मंगलबारदेखि कोरोना बीमाको दाबी भुक्तानी हुने, पहिलो लटमा कसले पाउँछन् ?



काठमाडौं । मंगलबारदेखि कोरोना बीमाको दाबी भुक्तानी हुने भएको छ । कोरोना बीमाको दाबी भुक्तानी गर्न बाँकी रहेको रकममध्ये १ अर्ब ८१ करोड रुपैयाँ मंगलबार (भोलि) देखि भुक्तानी हुने भएको हो ।

गत मंसिर ६ गते बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालको रोहवरमा कम्पनीहरुसँग बसेको बैठकले भोलिदेखि रकम भुक्तानी गर्ने निर्णय भएको थियो ।

संघका अनुसार नेपाल पूनर्बीमा कम्पनीले आफ्नो भागमा परेको रकम थप संघमा पठाएको छैन । सो कम्पनीबाट रकम प्राप्त भए पश्चात रकम पूनः बाँडफाँड गर्ने निर्णय भएको र संलग्न बमोजिमको चेक बुझिलिई कम्पनीले थप गर्नुपर्ने २ करोड २७ लाख २७ हजार २७२ रुपैयाँ रकम थपि दाबी भुक्तानी प्रकृया शुरु गर्न अन्य कम्पनीलाई आग्रह गरेको छ ।

बीमक संघकाअनुसार व्यक्ति तथा परिवारलाई पहिलो प्राथमिकता दिई दाबी भुक्तानी दिइने छ ।

बीमक संघमा भएको थप निर्णयको आधारमा रकम बाँडफाँड गर्दा केहि कम्पनीहरुले थप गर्नुपर्ने रकम नै अत्याधिक भएकोले सो रकमबाट नै दाबी भूक्तानी गर्न समेत संघले आग्रह गरेको छ ।

यस्तै, संघले मर्जर भएका कम्पनीहरुको हकमा भने मर्जर पछि बनेको कम्पनीको नाममा चेक काटिएको संघले जनाएको छ । संघकाअनुसार मर्ज भएका कम्पनीले दुबै कम्पनीहरुको दाबी रकम भूक्तानी गर्नु पर्नेछ ।

संघबाट चेक पाउनको लागि कम्पनीहरुले दावी तिर्ने व्यक्ति तथा परिवारको सूची बनाई कोरोना पूल र बीमा समितिमा बुझाएको एक छायाँ प्रति बीमक संघलाई उपलब्ध गराउनुपर्ने छ ।

सरकारले आफ्नो दायित्वमा परेको रकम निकासा नगरेको भन्दै कम्पनीहरुले २०७८ साउन १४ गतेदेखि भुक्तानी प्रक्रिया रोकेका थिए ।

कम्पनीहरुले भुक्तानी रोकेको लामो समयपछि सरकारले आफ्नो दायित्व स्वीकार गर्दै कोरोना बीमाको दाबी भुक्तानीको लागि १ अर्ब रुपैयाँ निकासा गरेको थियो ।

सरकारले निकासा गरेको १ अर्ब रुपैयाँलाई ५५ प्रतिशत मानि नेपाल पुनर्बीमा कम्पनीबाट १२ प्रतिशत, बीमा कम्पनीबाट २५ प्रतिशत र बीमा प्राधिकरणबाट ८ प्रतिशत रकम भुक्तानी गर्ने मोडालिटि बनेको थियो ।

प्राधिकरणकाअनुसार २० वटा निर्जीवन बीमा कम्पनीमा १७ लाख ५८ हजार ३४३ जनाले उक्त बीमालेख खरिद गरेका थिए । जसमध्ये लाख ६५ हजार ५९ जना बीमितको दाबी परेको प्राधिकरणको तथ्यांक छ ।

सो संख्या बराबर बीमा कम्पनीमा १५ अर्ब ४२ करोड २३ लाख रुपैयाँको दाबी परेको थियो ।

जसमध्ये हालसम्म २० निर्जीवन बीमा कम्पनीबाट ५१ हजार ६६९ बीमितलाई ४ अर्ब ९८ करोड १४ लाख ८८ हजार २३५ रुपैयाँ बराबरको दावी भुक्तानी भएको हो । जुन कुल दाबी भुक्तानी संख्याको ३१.३० प्रतिशत हो भने कुल दाबी रकमको ३१.४८ प्रतिशत मात्रै भुक्तानी भएको हो ।

सरकारले भुक्तानी गर्न बाँकी रकम १० अर्ब ४ करोड ६ लाख ८३ हजार ३१९ रुपैयाँ र अनुदान रकम २ करोड ३ लाख ६४ हजार ११६ रुपैयाँ समेत गरी १२ अर्ब ३ करोड २५ लाख ३५ हजार ६७० रुपैयाँ दिन बाँकी छ ।


क्लिकमान्डु