्ने सपना पनि उबाट पर पर सर्दै गयो । त्यसपछि उसले अमेरिकाको पोलाक स्ट्रिटमा एउटा मेडिकल पसल खोलेको थियो । आफ्नो पसलमा ग्राहकहरुलाई आकर्षण गर्नका लागि उसले सोडा फाउन्टेन लगाएको थियो, जसमा कोका कोलाजस्तै स्वादको एउटा डाइजेस्टिभ सफ्ट ड्रिंक राखिएको थियो ।

डाक्टर बन्ने सपना देखेको युवकको नाम थियो, केलेव ब्राड्हम । मेडिकल पसलअघिल्तिर राखिएको पेय पदार्थको स्वाद धेरैलाई मन पर्यो । जसकारण ग्राहकहरुले यो पेय पदार्थको नाम राखिदिए, ब्राड्हम ड्रिक । पछि गएर यहि पेय पदार्थको नाम ब्राड्हमले नै पेप्सी–कोला राखे ।

ग्राहकलाई ब्राड्हमले बनाएको पेय पदार्थको स्वाद त मन परेको थियो । उनीहरुले यसलाई रुचाएका पनि थिए । तर, पनि ब्राड्हमका लागि पेप्सीको यो साम्राज्य खडा गर्नु सहज थिएन ।

१७ वर्षसम्म पेप्सीको गति सुस्त थियो । ग्राहकहरुमा विश्वास त जितेको थियो, तर यसको आकार बृहत भइसकेको थिएन् । तर, पहिलो विश्व युद्धले यो कम्पनीको यात्रामा ब्रेक लगाइदियो । ब्राड्हमसँग कुनै विकल्प नभएपछि उनी पेप्सी–कोलाको व्यापार छाडेर पुनः आफ्नो मेडिकल पसलतर्फ लागे ।

त्यसपछि आयो १९२३ । यो साल लाफ्ट क्यान्डी नामक कम्पनीले पेप्सी–कोला कम्पनीलाई खरिद गर्यो । त्यो बेला कोका कोलासँग प्रतिस्पर्धा गर्न सहज थिएन ।

तर, कोकाकोलालाई टक्कर दिनकै लागि भन्दै पेप्सी–कोलाका सीईओ डन केन्डल र अर्को एक कम्पनी फ्रीटो लेका सीईओ हर्मन लेले एकअर्कासँग एउटा सम्झौता गरे । सम्झौताअनुसार दुवै कम्पनी मर्ज भयो ।

रोचक कुरा त, दुवैले कम्पनीलाई मर्ज गर्ने निर्णय र सम्झौता एक नेपकिन पेपरमा हस्ताक्षर गरेर गरिएको थियो ।

१९६५ मा दुवै कम्पनी मर्ज भएपछि अहिलेको कम्पनी ‘पेप्सीको’को जन्म भएको थियो, जुन कम्पनी अहिले विश्वकै दोस्रो ठूलो खाद्यान्न तथा पेय पदार्थको कम्पनी रहेको छ ।

पेप्सीकोलाई कोकाकोलाको प्रतिस्पर्धिको रुपमा दशकौंदेखि लिइरहेको छ । सन् १९७३ मा भारतमा भएको घट्नाले पनि कोकाकोला र पेप्सीकोबीचको यो द्वन्द्व थप बृहत भएको थियो ।

भारतको विदेशी मुद्रा अधिनियमले सन् १९७३ मा भारतमा सञ्चालनमा रहने विदेशी कम्पनीहरुले कम्पनीमा ४० प्रतिशत मात्रै हक राख्न पाउने नियम ल्याएको थियो । यो नियमका कारण १९७७ मा कोकाकोलाले भारतमा बिक्रीवितरण रोकेको थियो ।
यसअघि पनि पेप्सीको भारतमा छन त थियो । तर, सुस्त गतिमा मात्रै यसको बजार फैलिरहेको थियो । उक्त सुस्तताका कारण १९६२ मा पेप्सीकोले भारतीय बजार छोडेको पनि थियो ।

तर, जब कोकाकोला भारतको बजारबाट पछि हट्यो, तब पेप्सीको कम्पनीले आफ्नो फाइदा देख्यो ।

१९८० सम्म औसतमा एक भारतीयले हरेक वर्ष तीन बोतल सफ्ट ड्रिक पिउने गर्थे । यो तथ्यांक पाकिस्तान र अमेरिकाजस्ता देशभन्दा निकै कम थियो ।

पास्कितानमा प्रति व्यक्ति वर्षेनी १३ र अमेरिकामा ५५० बोतलको तथ्यांक थियो । निराशाजनक तथ्यांककाबीच पनि पेप्सीकोले भारतमा प्रवेश गर्यो । १९८९ मा भारतमा प्रवेश गरेको पेप्सीकोको बजार बृहत रुपमा वृद्धि भयो । जसकारण पेप्सीकोले कोकाकोला बाहिरिएपछिको खाली ठाउँ मात्रै ओगटेन्, भारतमा आफ्नो बजारलाई बृहत रुपमा विस्तार पनि गर्यो ।

हालसफ्ट ड्रिकको सबैभन्दा ठूलो बजार अर्जेन्टिनामा छ । वल्र्ड एटलसको रिपोर्टकाअनुसार दैनिक रुपमा १५५ लिटर सफ्ट ड्रिक अर्जेन्टिनाले एक्लै खपत गर्ने गरेको छ ।

पेप्सीकोले सुरुवातबाट नै विभिन्न उपायहरु अपनाउँदै कोकाकोलाभन्दा अघि जान खोजिरहेको छ । जसकारण अर्जेन्टिनामा कम्पनीले आफ्नो उत्पादनको बिक्री सुरु गर्नुभन्दा अघि एउटा सर्वेक्षण गरेको थियो । उक्त सर्वेक्षणमा अर्जेन्टिनाका २४.३ प्रतिशत मानिसहरुले ‘पेप्सी’ शब्दको उच्चारण ‘पेक्सी’ गर्ने गरेको पाइएको थियो । यसपछि कम्पनीले अजेन्टिनाका मानिसहरुसँग जोडिनकै लागि आफ्नो उत्पादनलाई ‘पेप्सी’ नभएर ‘पेक्सी’ नामबाट बिक्री गर्ने निर्णय गरेको थियो ।

पेप्सीको र कोकाकोला, कार्बोनेट सफ्ट ड्रिक र पेय पदार्थको उद्योगहरुमध्येका दुई ठूला कम्पनीहरु हुन् । दुवै कम्पनी विश्वव्यापी रुपमा सशस्क छन् । यी दुवै उद्योगका विभिन्न तथ्यांककाअनुसार २००४ यता कोकाकोलाले यो बजारलाई नेतृत्व गरिरहेको छ । पेप्सीको भने दोस्रो स्थानमा छ । आर्थिक वर्ष २०२२ को पहिलो त्रैमासिकमा पेप्सीकोको पेय पदार्थ पेप्सीको बजार १८ लाख करोड रुपैयाँको थियो भने कोकाकोलाको बजार २२ लाख करोड रुपैयाँको रहेको छ ।

तर, २०२१ मा आफ्ना खाद्यान्नको कारणले पेप्सीकोले आम्दानीको तुलनामा कोकाकोलालाई पछि पारेको थियो । २०२१ मा पेप्सीकोको विश्वव्यापी आम्दानी ६ करोड रुपैयाँ थियो भने कोकाकोलाको आम्दानी ३ लाख करोड रुपैयाँ रहेको थियो ।

पेप्सीको कम्पनी विश्व बजारमा करोडौंको कारोबार गर्ने सफल कम्पनी मात्रै नभएर सीईओ बनाउने सफल कम्पनी पनि हो । पेप्सीकोमा काम गरेका पूर्व कर्मचारीहरु विश्वका विभिन्न ठूला कम्पनीहरुका सीईओ रहेका छन् ।

यो वर्ष जब सेप्टेम्बरमा लक्ष्मण नरसिम्हन स्टारबक्सको आगामी सीईओ बन्ने घोषणा भएको थियो, त्यो सँगै उनी एउटा क्लबमा सामिल भए । यो क्लबमा अमेरिकाका केही ठूला र प्रसिद्ध कम्पनीका अधिकारीहरु सामेल रहेका छन्, जसमा म्याकडोनल्ड्सका क्रिस केम्प्जिन्स्कीदेखि वीजाका अल केली जुनियरसम्म रहेका छन् । यी सबैमा एउटा कुरा समान रहेको छ । त्यो हो, पेप्सीको । उनीहरु सबै जना पेप्सीकोका पूर्व कर्मचारीहरु हुन् ।

१९६५ मा जब पेप्सी–कोला कम्पनी फ्रिटो–लेसँग मर्ज भएको थियो, तब कम्पनीले एउटा नीति लिएको थियो जुन अहिलेसम्म पनि यथावत रुपमा रहेको छ । यो नीतिकाअनुसार राम्रो काम गर्ने व्यक्तिलाई निरन्तर प्रोमोसन गरिन्छ । यहि कारण पेप्सीकोका धेरै जसो पूर्व कर्मचारीहरु जब नयाँ कम्पनीमा जान्छन्, तब उनीहरुलाई ठूलो पदमा नियुक्ति मिल्ने गरेको छ ।

हाल विश्वभरका ठूला ५ सय कम्पनीका सीईओहरुलाई नियाल्ने हो भने १६ जना पेप्सीकोमा काम गरेका पूर्व कर्मचारीहरु रहेका छन् ।


क्लिकमान्डु