लगानीयोग्य पुँजी अभावले कात्तिकमा ३ वटा मात्रै उद्योग दर्ता, ८ अर्ब लगानी प्रतिबद्धता



काठमाडौं । बजारमा लगानीयोग्य पुँजी अभावले चालु आर्थिक वर्षको कात्तिक महिनामा ३ वटा मात्रै उद्योग दर्ता भएका छन् । उद्योग विभागको तथ्याङ्कअनुसार कात्तिक महिनाको २५ गतेसम्ममा ३ वटा मात्रै उद्योग दर्ता भएको देखाउँछ ।

गत वर्षको कात्तिक २५ गतेसम्ममा देशभर २३ वटा उद्योग दर्ता भएको थियो । तर, यो वर्षको सोही अवधिमा उद्योग दर्ताको संख्या ह्वात्तै घटेको छ । विभागअनुसार कात्तिकमा दर्ता भएका ३ वटा उद्योगले ८ अर्ब ३१ करोड १ लाख ५२ हजार रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् ।

बैंक तथा वित्तिय संस्थाले पर्याप्तमा कर्जा प्रवाह नगरेकाले उद्योग दर्ता घटेकोे नेपाल उद्योग वाणिज्य महासंघका उद्योग समिति सभापति भरत आचार्यले बताए ।

यो वर्ष बैंक तथा वित्तिय संस्थाले उद्योगी व्यवसायीको मागअनुसार कर्जा लगानी गर्न सकेका छैनन् । असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले ४७ खर्ब ९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए । गत कात्तिक १८ गते बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ४७ खर्ब ५५ अर्ब पुगेको छ । लगानीयोग्य पुँजीको अभावले पछिल्लो ११० दिनमा बैंक तथा वित्तीय संस्थाले ४६ अर्ब रुपैयाँ मात्रै कर्जा लगानी गरेका छन् । जबकी उद्योगी व्यवसायीले योभन्दा कैयौं गुणा बढी कर्जा मागिरहेका छन् ।

राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको असार मसान्तमा बैंक वित्तीय संस्थाले ५१ खर्ब ५८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । गत कात्तिक १८ गते बैंक तथा वित्तीय संस्थाको निक्षेप ६ अर्ब रुपैयाँले बढेर ५१ खर्ब ६४ अर्ब रुपैयाँ पुगेको छ ।

बैंकमा निक्षेप बढ्न नसक्दा उद्योगीको मागअनुसार कर्जा लगानी हुन नसकेको हो । बैंकबाट लिएको कर्जाले पनि नयाँ व्यवसाय स्थापना गर्नुभन्दा विगतमा लिएको ऋणको साँवा ब्याज तिर्न प्रयोग भएको छ ।

उद्योग समिति सभापति आचार्यका अनुसार अहिले देश चुनावमय बनेको र नयाँ व्यवसायिक वातावरण नबन्दा उद्योग दर्ता निकै कम भएको हो । ‘देश अहिले चुनावमय छ । अर्कोतर्फ व्यवसाय गर्न नयाँ वातावरण सिर्जना हुन सकेको छैन । साथै, मानिसहरुमा उत्प्रेरणा छैन । जसले गर्दा उद्योग दर्तामा प्रत्यक्ष असर भएको देखिन्छ,’ उनले क्लिकमाण्डूसँग भने ।

त्यसैगरी, लगानी सञ्चालन गरेको उद्योगहरुले नयाँ–नयाँ ठाउँमा परिचालन गर्ने आन्तरिक स्रोत छैन । यस्तो अवस्था उद्योग दर्ता गर्न नसक्ने उनको भनाइ छ ।

हरेक वर्ष असोज र कात्तिक महिनालाई चाडपर्वको महिना भनेर चिनिन्छ । चाडपर्वको महिना भएकाले अन्य महिनाको तुलनामा कम उद्योग दर्ता हुन्छ । चाडपर्व सकिएपछि मात्रै मानिसहरुले उद्योग दर्तामा बढी जोड दिन्छन् । तर, यो वर्ष व्यवसायिक आयोजनाका लागि बैंकहरुले कर्जा स्वीकृति गरेका छैनन् ।

‘अहिले कर्जा प्रवाहको समस्या मात्रै नभएर बैंक तथा वित्तिय संस्थाहरुले ब्याजदर अत्याधिक बढाएका छन् । यस्तो अवस्थामा उद्यमी तथा व्यवसायीले कसरी नयाँ उद्योग खोल्छन्,’ उनले प्रश्न गरे । अहिले सञ्चालनमा रहेको उद्योग सञ्चालन गर्न नै कठिनाइ भएकाले नयाँ उद्योग दर्ता गर्ने सम्भावना नरहेको उनले जिकिर गरे ।

साना उद्योगहरु सञ्चालन गर्ने दोस्रो कुरा हो । तर, ठूला तथा मझौला नयाँ उद्योग आउन निकै कठिन भएको उनले बताए ।
कात्तिकमा दुई वटा ठूला उद्योग जलविद्युत क्षेत्रमा लगानी प्रतिबद्धता जनाएको छ । जसमा दोलखा जिल्ला, बिगु गाउँपालिका वडा नम्बर १ मा डायनामिक हाइड्रो ईनर्जी प्रालिले ४० मेगावाटको विद्युत उत्पादन गर्ने जनाएको छ ।

कम्पनीले जलविद्युत आयोजनाका लागि ५ अर्ब ९१ करोड ६७ लाख ६० हजार रुपैयाँ लगानी प्रतिबद्धता जनाएको छ । आयोजनाबाट ३८ जनाले रोजगारी पाउनेछन् ।

त्यसैगरी, रसुवा जिल्ला, उत्तरगया गाउँपालिकाका माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेड आयोजनाले १३ मेगावाटको विद्युत उत्पादन गर्ने गरी लगनाी प्रतिबद्धता जनाएको छ । कम्पनीले आयोजनाका लागि २ अर्ब ३४ करोड ३३ लाख ९१ हजार रुपैयाँ लगानी गर्नेछ । साथै, ४० जनाले रोजगारी पाउनेछन् । विभागअनुसार दर्ता भएको उद्योग स्वदेशी लगानीका छन् ।

त्यसैगरी, कात्तिकमा काठमाडौं जिल्लामा ५ करोड लगानीमा क्युनिभर्स प्रालि उद्योग दर्ता भएको छ । कम्पनीले सफ्टवेयर र वेबपेज डिजाइनको काम गर्नेछ । जसमा १०१ जनाले रोजगारी पाउने तथ्याङ्कमा उल्लेख छ । कम्पनी पूर्ण विदेशी लगानीमा सञ्चालन हुनेछ ।


क्लिकमान्डु