काठमाडौंमा नेक्सन ईभीले निकाल्यो ३४७ किमी रेन्ज



काठमाडौं । नेपालका लागि टाटा मोटर्स्को अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङ र टाटा मोटर्स् को सह–आयोजनामा ‘नेक्सन् इभी रेन्ज टेस्ट २०२२’ प्रदर्शनात्मक कार्यक्रम सकिएको छ ।

नेक्सन इभी रेन्ज टेस्ट २०२२ नाम दिइएको यस अभियानमा टाटा नेक्सन इभी हुने ग्राहकहरुको उल्लेख्य एवम् उत्साहजनक सहभागिता रहेको थियो ।

नेक्सन ईभीको काठमाडौं सडकमै ३४७ किमी सम्मको रेन्ज निकाल्न सफल काठमाडौं निवासी सलिम श्रेष्ठ प्रथम भएका छन् । यस्तै ३३२ किमि रेन्ज निकालेर भरत पुडासैनी र अनिश कावरा दोश्रो भएका छन् । तेस्रो स्थानमा रहेका तृप्ति सिंह तथा उदिप न्यौपाने ३२१ किमि रेन्ज निकाले । कार्यक्रममा सहभागी मध्ये १४ जना ले ३०० किमि रेन्ज भन्दा बढी निकाले ।

कार्यक्रम मार्फत उत्कृष्ट तरिकाले इभी चलाई अधिकतम रेन्जका आधारमा विद्युतिय इन्धन खपत गर्न सक्ने उत्कृष्ट सहभागीहरुलाई श्रेष्ठताको आधारमा वर्गीकरण गरी कम्पनीको तर्फबाट विभिन्न आकर्षक पुरस्कार एवम् प्रशंसा पत्र प्रदान गरिएको थियो । प्रथम स्थान प्राप्त गर्न सफल सलिम श्रेष्ठले सम्मान पदक र प्रमाण पत्रका साथ ४३ ईञ्चको सामसुंग स्मार्ट एलईडि टिभी जितेका छन् ।

दोश्रो स्थानमा रहेका भरत पुडासैनि र अनिश कावराले २८ लिटरको सामसुंग ओभेन जितेका छन् । तेस्रो स्थानमा रहने तृप्ति सिंह तथा उदिप न्यौपानेले सामसुंग भ्याकुम क्लिनर जिते ।

विद्युतिय गाडीहरूको उपयोगिता, प्रभावकारिता एवम् आर्थिक पक्षमा पार्ने सकारात्मक प्रभावहरुका बारेमा जनचेतना फैलाउने र विद्युतिय गाडीहरू प्रति ग्राहकवर्गको दुबिधालाई हटाइ यसबाट मिल्ने सुविधाको बारेमा विश्वस्त बनाउने उद्देश्यले यस किसिमको कार्यक्रमको आयोजना गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृतराजन बाबु श्रेष्ठले जानकारी गराए ।

शनिबार सिप्रदी ट्रेडिङ नैकापबाट समुद्घाटन गरिएको कार्यक्रम कलंकी, बल्खु, एकान्तकुना, जावलाखेल, पुल्चोक, पुतलीसडक, जमल, दर्बारमार्ग, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, सुकेधारा, चाबहिल हुँदै हायात रेजेन्सी होटलमा पुगेर समापन गरिएको थियो । उक्त कार्यक्रममा ३४ भन्दा बढी नेक्सन ईभीको सहभागिता रहेको थियो ।


क्लिकमान्डु