वैदेशिक रोजगार बीमा: हकवालालाई करकापमा पारि बीमा गराएको भन्दै पत्राचार



काठमाडौं । वैदेशिक रोजगार (म्यादी) जीवन बीमाको दाबी भुक्तानी गर्दा जीवन बीमा कम्पनीहरुले बीमितको हकवाला परिवारको सदस्यलाई करकापमा पारी बीमा गराउँदै आएको पाइएको छ ।

दाबी भुक्तानी गर्दा हकवालालाई करकापमा पारि परिवारका सदस्यको बीमा गराउने र परिवारका सदस्यहरुको बीमा गरेपछि मात्रै दाबी भुक्तानी दिने गुनासा आएपछि श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलले प्राधिकरणलाई पत्राचार गरेको छ ।

मन्त्रलायले पत्राचार गरेपछि प्राधिकरणले जीवन बीमा कम्पनीहरुलाई त्यस्तो कार्य नगर्न निर्देशन दिएको छ । प्राधिकरणले कम्पनीहरुलाई पत्र पठाउँदै यस विषयमा प्राधिकरणको ध्यानाकर्षण भएको र त्यस्ता कार्य नगरी बीमितलाई सहज हुने गरी दाबी भुक्तानी दिन भनेको हो ।

‘वैदेशिक रोजगार(म्यादी)जीवन बीमाको दाबी भुक्तानी गर्दा बीमितको हकवाला परिवारको करकापमा बीमा गराउने र परिवारका सदस्यहरुको बीमा गरे पश्चात मात्र दाबी भुक्तानी दिने गरेको भन्ने गुनासो प्राप्त भएको’ प्राधिकरणले जीवन बीमा कम्पनीलाई पठाएको पत्रमा भनिएको छ ।

यस्ता गुनासाहरु प्राप्त भएपश्चात सो सम्बन्धमा यस अघि पनि बीमा प्राधिकरणमा समेत छलफल भै यस्तो कार्य नगर्न प्राधिकरणले निर्देशन गरेको थियो । ।

बीमितलाई असहज हुने गरी दाबी भुक्तानी भएको पाईएमा बीमा ऐन, २०७९ बमोजिम कारबाहि गरिने प्राधिकरणले जनाएको छ ।

बीमितले बीमा गरे वापतको क्षतिपूर्ति रकम सरल तरीकाले भुक्तानी नगर्दा बीमितलाई पर्न गएको असुविधा र बीमा प्रतिको विश्वसनियतामा पर्न जाने प्रतिकुल असर सम्बन्धमा गम्भिर ध्यानाकर्षण भएको प्राधिकरणले जनाएको छ ।


क्लिकमान्डु