विश्वको सबैभन्दा महँगा सहर न्यूयोर्क र सिङ्गापुर, कुन सहरको अवस्था कस्तो ?



काठमाडौं । विश्वको सबैभन्दा महँगा सहरहरूमा न्यूयोर्क र सिङ्गापुर रहेको एक सर्वेक्षण सार्वजनिक भएको छ ।

इकोनोमिस्ट इन्टेलिजेन्स युनिट (इआईयू) ले वार्षिक रूपमा सार्वजनिक गर्ने गरेको सर्वेक्षणका अनुसार न्यूयोर्क पहिलोपटक सबैभन्दा महँगो सूचीको माथि आएको हो ।

महँगी ४० वर्षयताकै उत्त तहमा पुग्दा अमेरिकाको न्यूयोर्क यो सूचीको सबैभन्दा माथि पुगेको जनाइएको छ ।

महँगी उच्च तहमा पुग्दा यो वर्षको सुरुमा लस एन्जलस र सान फ्रान्सिस्को समेत शीर्ष १० मा परेका थिए । बलियो बनिरहेको अमेरिकी डलर समेत अमेरिकी सहरहरू अगाडि देखिनुका कारण हुन् ।

१० वर्षमा सिंगापुर शीर्ष स्थानमा रहेको यो आठौं पटक हो । उच्च मुद्रास्फीति र बलियो मुद्राका कारण सिंगापुर र न्यूयोर्क शहर दुवैले गत वर्षको शीर्ष रहेको तेल अवीभलाई तेस्रो स्थानमा झरेका छन् ।

उक्त सर्वेक्षणका अनुसार विश्वका ठूला सहरहरूको जीवन धान्न लाग्ने खर्च औसत ८.१ प्रतिशतले बढेको छ ।

मुद्रास्फिति ८६ प्रतिशतले बढेर इस्तानबुलमा महँगी उच्च छ भने ब्युनस एरिज र तेहरानमा त्यो क्रमशः ६४ र ५७ प्रतिशतले मँगी बढेको सूचीमा जनाइएको छ ।

मस्को र सेन्ट पिटर्सबर्ग ८८औँ र ७०औँ सूचीबाट क्रमशः ३७औँ र ७३औँ स्थानमा उक्लिएका छन् । रुसले युक्रेनमा गरेको आक्रमणपछि भएको पश्चिमा प्रतिबन्धका कारण उनीहरु माथि चढेको अनुमान गरिएको छ । यो वर्षको समीक्षामा किएभलाई समावेश गरिएको छैन ।

यस वर्ष मुद्रामा गिरावट आएका देशका सहरहरू वरीयतामा परेका थिए । जापानको ओसाका बस्नका लागि ४३ औँ सबैभन्दा महँगो सहर हो, २०२१ मा यसको १० औं स्थानबाट ठूलो गिरावट आएको छ । र दक्षिण कोरियाको बुसान गत वर्षको तुलनामा २५ स्थान तल झरेको छ, र अहिले १०६ औं स्थानमा रहेको सूचीमा जनाइएको छ ।

कसरी हुन्छ सर्वेक्षण ?

इआईयू सर्वेक्षणमा १७३ सहरमा वस्तु र सेवामा हुने खर्चलाई अमेरिकी डलरमा तुलना गर्ने गरिएको छ । २०० भन्दा धेरै वस्तु तथा सेवाका ४०० भन्दा धेरै मूल्यलाई विश्वभरका १७२ सहरमा राखेर तुलना गरिएको थियो ।

यस अध्ययनको नेतृत्व गरेकी उपासना दत्तले युक्रेन युद्ध, रुसमाथिको पश्चिमा प्रतिबन्ध र चीनको शून्य कोभिड नीतिले ‘आपूर्तिचक्रको समस्या सिर्जना गरेको’ जनाएकी छन् । बढ्दो ब्याजदर, विनियम दरमा आएको परिवर्तनसँग जोडिएर विश्वभर जीवनस्तर धान्ने खर्चको सङ्कट बनेको उनको भनाइ छ ।

सन् २०२२ का १० सबैभन्दा महँगा सहर

सूचीको एक नम्बरमा दुई देश न्यूयोर्क र सिंगापुर पर्दा तेस्रो नम्बरमा तेल अभिभ चौथोमा हङकङ र लस एन्जलस, छैठौंमा जुरिक सातौंमा जेनेभा ८ औंमा सान फ्रान्सिस्को नवौंमा पेरिस र १० औंमा सिड्नी र कोपेनहेगन रहेका छन् ।

त्यस्तै सबैभन्दा कम महँगो शहरमा क्रमश १६१. कोलम्बो, १६१. बङ्गलुरु, १६१. अल्जिअर्स, १६४. चेन्नई, १६५. अहमदावाद, १६६. अल्मटी, १६७. कराची, १६८. तासकन्द , १६९. टुनिस, १७०. तेहरान, १७१. ट्रिपोली, १७२. दमास्कस रहेको रिपोर्टमा जनाइएको छ ।


क्लिकमान्डु