राठी ग्रुपद्वारा सञ्चालित अन्नपूर्ण केवल उद्योगले एकै वर्ष गर्‍यो साढे २ अर्बको व्यापार



काठमाडौं । राठी ग्रुपद्वारा सञ्चालित अन्नपूर्ण केवल उद्योगले एकै वर्ष साढे २ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा २ अर्ब २२ करोड ९० लाख रुपैयाँ (अपरिष्कृत) को व्यापार गरेको हो ।

कम्पनीले सन् २०२१ मा १ अर्ब ९२ करोड ५० लाख रुपैयाँ र सन् २०२० मा १ अर्ब २६ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले नेपाली बजारमा ‘राठी’ र ‘अन्नपूर्ण ब्रान्ड’मा तार र केवल बिक्री वितरण गर्दै आएको छ । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि २ अर्ब ५६ करोड रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि ४५ करोड ८७ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २ अर्ब १० करोड १२ लाख रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले आल्मोनियम रड, कप्पर रड, स्टिल वायर, पीभीसी र एक्सएलपीईजस्ता वस्तु भारत र तेस्रो मुलुकबाट कच्चा पदार्थ आयात गरी विभिन्न प्रकारका तार तथा केवल उत्पादन गर्दै आएको छ । कम्पनीअनुसार सन् २०२१ मा र सन् २०२२ मा कच्चा पदार्थको मूल्य बढ्दा विश्वव्यापी रुपमा माग र पूर्तिमा निकै असर परेको छ ।

राठी ग्रुपद्वारा सञ्चालित कम्पनीले बजारमा घरमा प्रयोग हुने वाइरिङ तार, पावर केवल, एबीसी/एसीएसआर केवल र कन्सेन्ट्रिक केवल बिक्री वितरण गर्दै आएको छ । कम्पनीको पछिल्लो पाँच वर्षदेखि निरन्तर २६ प्रतिशतले व्यापार बढ्दै गएको जनाएको छ ।

त्यस्तै, कम्पनीले सन् २०२२ मा साढे २ अर्बको व्यापार गर्दा १० करोड २० लाख रुपैयाँ नाफा कमाएको छ । सन् २०२१ मा कम्पनीले ६ करोड १० लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीले उत्पादन गरेको विभिन्न प्रकारका तार र केवल विभिन्न क्षेत्रमा प्रयोग हुँदै आएको छ । कम्पनीअनुसार एसीएसआर कन्डक्टर र एबीसी केवल विद्युत प्रसारण लाइनमा बढी प्रयोग हुन्छ भने वायरिङ केवल, पावर केवल निजी घर, व्यवसायिक भवन, हस्पिटल र अन्य विभिन्न प्रकारका उद्योगमा प्रयोग हुन्छ ।

देशभर २०१ वटा वितरण रहेको कम्पनीले विद्युत प्राधिकरणले गरेको टेण्डर आह्वानमा जलविद्युत आयोजनामा आफ्नो उत्पादन बिक्री गर्दै आएको कम्पनीको भनाइ छ ।


क्लिकमान्डु