चार महिनामा साढे ३ अर्बको विदेशी लगानी प्रतिबद्धता, अधिकांश सेवा र पर्यटन क्षेत्रमा स्वीकृत



काठमाडौं । चालु आर्थिक वर्षको चार महिनाको अवधिमा साढे ३ अर्ब बढीको विदेशी लगानी प्रतिबद्धता जनाएका छन् । उद्योग विभागको तथ्याङ्कअनुसार साउनदेखि कात्तिकमसान्तसम्ममा ३ अर्ब ६५ करोड रुपैयाँको वैदेशिक लगानी प्रतिबद्धता आएको हो ।

विभागमा साढे ३ अर्ब लगानी प्रतिबद्धतासहित २४ वटा उद्योग दर्ता भएका छन् । जसमा ठूला एउटा, मध्यम चार र साना १९ वटा उद्योग दर्ता भएका छन् । सो अवधिमा विदेशी लगानी पर्यटन मूलक क्षेत्रमा १२ वटा, सेवामूलकमा १० वटा, पूर्वाधारमा एउटा र सूचना प्रविधि क्षेत्रमा एउटा उद्योग दर्ता भएका छन् ।

दर्ता भएको उद्योगबाट १७ सय ९१ जनाले रोजगारी पाउने तथ्याङ्कमा उल्लेख छ । उक्त दर्ता भएको २४ वटा उद्योगमा ३३७ जना लगानीकर्ता छन् । त्यसैगरी, शुरुदेखि कात्तिकसम्ममा ५ हजार ६२८ विदेशी लगानीमा नेपालमा उद्योग दर्ता भएका छन् । विभागअनुसार हालसम्ममा नेपालमा ३२३ वटा ठूला, ६२२ वटा मझौला र ४ हजार ६८३ वटा साना उद्योग दर्ता भएका छन् ।

विभागमा दर्ता भएको उद्योगले ४ खर्ब ३० अर्ब ८६ करोड ९७ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् । प्रतिबद्धता जनाएको लगानी र उद्योगबाट २ लाख ९७ हजार ढ३५ जनाले रोजगारी पाएको विभागको भनाइ छ ।

विदेशी लगानी सेवा र पर्यटन क्षेत्रमा आकर्षित

नेपालमा आएको विदेशी लगानीमध्ये सबैभन्दा बढी पर्यटन क्षेत्रमा आएको देखिन्छ । विभागले प्राप्त गरेको जानकारीअनुसार हालसम्ममा दर्ता भएको उद्योगमध्ये सबैभन्दा बढी सेवा र पर्यटन क्षेत्रमा आएको देखिन्छ । कात्तिक मसान्तम्ममा देशमा ५६ सय विदेशी लगानीको उद्योग दर्ता भएकोमा १८ सय ६७ वटा उद्योग सेवा क्षेत्रको र १८ सय ५५ वटा पर्यटन क्षेत्रको उद्योग दर्ता भएका छन् ।

त्यस्तै, पर्यटन क्षेत्रमा सबैभन्दा बढी होटलमा लगानी भएको पाइन्छ । सेवा र पर्यटनपछि कात्तिकसम्ममा १२ सय ६९ उत्पादनमूलक, २९५ वटा कृषिमूलक, १२४ वटा सूचनाप्रविधि, ९१ वटा उर्जामूलक र ५५ वटा पूर्वाधार क्षेत्रमा लगानी प्रतिबद्धता जनाएका छन् ।

त्यस्तै, चालु आर्थिक वर्षको चार महिनामा मात्रै २४ वटा उद्योगमध्ये १२ वटा मात्रै पर्यटनमूलक उद्योग दर्ता भएका छन् । जुन ५० प्रतिशत हो । त्यसबाहेक १० वटा सेवामूलक, पूर्वाधार र सूचनाप्रविधिमा एक÷एक वटा उद्योग दर्ता गरेका छन् ।

त्यसैगरी, विदेशी लगानीमा दर्ता भएको अधिकांश साना उद्योग छन् । जसमा विदेशीहरुले ५ करोडदेखि ३५ करोडसम्म लगानीमा उद्योग दर्ता गरेका छन् ।


क्लिकमान्डु