बालेनको प्रश्न: देशको राजधानीमा खुलेआम आतंकवाद हुँदा केन्द्र सरकार के हेरेर बसेको छ ?



काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले देशमा गृह मन्त्रालय छ कि छैन भनेर प्रश्न गरेका छन् ।

दिउँसो थापाथलिमा रहेको सुकुम्बासी बस्ती डोजरसहित पुगेको महानगर प्रहरीमाथि आक्रमण भएको घटनालाई लिएर उनले संघीय सरकारमाथि प्रश्न गरेका छन् ।

सामाजिक सञ्जाल टिकटकको एक भिडियो सार्वजनिक गर्दै बालेनले भनेका छन्, ‘देशमा गृह मन्त्रालय, प्रहरी प्रशासन शान्ति सुरक्षा छ कि छैन, देशको राजधानीमा खुलेआम आतंकवाद हुँदा केन्द्र सरकार के हेरेर बसेको छ ?’

उनले शेयर गरेको भिडियोमा आफूलाई सुकुम्बासी बताउने एक व्यक्तिले भनेका छन्, ‘बालेन शाहको ज्यान खतरामा हुन्छ अब । मर्न परे हामी ज्यान यही दिन्छौं सके त्यसलाई पनि मार्छौं हामी ।’

स्थानीय सरकारका प्रमुखमाथि ज्यान लिने चेतावनीलाई उनले आतंकवादसँग जोडेका हुन् ।

यसअघि आजै काठमाडौं महानगपालिकाले थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन जाने क्रममा महानगर प्रहरीमाथि भएको आक्रमणमा संलग्नहरुमाथि कानूनी कारबाहीका लागि प्रहरीसमक्ष अनुरोध गरेको छ ।

महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले सोमबार साँझ विज्ञप्ति जारी गर्दै हातहतियारसहित महानगर प्रहरीमाथि आक्रमण गर्ने घटनाको नेतृत्वकर्ता र त्यसमा संलग्नहरुमाथि उजुरी गरेको भन्दै कारबाहीको माग गरेका हुन् । विज्ञप्तिमा उनीहरुको नाम समेत खुलाई प्रहरीमा पत्र पठाइएको जनाइएको छ ।

‘सो घटना घटाउन नेतृत्व गर्ने तथा आपराधिक कार्यमा संलग्न हुने व्यक्तिहरुको नाम समेत खुलाई महानगरीय प्रहरी परिसर टेकु काठमाडौंमा अपराध अनुसन्धानका लागि महानगरपालिकाबाट पत्र प्रेषित गरिएको छ,’ मानन्धरले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

महानगरपालिकाले कानून बमोजिमको कार्य गर्दा नगर प्रहरीहरुलाई सांघातिक आक्रमण गर्ने व्यक्तिहरुलाई कानुन बमोजिम हदैसम्मको कारबाही हुन सम्बद्ध निकाय तथा पदाधिकारीहरुलाई अनुरोध गरिएको छ । महानगरपालिकाले अधिकार सम्पन्न वाग्मती सभ्याता एकीकृत विकास समितिको अनुरोधपछि महानगर प्रहरी बलका प्रमुखको नेतृत्वमा टोली थापाथली पुगेको जनाएको छ ।

आक्रमणमा परि नगरप्रहरी प्रमुखसहित १८ जना घाइते भएको र ३ जनाको आईसीयूमा उपचार भइरहेको महानगरले जनाएको छ ।

‘सो स्थानमा अनधिकृत संरचना निर्माण गर्ने व्यक्तिहरुले खुँडा जस्ता धारिलो हतियार, ढुंगामुढासहितका सामग्रीसहित उपस्थित भई आपराधिक मनसायले एक्कासी महानगर प्रहरी बलका प्रमुखसहित १८ जना नगर प्रहरीलाई आक्रमण गरी गम्भीर घाइते बनाएका छन्,’ महानगरपालिकाले भनेको छ ।


क्लिकमान्डु