१० करोड पुँजीमा बीमा कलेज स्थापना गरिने, ५० प्रतिशत लगानी नेपाल पुनर्बीमा कम्पनीको



काठमाडौं । हरेक देशमा बीमा क्षेत्रमा दक्ष जनशक्ति उत्पादनका लागि बीमा कलेज, बीमा एकेडेमी, बीमा इन्स्टिच्युट जस्ता संस्थाहरु संचालनमा छन् । तर, सात दशक लामो बीमा व्यवसायको इतिहास बोकेको नेपालमा हालसम्म पनि प्रोफेशनल जनशक्ति उत्पादनको लागि शैक्षिक संस्थाहरु खुल्न सकेका छैनन् ।

हुन त नेपालका केही विश्वविद्यालयले बीमासम्बन्धी विषयको आंशिक पठनपाठन गराउँदै आएका छन् । तर, बजारको माग पूरा गर्ने र समस्याको पहिचान गर्दै समाधान दिन सक्ने खालको जनशक्तिको उत्पादन भने भएको छैन ।

बीमा प्राविधिक विषय हो । तसर्थ यसको लागि खास किसिमको कोर्ष खास किसिमबाट अध्यापन हुनु जरुरी रहेको विज्ञहरु बताउँछन् ।

आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले ‘बीमा कलेज स्थापना गर्न प्रोत्साहन गरिनेछ’ बताएका थिए । सोहीअनुसार अर्थमन्त्रालयले कजेलको अवधारणापत्र तयार बनाएको छ ।

बीमाको विकास, अध्ययन अनुसन्धान गर्ने र व्यवसायिक जनशक्ति उत्पादन गर्नका लागि नेपालमै बीमा कलेज स्थापना गर्ने गृहकार्य सरकारले थालेको हो ।

बीमाको बजार विस्तार हुने, आम जनतामा बीमाको पहुँच पुग्ने, बीमामा हुने विकृतिहरु नियन्त्रण हुने, सर्वसुलभ सेवा प्राप्त हुने र अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गरिने लक्ष्य सहित कलेज स्थापना गरिने भएको हो ।

नियमनकारी निकायलाई दक्ष जनशक्ति प्राप्त हुने, कार्य सम्पादन गर्न सहज हुने र प्रभावकारी नियमन हुने, बीमा कम्पनी र बीमासँग सम्बन्धीत अन्य निकायहरुको क्षमतामा वृद्धि हुने, उपभोक्ताले सहज रुपमा सेवा प्राप्त गर्ने र सुशासन कायम हुने र सही निर्णय हुने खालका फाइदा बीमा कलेज स्थापना गरेपछि पुग्ने अवधारणपत्रमा उल्लेख छ ।

अवधारणापत्रमा बीमा कलेजको कार्यक्षेत्र, कलेज स्थापना भएपश्चात देशलाई पुग्ने फाइदा, बीमा कलेजको मोडेल, बीमा कलेजको पुँजी र कानूनी आधार, कलेजको कानूनी आधार, नीतिगत अवस्था र संगठानात्मक संरचना, शैक्षिक कार्यक्रमहरु, प्रशिक्षक र कर्मचारी र भौतिक संरचना लगायतका विषहरु समावेश भएका छन् ।

एकेडेमीको कक्षा संचालन काठमाडौं उपत्यकामा मात्रै हुने परिकल्पना गरिएको छ । भविष्यमा बजारको माग बढ्दै गएको अवस्थामा धेरै जनशक्ति उत्पादन गर्नुपर्ने अवस्था आएमा उपत्यका बाहिर पनि कलेजहरु स्थापना गर्न सकिने अवधारणापत्रमा उल्लेख छ ।

शुरुवातको पुँजी १० करोड, ५० प्रतिशत पुँजी नेपाल पुनर्बीमा कम्पनीको

अर्थमन्त्रालयले तयार पारेको अवधारणपत्रमा शुरुवातमा १० करोड रुपैयाँ बराबरको पुँजीको व्यवस्था गरिने उल्लेख छ । यसमा उक्त रकममध्ये ५ करोड रुपैयाँ नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले सहयोग गर्ने र बाँकी रकम अन्य कम्पनीहरु तथा अन्य संस्थाहरुले सहयोग गर्नेछन् ।

कलेजको वृद्धिसँगै पुँजीकोषमा वृद्धि गरिने अवधारणापत्रमा जनाइएको छ । उदार चन्दादाताहरुबाट प्राप्त रकम, विद्यार्थीबाट प्राप्त हुने शुल्कबाट खर्च कट्टा गरी हरेक आवको अन्त्यमा बचत हुने रकमबाट कलेजको पुँजीकोष वृद्धि हुँदै जाने उल्लेख छ ।

कलेज नीजि क्षेत्रको पहलमा स्थापना हुने, यस्तो हुनेछ मोडेल

कलेज नीजि क्षेत्रको पहलमा स्थापना हुने छ । जसको नेतृत्व नेपाल पुनर्बीमा कम्पनीले गर्ने छ । नेपाल पुनर्बीमा कम्पनीमा नेपाल सरकारको अधिक सेयर भएको, ७ जना मध्ये अध्यक्ष सहित ३ जना सञ्चालक नेपाल सरकारद्धारा मनोनित हुने भएको हुँदा बीमा कलेजमा समेत प्रत्यक्ष रुपमा नेपाल सरकारको सहभागिता देखिने बताईएको छ ।

‘नेपाल सरकार अथवा बीमा प्राधिकरणको निर्देशनमा नेपालको कुनै एक विश्वविद्यालयबाट कार्यक्रम सम्बन्धन लिनुपर्ने छ र यसको लागि पोखरा विश्वविद्यालयले लामो समयदेखि बीमा सम्बन्धी कोर्षहरु अध्यापन गर्दै आएको हुँदा उक्त विश्वविद्यालयको सम्बन्धन लिन उपयुक्त हुनेछ’ अवधारणापत्रमा उल्लेख छ ।

कम्पनी मोडेलमा स्थापना हुने मुनाफा कमाउने तर मुनाफा वितरण नगर्ने अर्थात नेपाल पुनर्बीमा कम्पनी, अन्य बीमा कम्पनीहरु र अन्य नीजि क्षेत्रका लगानीकर्ताहरुमार्फत बीज पुँजीको रुपमा सहयोग प्राप्त हुनेछ ।

सञ्चालक समितिको योग्याता

कलेजको सञ्चालक समितिमा संस्थापक सेयरधाीहरुबाट अधिक सेयरधनीबाट १ जनासहित जम्मा ४ जना, बीमा प्राधिकरणबाट मनोनित एक जना, स्वतन्त्र तथा विज्ञ संचालक(कम्पनी ऐन बमोजिम) एक जना र कलेजको प्राचार्य पदेन एक जना रहनेछन् ।

सञ्चालक अध्यक्षको योग्यता कम्तिमा १० वर्षको प्राध्यापनको अनुभव भएको र बीमा क्षेत्रमा विद्यावारिधि गरेको र विश्वविद्यायको हकवाला वा सेवा निवृत्त कम्तिमा सहप्राध्यापक तहमा रहेको हुनुपर्नेछ । यस्तै, सदस्यको योग्यता कम्तिमा स्नातकोत्तर तह अध्ययन गरेको र बीमा क्षेत्रमा कम्तिमा १० वर्षको अनुभव वा कम्तिमा ५ वर्ष बीमामा अध्यापन गरेको हुनुपर्ने छ ।

तीन तहका शैक्षिक कार्यक्रम

हाललाई एकेडेमीले एक वर्षे डिप्लोमा प्रोफेशनल कार्यक्रम सञ्चालन गर्नेछ । उक्त कोर्ष एकेडेमी आफैले तयार गर्नेछ । आफैले अध्यापन गर्नेछ र आफैले परीक्षा लिई प्रमाणपत्र समेत प्रदान गरिने छ ।

यस कोर्षलाई बीमा समितिले मान्यता दिनेछ । यो कार्ष उत्तिर्ण गरेको मानिसले मात्रै बीमा क्षेत्रमा जागिर पाउने गरि बीमा प्राधिकरणले निर्णय गर्नेछ ।

उक्त एक वर्षे कोर्षको पहिलो ६ महिनामा ५ विषयहरु पढाईनेछ । दोस्रो ६ महिनामा २ वटा कोर्ष अनिवार्य हुनेछन् । भने ३ वटा कोर्ष उपलब्ध विद्याहरुमध्ये कुनै एक विद्या अन्तर्गतका ३ विषयहरु अध्ययन गर्नुपर्नेछ ।

विद्यार्थीहरुले अन्तर्राष्ट्रिय स्तरका कम्पनीहरुमा गई ३ महिना इन्टर्नसिप गर्नुपर्नेछ । भने कुनै एक विषयमा अनुसन्धानमूलक प्रतिवेदन तयार गरी सेमिनारमा प्रस्तुतीकरण दिनुपर्नेछ । यदि कसैले सबै विषयमा अध्ययन गर्न चाहेमा थप शुल्क तिर्नुपर्नेछ र परीक्षा ६÷६ महिनाको फरकमा परीक्षामा सामेल हुनुपर्ने छ ।

पोस्ट ग्रेजुएट डिप्लोमा इन इन्स्योरेन्स म्यानेजमेन्ट कोर्ष पढाई हुने छ । जसमा ३ वटा पेपपरहरु रहेका छन् । दोस्रो चरणमा मास्टर अफ रिस्क एण्ड इन्स्योरेन्स म्यानेजमेन्ट कोर्षको पढाई हुने छ । यस्तै, तेस्रो वर्ष सर्टिफिकेट एण्ड डिप्लोमा लेभल प्रोग्रामको पढाई हुने छ ।

प्रशिक्षक, कर्मचारी र भौतिक संरचना

एकेडेमीको गुणस्तर अन्तर्राष्ट्रिय स्तरको सेवा दिने भएकाले शिक्षक र कर्मचारी दुवैलाई विशेष तालिम र विशेष सिप सिकाइनेछ ।

सबै शिक्षक कर्मचारीहरु नेपाल सरकारको भर्ना नीति बमोजिम नै प्रतिस्पर्धात्मक ढंगबाट कानूनी प्रक्रिया पूरा गरी गरिने छ । कर्मचारीहरु सकेसम्म स्थायी पदपूर्ति गरिने छ भने शिक्षकहरु शुरुमा कोर्ष करार र एक वर्षभित्रमा स्थायी परिपूर्ति गरिने छ ।

एकेडेमी(कलेज)संचालनका लागि पर्याप्त जमिनसहितको बिशाल संरचनाको आवश्यकता पर्ने भएकाले तत्कालाई भाडामा संचालन गरिएता पनि भविष्यमा यसको आफ्नै जमिन र भवन संरचना हुन आवश्यक हुन्छ ।

कलेजलाई सार्वजनिक जमिन लिजमा वा भोगाधिकारमा दिने व्यवस्था गर्नुपर्ने अवधारणापत्रमा उल्लेख छ ।

यस्तो रहनेछ कलेजको कार्यक्षेत्र, काम, कर्तव्य र अधिकार

सम्बन्धित विश्वविद्यालयबाट बीमा, जोखिम व्यवस्थापन, सामाजिक सुरक्षाका विषयमा पेशागत तथा शैक्षिक कोर्षहरु तयार गरी सवीकृ गराउने, सो कोर्षमा भर्ना हुन चाहनेको न्यूनतम योग्यता तोक्ने, अध्यापन गर्ने, परीक्षा लिने अधिकार कलेजले पाउनेछ ।

यस्तै, स्नातम, स्नातकोत्तर र अनुसन्धान तहको कार्यक्रम संचालन गर्ने, बीमा, जोखिम व्यवस्थापन, सामाजिक सुरक्षाका विषयमा नीतिगत तथा व्यवहारिक अनुसन्धान गर्ने तथा सो सम्बन्धी सामग्रीहरु तयार गर्ने तथा प्रकाशन गर्ने, अन्तर्राष्ट्रिय क्षेत्रमा बीमा सम्बन्धी अध्ययन, अध्यापन, अनुसन्धान गर्ने शैक्षिक तथा व्यवसायिक संस्थाहरुसँग सहकार्य गर्ने, बीमा प्राधिकरणको निर्देशन र सहकार्यमा शिक्षा, परीक्षा, लगायतका काम संचालन गर्ने अधिकार कलेजलाई दिईने अवधारणापत्रमा उल्लेख छ ।

यस्तै, देश तथा विदेशका बीमा सम्बन्धी नियायहरुसँगको सहकार्यमा पा स्वयंले नेपालको बीमा बजारलाई आवश्यक परामर्श दिने लगायतका काम कलेजले गर्नुपर्ने छ ।

बजारमा जनशक्तिको माग र विद्यार्थीको संख्या

बीमा प्राधिकरण, व्यवसायिक कम्पनीहरु, स्वास्थ्य बीमा बोर्ड तथा बीमा जस्तै प्रकृतिका कार्य गर्ने निकायहरु सामाजिक सुरक्षा कोष, निक्षेप तथा कर्जा सुरक्षण निगम लगायतका निकायहरुलाई पनि दक्ष जनशक्तिको आवश्यकता छ । ती निकायहरुमा करिब १५ हजार जनशक्ति कार्यरत छन् ।

यस्तै, हरेक वर्ष सयौंको संख्यामा रोजगारीमा वृद्धि भईरहेको छ । त्यसको आधा मात्रै जनशक्तिलाई दक्षर विशेषज्ञ बनाउने हो भने पनि ७ हजार ५ सय विद्याथीलाई अध्यापन गराउनुपर्ने अवधारणापत्रमा उल्लेख छ ।

वार्षिक रुपमा ७५० जना विद्यार्थीहरुलाई अध्यापन गराउने हो भने पनि कम्तिमा १० वर्षको समय लाग्ने र १० वर्षभित्र बजार दुई गुणा विस्तार भई थप जनशक्ति आवश्यकता पर्ने उल्लेख छ ।


क्लिकमान्डु