११ जीवन बीमा कम्पनीले मात्रै जारी गरे वैदेशिक रोजगार बीमालेख



काठमाडौं । सञ्चालनमा रहेका ११ जीवन बीमा कम्पनीहरुले मात्रै वैदेशिक रोजगार बीमालेख जारी गरेका छन् । बीमा प्राधिकरणले ‘वैदेशिक रोजगार म्यादी जीवन बीमालेख पुल सम्बन्धी कार्यविधि’ खारेज गरी सबै कम्पनीलाई व्यवसाय गर्ने बाटो खोलिदिए पनि ८ कम्पनी इच्छुक नदेखिएका हुन् ।

बीमा समितिले म्यादी जीवन बीमामा अस्वस्थ प्रतिस्पर्धा भएको भन्दै पुल प्रणाली लागू गर्न निर्देशन दिएको थियो ।

जीवन बीमा व्यवसाय गर्ने जीवन बीमा कम्पनीहरूबाट प्राप्त कार्यविधि बोजिम वैदेशिक रोजगार म्यादी जीवन बीमालाई व्यवस्थित रूपमा संचालन गर्नका लागि पुल प्रणाली लागू भएको थियो ।

सोही व्यवस्था बमोजिम कम्पनीहरूको सहमतिअनुसार पुल प्रणालीमार्फत् बीमालेख जारी हुँदै आएको थियो । बीमा कम्पनीहरूले २०७५ माघ १ गतेदेखि पुलमार्फत् बैदेशिक रोजगार म्यादी जीवन बीमा जारी गर्दै आएका थिए ।

तर, बीमा समितिले यही साउन १ गतेदेखि लागू हुने गरी ‘वैदेशिक रोजगार म्यादी जीवन बीमालेख पुल सम्बन्धी कार्यविधि’ खारेज गर्ने निर्णय गरेको थियो ।

समितिको उक्त निर्णयबमोजिम साउन महिनादेखि सबै बीमा कम्पनीहरुले वैदेशिक रोजगार बीमालेख जारी गर्न सक्नेछन् । सबै कम्पनीहरुले उक्त बीमालेख जारी गर्न सक्ने भएपनि ११ वटा कम्पनीले मात्रै बीमालेख जारी गरेको बीमा समितिले जनाएको छ ।

चालु आवको असोज मसान्तसम्मा ११ वटा कम्पनीहरुले वैदेशिक रोजगार बीमालेख जारी गरी कुल ८२ करोड ६९ लाख रुपैयाँ बीमाशुल्क उठाएका छन् ।

प्राधिकरणकाअनुसार असोज मसान्तसम्ममा कुल सक्रिय रहेको बीमालेखको संख्या ११ लाख ६८ हजार २७३ वटा रहेको छ । यस अवधिमा बीमलेख जारी गरेका ११ कम्पनीहरुमध्ये सन नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै ३८ करोड ४० लाख रुपैयाँ संकलन गरेको छ ।

असोज मसान्तसम्मा कम्पनीमा सक्रिय बीमालेखको संख्या ६ लाख ९ हजार ७४८ वटा छन् ।

सन् नेपाल लाइफ पछि सूर्या लाइफ यस बीमालेख जारी गरी १४ करोड २३ लाख रुपैयाँ संकलन गरेको छ । यस अवधिसम्मा कम्पनीमा सक्रिय बीमालेखको संख्या १ लाख २८ हजार २८५ रहेको छ ।

यस्तै, ज्योति लाइफले ९ करोड ८५ लाख, सानिमा लाइफले ६ करोड ९ लाख रुपैयाँ, सिटिजन लाइफले ५ करोड ७५ लाख रुपैयाँ, आइएमई लाइफले ३ करोड २७ लाख रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ३३ लाख रुपैयाँ संकलन गरेका छन् ।

यस्तै, प्रभु लाइफले ६ लाख रुपैयाँ र नेशनल लाइफले २२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

वैदेशिक रोजगार म्यादी जीवन बीमा अनिवार्य बीमा हो । कानूनमा पनि अनिवार्य बीमा गर्नुपर्ने व्यवस्था छ । वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम बैदेशिक रोजगारीमा जाने नेपालीहरुको अनिवार्य गर्नुपर्ने व्यवस्था छ ।


क्लिकमान्डु