मारुती फुड पार्कको आम्दानी ४५ प्रतिशतले बढ्यो



काठमाडौं । मारुती फुड पार्क प्रालिको आम्दानी ४५.२५ प्रतिशतले बढेको छ । कम्पनीको आम्दानी सन् २०२१ को तुलनामा २०२२ मा ४५ प्रतिशतले बढेको हो ।

कम्पनीले सन् २०२१ मा ८० करोड ८० लाख रुपैयाँको व्यापार गरेकामा सन् २०२२ मा १ अर्ब १७ करोड ४० लाख रुपैयाँको व्यापार गरेको छ ।

सन् २०१९ को अक्टोबारबाट धान प्रशोधन गरी बजारमा बिक्री वितरण गर्न सुरु गरेको कम्पनीको वार्षिक ३३ हजार ८४० मेट्रिक टन धान प्रशोधन गर्ने क्षमता छ । कम्पनीले विभिन्न ५ वटा ब्रान्डमा चामल बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले तानिष्क, काडमाडौं गेट, बुद्ध गेट, सेतो हिमाल र एच एण्ड टी ब्रान्डमा चामल बिक्री वितरण गर्दै आएको छ । कम्पनीले चामल मात्रै नभएर कनिका, ब्रान र हुस्कबाट आम्दानी गरेको जनाएको छ ।

त्यस्तै, कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ७५ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २२ करोड ३ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५२ करोड ९६ लाख रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले स्वदेशी तथा आयातित धानलाई प्रशोधन गर्दै आएको छ । जसमा कम्पनीले कच्चा पदार्थको रुपमा धान आयात गर्दै आएको छ । कम्पनीमा ५ जनाको स्वामित्व छ । जसमा धिरजकुमार अग्रवाल अध्यक्ष छन् ।

कम्पनीअनुसार सन् २०२२ मा ८.५२ प्रतिशतले नाफा कमाएको छ ।


क्लिकमान्डु