पुनर्बीमा कम्पनीको लगानी २७ अर्ब ७७ करोड, एक वर्षमा १० प्रतिशतले बढ्यो



काठमाडौं । नेपालमा २ वटा कम्पनीले पुनर्बीमा व्यवसाय गर्दै आएका छन् । ती कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २७ अर्ब रुपैयाँभन्दा धेरै लगानी गरेका छन् ।

बीमा प्राधिकरणद्वारा जारी बीमकको लगानी निर्देशिकाबमोजिम नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रिले चालु आवको पहिलो त्रैमासको अवधिमा २७ अर्ब ७७ करोड ४४ लाख रूपैयाँ कुल लगानी गरेका हुन् ।

जुन गत आवको यसै अवधिको तुलनमा १०.०७ प्रतिशतले धेरै हो । गत आवको पहिलो त्रैमासको अवधिमा पुनर्बीमा कम्पनीहरुले २५ अर्ब २३ करोड ३३ लाख रुपैयाँ कुल लगानी गरेका थिए ।

नेपाल पुनर्बीमा कम्पनी एक्लैले २० अर्ब १ करोड ४ लाख रूपैयाँ लगानी गरेको छ । जुन कुल लगानीको ७२.०५ प्रतिशत हो ।
यस्तै, हिमालयन रिले ७ अर्ब ७६ करोड ४० लाख रूपैयाँ लगानी गरेको छ ।

बीमा प्राधिकरणद्धारा बीमकको लगानीसम्बन्धी निर्देशिका, २०७५ जारी गर्दै घरजग्गा व्यवसाय, जलस्रोत, कृषि, पर्यटन, सामूहिक लगानी कोषलगायतका क्षेत्रमा लगानी गर्न सक्ने बाटो खोलिदिएको थियो ।

तर, लगानीको दायरा फराकिलो भए पनि पुनर्बीमा कम्पनीको लगानी भने अझै पनि बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा मात्रै सीमित भएको छ ।

बीमा समितिद्धारा जारी बीमकको लगानी निर्देशिकामा तोकिएको क्षेत्रमा लगानी नगरि बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा मात्रै केन्दि«त भएका हुन् ।

पुनर्बीमा कम्पनीहरुले कुल लगानीको ८५.९२ प्रतिशत रकम बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा गरेका छन् ।

दुवै कम्पनीले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा मात्रै कुल लगानीको ८५.९२ प्रतिशत अर्थात २३ अर्ब ८६ करोड ४४ लाख रुपैयाँ लगानी गरेका हुन् ।

कम्पनीहरूले क बर्गको मुद्दती नक्षेपमा २१ अर्ब ९० करोड १२ लाख रुपैयाँ र ख बर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा १ अर्ब ९६ करोड ३१ लाख रुपैयाँ लगानी गरेका छन् ।

कम्पनीहरुले सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा ९ करोड ४७ लाख रुपैयाँ लगानी गरेका छन् । जुन कुल लगानीको ०.३६ प्रतिशत मात्रै हुन आउँछ ।

क, ख र ग बर्गको बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर र ऋणपत्रमा कम्पनीहरुले २ अर्ब ३७ करोड ३८ लाख रुपैयाँ लगानी गरेका छन् । जुन कुल लगानीको ८.५५ प्रतिशत हो ।

यस्तै, पुनर्बीमा कम्पनीहरुले म्यचुअल फण्ड र नागरिक लगानी कोषमा १३ करोड ५१ लाख रूपैयाँ र नेपाल सरकारको बचतपत्रमा ३० करोड रुपैयाँ लगानी गरेका छन् ।

समितिद्धारा जारी बीमकको लगानी निर्देशिकाअनुसार पुनर्बीमा कम्पनीहरुले नेपाल सरकारको पूर्वाधार बैंकको मुद्दती निक्षेपमा न्यूनतम ४० प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था छ । तर, सञ्चालनमा रहेका दुई पुनर्बीमा कम्पनीले सो क्षेत्रमा लगानी नै गरेका छैनन् । यस्तै, पुनर्बीमा कम्पनीहरुले घर जग्गामा बढिमा ५ प्रतिशत लगानी गर्न सक्ने व्यवस्था भएता पनि यस क्षेत्रमा पनि लगानी शून्य छ ।

समितिद्वारा जारी बीमकको लगानी निर्देशिकाअनुसार पुनर्बीमा कम्पनीले नेपाल सरकारको बचपत्रमा न्यूनतम ५ प्रतिशत, क वर्गको बैंकको मुद्दती निक्षेपमा न्यूनतम ४० प्रतिशत, नेपाल पूर्वाधार बैंकको मुद्दती निक्षेपमा न्यूनतम ४० प्रतिशत, सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा बढीमा १० प्रतिशत, क, ख र ग बर्गको बैंक तथा वित्तीय संस्थाको सेयर र ऋणपत्रमा बढिमा २० प्रतिशत, सूचीकृत पब्लिक कम्पनीको सुरक्षित डिबेञ्चरमा बढिमा २० प्रतिशत, कृषि, पर्यटन र जलश्रोत लगायतका पूर्वाधारमा बढिमा २० प्रतिशत, म्युचुअल फण्ड र नागरिक लगानी कोषमा बढिमा ५ प्रतिशत, ख बर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा बढिमा २० प्रतिशत र ग वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा बढिमा १० प्रतिशत लगानी गर्न सक्ने व्यवस्था छ ।


क्लिकमान्डु