एलन मस्कविरुद्ध लेख्ने पत्रकारहरुलाई ट्विटरले हटायो



एजेन्सी । ट्विटरले बिहीबार विभिन्न पत्रकारहरुलाई आफ्नो प्लेटफर्मबाट निलम्बन गरिएको जनाएको छ । ट्विटरले पछिल्लो समयमा यसका नयाँ मालिक एलन मस्कको विरुद्धमा लेख्ने पत्रकारहरुलाई हटाएको हो ।

मस्कले जनाएअनुसार ट्विटरले कुनै पनि व्यक्तिको नीजि जानकारी सार्वजनिक गरेका पत्रकार तथा अन्य प्रयोगकर्ताहरुलाई हटाएको छ ।

ट्विटरले गरेको निलम्बनको बारेमा जानकारी दिँदै मस्कले लेखेका छन्, ‘नीजि जानकारी सार्वजनिक गर्ने सम्बन्धी नीति अरु सर्वसाधारणजस्तै केही पत्रकारहरुमाथि पनि लागू भएको छ ।’

मस्कले बुधबार मात्रै उनको नीजि विमानको चालु स्थानबारे जानकारी दिने एक प्रयोगकर्ताको अकाउन्टलाई निलम्बन गरेको जानकारी दिएका थिए ।

एलनजेट नामक युजरनेम भएका प्रयोगकर्ताविरुद्ध उनले कानुनी प्रक्रियामा जाने समेत धम्की दिँदै ट्विटरमा कसैको पनि नीजि र व्यक्तिगत जानकारीहरुलाई सार्वजनिक गर्न नमिल्ने पनि बताएका छन् ।

तर, ट्विटरबाट हटाइएका पत्रकारहरुले उक्त प्रयोगकर्ताको समर्थनमा लेखेका थिए वा अन्य कुनै कारणले उनीहरुलाई हटाइयो भन्ने खुलेको छैन् ।

मस्कले बिहीबार लेखेका छन्, ‘मलाई दिनभर आलोचना गर्नु ठीक छ । तर, मेरो चालु स्थानबारे जानकारी दिनु र मेरो परिवारलाई खतरामा राख्नु ठीक छैन ।’

उनले बिहीबार जनाएअनुसार यस्ता प्रयोगकर्ताहरुलाई सात दिनका लागि ट्विटरबाट प्रतिबन्ध लगाइने छ ।


क्लिकमान्डु