व्यवसायीलाई गभर्नरको जवाफः चालु पुँजी कर्जासम्बन्धी व्यवस्था स्थगन हुँदैन, संशोधन गर्नुपर्ने बुँदा ल्याउनुस्



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले लागू गरेको चालु पुँजी कर्जासम्बन्धी व्यवस्था स्थगन नहुने प्रष्ट पारेका छन् ।

चालु पुँजी कर्जासम्बन्धी निर्देशन २ वर्ष स्थगन गर्नुपर्ने माग लिएर पुगेको व्यवसायीहरुको जम्बो टोलीलाई गभर्नर अधिकारीले यस्तो जवाफ दिएका हुन् । मंगलबार साढे ३ बजे नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा व्यवसायीहरुको जम्बो टोली गभर्नर भेट्न राष्ट्र बैंक पुगेको थियो ।

‘हामीले त महासंघका ४/५ जना पदाधिकारीहरु मात्रै आउनुहुन्छ होला भनेर सोचेका थियौं, समय पनि पदाधिकारी आउने भनेर लिइएको थियो,’ राष्ट्र बैंक उच्च स्रोतले भन्यो, ‘तर, गोल्छाजीले प्रदेशका अध्यक्षहरुसहित डेढ दर्जनको जम्बो टोली बोकेर आउनु भएछ ।’

महासंघको टोलीले ब्याज घटाउनुपर्ने, तरलता सहज गर्नुपर्ने र चालु पुँजी कर्जा २ वर्षका लागि स्थगन गर्नुपर्ने माग राखेका थिए । महासंघ अध्यक्ष गोल्छासँगै केही प्रदेशका अध्यक्षहरुले पनि बोलेका थिए ।

‘कतिजना व्यवसायी साथीहरुले त चालु पुाजी कर्जासम्बन्धी व्यवस्थाबारे बुझ्नु भएकै रहेनछ, अर्धज्ञानका कारण कागले कान लग्यो भन्दा कान नछामिकन काग खोज्न दौडिएको महशुस भयो,’ ती अधिकारीले भने, ‘हामीले केही बुझाउने प्रयास गरेका छौं, बैंकर साथीहरुले बुझाइदिए धेरै राम्रो हुने थियो ।’

व्यवसायीको उक्त जम्बो टोलीलाई गभर्नर अधिकारीले चालु पुँजी कर्जासम्बन्धी व्यवस्था वित्तीय प्रणालीमा मौलाउँदै आएको विकृत्ति रोक्ने उदेश्यले कार्यान्वयनमा ल्याइएको हुँदा स्थगन गर्न नसकिने गभर्नर प्रष्ट पारेको स्रोले जानकारी दियो ।

‘चालु पुँजी कर्जा वित्तीय प्रणालीमा मौलाउँदै गएको विकृति रोकेर अर्थतन्त्रमा सुधार ल्याउने स्वच्छ उदेश्यले ल्याइएको हो, त्यसैले यो स्थगन हुँदैन,’ गभर्नरको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘कुन बुँदाले कहाँ र कसरी अफ्ठ्यारो पार्यो त्यो विस्तृतमा ल्याउनुहास्, हामी संशोधन गरेर कही सहज बनाउन तयार छौं ।’

गभर्नर अधिकारीले बुँदा ल्याउन भनेपछि व्यवसायीहरु हतास देखिएका थिए । उनीहरुसँग दुई वर्ष स्थगन गर्नुपर्ने माग सिवाय दोस्रो विकल्प थिएन ।

‘माग राख्न पाइन्छ तर मागेका कुरा पूरा हुन्छन् भन्ने छैन,’ ती अधिकारीले भने, ‘उहाँहरुको माग प्राविधिक देखिएन, बालहठ जस्तो देखियो ।’

राष्ट्र बैंकले बैंकरसँग पनि सुझाब मागेको र व्यवसायीहरुबाट पनि बुँदागत सुझावको अपेक्षा गरेको गभर्नरले व्यवसायीहरुलाई सुनाएका थिए ।

‘तपाईंहरुले नाफा घाटा मात्रै हेरिदिनु भएन, राष्ट्र बैंक यो अर्थतन्त्र सुधारका लागि छ, संशोधन गर्नुपर्ने विषयमा महासंघसँग बसेर छलफल गर्न हामी तयार छौं,’ गभर्नरले भने ।


क्लिकमान्डु