रवि लामिछानेको नागरिकता छानबिनका लागि प्रहरीलाई प्रशासनको पत्र, प्रकृया अघि बढाएको प्रहरीको भनाइ



काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रवि लामिछानेको नागरिकता र राहदानीसम्बन्धी विवाद छानबिन गर्न प्रहरीलाई पत्राचार गरेको छ ।

जिल्ला प्रशासनले महानगरिय प्रहरी परिसर काठमाडौंमा छानबिन गरेर यथार्थ जानकारी गराउन पत्र पठाएको हो ।

प्रशासनले बिहीबार पत्र पठाएको परिसर स्रोतले जानकारी दिएको छ । ‘पत्र प्राप्त भएसँगै आवश्कय प्रकृया अघि बढाइएको छ’ स्रोतले भन्यो ।

चितवन–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका बेला लामिछानेविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको थियो । नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिक बनेका लामिछानेले अमेरिकी नागरिकता त्यागेर पुनः नेपाली नागरिकता प्राप्त नगरेको भन्दै उम्मेदवारी खारेज गर्न माग गर्दै निवेदन परेको थियो ।

उजुरी परेसँगै निर्वाचन कार्यालयले उनीसँग स्पष्टीकरण सोधेको थियो । उनले स्पष्टीकरण बुझाएसँगै निर्वाचन आएकाले यो प्रक्रिया अघि बढाएको थिएन ।

तर, नागरिकता विवादलाई लिएर गृह मन्त्रालयमा पनि उजुरी पछेपछि गृहले काठमाडौँ प्रशासनलाई यसबारे अनुसन्धान अघि बढाउन निर्देशन दिएको थियो ।

लामिछाने चितवन–२ बाट ‘म्यान अफ दि इलेक्सन’ हुँदै निर्वाचित भइसकेका छन् ।


क्लिकमान्डु