बैंकको चर्को ब्याजदरले ८० प्रतिशत इँटा उद्योग बन्द



विराटनगर । गलत सरकारी नीतिको कारण मोरङ–सुनसरी औद्योगिक क्षेत्रका ८० प्रतिशत इँटा उद्योगहरू बन्द भएका छन् ।

सरकारको गलत नीतिका कारण अधिकांश इँटा उद्योगहरू बन्द हुँदा बाँकी रहेका उद्योगहरू कसरी टिकाइ राख्ने भन्ने चुनौति देखा परेको उद्योगी व्यवसायीहरूले बताएका छन् ।

यतिखेर इँटा बिक्री पनि आधाभन्दा कम छ । घरजग्गा किनबेच ठप्पजस्तै छ । बैंकमा तरलता अभाव छ । सरकारी पूँजीगत खर्च न्यून छ । विकास निर्माणका काम सुस्त छन् । यीनै विविध कारणले इँटा उद्योगी व्यवसायी आफूहरू मारमा परेको बताउँछन् ।

सुनसरी दुहबी १० मा एबी इँटा उद्योग प्रालि छ । त्यसले एबीआई ब्राण्डको इँटा उत्पादन गर्दछ । त्यहाँ २ वटा इँटा भट्टा छन् । तीमध्ये एउटा इँटा भट्टा बन्द छ र अर्कोमात्र सञ्चालनमा छ । सञ्चालित इँटा उद्योगबाट उत्पादित सबै इँटा पनि बिक्री हुन नसकेको सो इँटा उद्योगका सञ्चालक एवं सीएनआई प्रदेश १ का अध्यक्ष भीम घिमिरेले बताए ।

उनकाअनुसार सरकारको गलत नीतिका कारण अधिकांश इँटा उद्योगहरू बन्द हुन पुगेका हुन् । यसो हुनुमा नेपाल राष्ट्र बैंक चालेको गलत नीतिका कारण बैंकको चर्को व्याज दरले समस्या सिर्जना गरेको हो ।

त्यही भएर बैंकमा तरलता हुँदा कर्जा प्रवाह हुन सकेन । त्यस्तै सरकारी पूँजीगत समयमा खर्च नहुनु, चालु पुँजी प्राप्त नहुनु र घर निर्माण तथा विकास निर्माणका कार्य ठप्प हुन पुग्दा इँटाको माग घटेको छ ।

अहिले उत्पादन लागत पाँच/छ गुणाले बढेको छ । कोभिड र रुस–युक्रेन युद्धअघि कोइलाको मूल्य प्रतिमेट्रिक टन १७ हजार रूपैया पर्दथ्यो । अहिले कोइलाको मूल्य प्रतिमेट्रिक टन ६० देखि ७० हजार मूल्य पुगेको सञ्चालक घिमिरेले बताए ।

सरकार र राष्ट्र बैंकको गलत नीतिका कारण इँटा उद्योगमा लगानी गर्नु ओकल्नु न निल्नु भएको उनको भनाइ छ । ‘इँटा उचित मूल्यमा बेच्दा बिक्री हुँदैन । घटाएर बेचौं लागत उठ्दैन’, उनले क्लिकमाडूसँग भने ।

यस्तै एसीसीका ४ वटा इँटा भट्टी छन् । त्यसमध्ये तीनवटा बन्द भएर अहिले एउटामात्र सञ्चालनमा छ । बैंकको उच्च व्याजदर, आर्थिक मन्दी, जग्गाको कित्ताकाटमा प्रतिबन्धजस्ता गलत सरकारी आर्थिक नीतिले समस्या भएको सो उद्योगको सञ्चालक रमेश भगत बताउँछन् । निर्वाचन पनि सकियो नयाँ सरकारले केही परिवर्तन गर्ला र स्थिति सुध्रेला कि भनेरमात्र आश गरेको उनको भनाइ छ ।

इँटा उत्पादन गरे पनि माग छैन, थप लगानी गर्न पनि पाइएन, बैंकको व्याज र किस्ता तिर्न नै हम्मेहम्मे भएको कोसी अञ्चल इँटा व्यवसायी महासंघका महासचिव राजन तिम्सिना बताउँछन् ।

बैंकको चर्को व्याजको चपेटाले उद्योगी व्यवसायी पनि निराश भएको कारण व्यवसाय कसरी टिकाउने भन्ने ध्याउन्नमा रहेको उनको भनाइ छ । बैंक तथा वित्तीय संस्थाहरूले बढी नाफा कमाएर उद्योगी व्यवसायीलाई ‘ब्ल्याकमेलिङ’ गरिरहेको उनले आरोप लगाए ।

सरकार बलियो र राजनीतिक स्थिरता भइदिए लगानी गरेर ढुक्कसँग आफ्नो व्यापार व्यासाय चलाउन सकिने उनको झिनो आशा अझै बाँकी नै छ । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले खासै अर्थ नराखेको र बैंक तथा वित्तीय संस्थाहरूले पनि व्याजदर उच्च बनाएर समस्याको समाधान नहुने उनको तर्क छ ।

एबी इँटा उद्योगमा अहिले ३ सय कामदार छन् । जहाँ एउटामात्र भट्टा चालु अवस्थामा छ । ‘यदि २ वटै भट्टा सञ्चालन हुने हो भने ५ सय कामदार कार्यरत हुन सक्थे’ भन्छन् सञ्चालक घिमिरे ।

उनको इँटा उद्योगमा पुग्दा बन्द भएको भट्टाकै इँटा उरुम देखिन्छ । चालू अवस्थाको भट्टाको इँटा पनि पनि यसरी नै माग नभएर थुपार्ने ठाउँ नहुने उनको भनाइ छ ।

उनको इँटा भट्टाले करीब ४० बिघा क्षेत्रफल ओगटेको छ । ग्राहसँगको नियमित सम्बन्ध नटुटोेस् भनेरमात्र एउटा भट्टा चालू अवस्थामा राखेको उनले बताए । यदि सबै भट्टा बन्द भए आफ्नो क्यारियरमा पनि असर गर्ने र सन्देश पनि नराम्रो जाने अवस्थान भएकोले मात्र सञ्चालनमा राखेको उनको धारणा छ ।

इँटा व्यवसायी महासंघका महासचिव तिम्सिनाका अनुसार, मोरङ सुनसरी औद्योगिक क्षेत्रमा ३८ वटा इँटा भट्टामध्ये पछिल्लो समयमा २४ वटा बन्द भइसकेका छन् ।

यी इँटा बन्द हुनुमा बैंक तथा वित्तीय संस्थाको चर्को व्याज, ती संस्थाहरूमा तरलता अभाव हुनु, कोइला खरिद मूल्य ५/६ गुणा बढ्नु मुख्य कारण रहेको उद्योगी व्यवसायी बताउँछन् ।

मोरङको रंगेली क्षेत्रमा आनन्दका ४ मा २ र आँगन २ मा १ इँटा उद्योग सञ्चालनमा छन् । यी ८ वटा इँटा उद्योग पनि नियमित सञ्चालनमा छैनन् ।

आनन्द इँटा उद्योगका सञ्चालक उज्जवल चिमरिया मान्छेसँग पैसा नभएर हो कि किन हो? इँटाको व्यापार छैन भन्छन् । यसरी उद्योग बन्द हुँदा त्यहाँ काम गर्ने सयौं बढी कामदारहरूले बेरोजगार हुनु परेको उनको भनाइ छ ।

‘अहिले त बिक्री भएको इँटाको रकम पनि बजारबाट उठाउन मुस्किल छ र बैंकले लगानी नगर्दा मानिससँग पैसा पनि छैन भन्ने उद्योगी व्यवसायीहरूको बुझाइ छ । यही भएर कतिपय इँटा उद्योगी व्यवसायीहरू लगानी डुब्ने डरले आत्तिएका पनि छन्’, कोसी अञ्चल इँटा व्यवसायी महासंघका महासचिव राजन तिम्सिना बताउँछन् ।


क्लिकमान्डु