जीवन बीमा कम्पनीले कमाए १ अर्ब ७० करोड, अधिकांशको नाफा बढ्यो



काठमाडौं । चालु आवको पहिलो त्रैमास अर्थात् असोज मसान्तसम्ममा १७ जीवन बीमा कम्पनीहरुले १ अर्ब ७० करोड ३५ लाख ३९ हजार रुपैयाँ नाफा कमाएका छन् ।

वित्तीय विवरण सार्वजनिक गरेका कम्पनीमध्ये लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नोक्सानीमा गएको छ । जसअनुसार उल्लेखित नाफा १७ कम्पनीहरुको मात्रै हो ।

गत आवको सोही अवधिमा १८ जीवन बीमा कम्पनीहरुले १ अर्ब ६ करोड ८१ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएका थिए ।

वित्तीय विवरणअनुसार प्राइम लाइफ र यूनियन लाइफको नाफा गत आवको सोही अवधिको तुलनामा घटेको छ ।

एलआइसी नेपाल ५९ लाख २९ हजार ८३३ रुपैयाँ नोक्सानी ब्यहोरेको छ । गत आवको सोही अवधिमा इन्स्योरेन्सले ३ करोड १९ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

गत आवको सोही अवधिको तुलनामा नोक्सानी व्यवस्थाको लागि छुट्याएको रकम बढेका कारण कम्पनी नोक्सानीमा गएको हो ।

यस अवधिमा इन्स्योरेन्सले नोक्सानी व्यवस्थाको लागि ५ करोड ५७ लाख १९ हजार रुपैयाँ छुट्याएको छ । गत आवको सोही अवधिमा इन्स्योरेन्सले नोक्सानी व्यवस्थाका लागि १ करोड ६ लाख १८ हजार रुपैयाँ मात्रै छुट्याएको थियो ।

प्राइम लाइफको नाफा गत आवको सोही अवधिको तुलनामा ५७.१२ प्रतिशतले घटेर ५ करोड २५ लाख ५६ हजार रुपैयाँमा सीमित भएको छ । गत आवको पहिलो त्रैमासको अवधिमा प्राइमले १२ अर्ब २५ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

गत आवको सोही अवधिको तुलनामा यूनियन लाइफको नाफा १९.२८ प्रतिशतले घटेर २ करोड ७८ लाख ३१ हजार रुपैयाँमा खुम्चिएको छ । गत आवको पहिलो त्रैमासको अवधिमा इन्स्योरेन्सले ३ करोड ४४ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

दोस्रो बजारमार्फत् सेयरमा लगानी गरिएिको र हाल निरन्तर सेयरको मूल्यमा आएको गिरावटका कारणले खुद नाफा घट्न पुगेको इन्स्योरेन्सले जनाएको छ । सेयरको मूल्य सुधार आउँदा पुनः नाफा बढ्ने कम्पनीको भनाइ छ ।

१५ कम्पनीको नाफा बढ्यो, नेपाल लाइफको नाफामा २३९८ प्रतिशतको वृद्धि

१५ वटा कम्पनीको नाफा बढेको छ । यस अवधिमा १५ मध्ये सर्वाधिक नाफा नेपाल लाइफको २३९८.२२ प्रतिशतले बढेको हो । इन्स्योरेन्सले १७ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको पहिलो त्रैमासको अवधिमा इन्स्योरेन्सले ७ लाख ३३ हजार रुपैयाँमात्रै खुद नाफा कमाएको थियो ।

इन्स्योरेन्सको आम्दानी बढेसँगै नोक्सानीको लागि व्यवस्था गरेको रकम घटेका कारण खुद नाफा बढ्न पुगेको हो ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा इन्स्योरेन्सले १८ करोड ८ लाख रुपैयाँ नोक्सानी बापत व्यवस्था गरेको थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा इन्स्योरेन्सले नोक्सानी व्यवस्थाको लागि १ करोड ७१ लाख रुपैयाँ छुट्याएको छ ।

यस्तै, रिलायन्स लाइफको नाफा २१७.१२ प्रतिशत, सन नेपाल लाइफको नाफा १९९.४२ प्रतिशत, ज्योति लाइफको नाफा १३३.२८ प्रतिशत, सूर्या लाइफको नाफा ८२.५४ प्रतिशत, आइएममई लाइफको नाफा ४५.९३ प्रतिशत, गुराँस लाइफको नाफा ५४.८८ प्रतिशत, नेशनल लाइफको नाफा ३५.०१ प्रतिशत र रिलायबल नेपाल लाइफको नाफा ३४.७० प्रतिशतले बढेको छ ।

यस्तै, एशियन लाइफको नाफा २१.५८ प्रतिशत, सानिमा लाइफको नाफा १५.४६ प्रतिशत, सिटिजन लाइफको नाफा १२.९९ प्रतिशत, मेट लाइफको नाफा ३२.२५ प्रतिशत, महालक्ष्मी लाइफको नाफा २८.२१ प्रतिशतर प्रभु लाइफको नाफा २.४४ प्रतिशतले बढेको छ ।

सबैभन्दा धेरै नाफा कमाउनेमा ज्योति लाइफ

यस अवधिमा सबैभन्दा धेरै नाफा कमाउने कम्पनीमा ज्योति लाइफ अगाडी परेको छ । कम्पनीले पहिलो त्रैमासको अवधिमा २१ करोड ५२ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ज्योतिले १३३.२८ प्रतिशतले नाफा बढाएको हो ।

यस्तै, धेरै नाफा कमाउनेको दोस्रो सूचीमा सूर्या लाइफ, तेस्रोमा नेपाल लाइफ, चौथोमा सन नेपाल लाइफ, पाचौँमा रिलायन्स लाइफ, छैठौँमा नेशनल लाइफ र सातौँमा एशियन लाइफ परेका छन् ।

यस अवधिमा सूर्या लाइफले २० करोड ७३ लाख ५३ हजार रुपैयाँ, नेपाल लाइफले १७ करोड ५७ लाख रुपैयाँ, सन नेपाल लाइफले १५ करोड ३ लाख ८९ हजार रुपैयाँ, रिलायन्सले १३ करोड १७ लाख ८१ हजार रुपैयाँ, नेशनलले ११ करोड ७१ लाख ८ हजार रुपैयाँ र एशियन लाइफले ११ करोड ७० लाख ७६ हजार रुपैयाँ नाफा कमाएका छन् ।

यस अवधिमा रिलायबल नेपाल लाइफले १० करोड ३ लाख ९५ हजार रुपैयाँ नाफा कमाएको छ । यस्तै, सिटिजन लाइफ, प्राइम लाइफ, मेट लाइफ, आईएमई लाइफ, गुराँस लाइफ र सानिमा लाइफले ५ करोड रुपैयाँभन्दा माथि नाफा कमाएका छन् ।


क्लिकमान्डु