निर्जीवन बीमा कम्पनीले संकलन गरे करिब ११ अर्ब बीमाशुल्क, राष्ट्रिय बीमा कम्पनीको १८३% ले बढ्यो



काठमाडौं । चालु आर्थिक वर्षको असोजसम्ममा निर्जीवन बीमा कम्पनीहरुले करिब ११ अर्ब रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका १९ वटा निर्जीवन बीमा कम्पनीहरुले १० अर्ब ८४ करोड २४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।

जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.८५ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको असोजसम्ममा निर्जीवन बीमा कम्पनीहरुले ९ अर्ब ६९ करोड ३४ लाख रुपैयाँ कुल कुल बीमाशुल्क संकलन गरेका थिए ।

चालु आवको असोजसम्ममा १९ वटा निर्जीवन बीमा कम्पनीहरुले ६ लाख ९ हजार ४६ वटा बीमालेख जारी गरी सो रकम संकलन गरेका हुन् ।

कम्पनीहरुले असोज महिनामा मात्रै २ लाख ४४ हजार ९७ वटा कुल बीमालेख जारी गरी २ अर्ब ९६ करोड ७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

गत आवको सोही अवधिको तुलनामा राष्ट्रिय बीमा कम्पनीको व्यवसाय धेरै प्रतिशतले बढेको छ । कम्पनीले चालु आर्थिक वर्षको असोजसम्ममा सबैभन्दा धेरै १ अर्ब २६ करोड ४५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

कम्पनीले गत आवको सोही अवधिको तुलनामा १८३.०४ प्रतिशतले बढाएको हो । अघिल्लो आवको असोज मसान्तसम्ममा कम्पनीले ४४ करोड रुपैयाँ मात्रै कुल बीमशुल्क संकलन गरेको थियो । गत आवको असोज महिनासम्मको तुलनामा ६ कम्पनीको व्यवसाय घटेको छ ।

व्यवसाय घट्ने कम्पनीहरुमा जनरल इन्स्योरेन्स कम्पनी, हिमालयन एभरेष्ट, सगरमाथा, प्रिमियर, एनएलजी र युनाइटेड इन्स्योरेन्स रहेका छन् ।

सबै भन्दा धेरै युनाइटेड इन्स्योरेन्सको बीमाशुल्क २६.५८ प्रतिशतले घटेर ३२ करोड ३१ लाख रुपैयाँमा झरेको छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ४४ करोड २ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।

एनएलजीको व्यवसाय ९.६६ प्रतिशतले, प्रिमियरको ६.८७ प्रतिशतले, सगरमाथाको ६.०२ प्रतिशतले, हिमालयन एभरेष्टको ४.१० प्रतिशतले र जनरल इन्स्योरेन्स कम्पनीको २.०२ प्रतिशतले घटेको हो ।

राष्ट्रिय बीमा कम्पनीपछि शिखर इन्स्योरेन्सले धेरै बीमाशुल्क संकलन गरेको छ । कम्पनीले चालु आवको असोज मसान्तसम्म १ अर्ब २ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

गत आवको सोही अवधिको तुलनामा शिखरको व्यवसाय १.६७ प्रतिशतले बढेको हो । गत आवको असो महिनासम्ममा कम्पनीले १ अर्ब रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।

शिखर पछि सगरमाथा इन्स्योरेन्स , सिद्धार्थ इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्सयोरेन्स, एनएलजी इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स र लुम्बिनी जनरलले अन्य कम्पनीको तुलनामा धेरै बीमाशुल्क संकलन गरेका छन् ।

चालु आवको असोजसम्ममा सिद्धार्थले ७६ करोड लाख रुपैयाँ, नेको इन्स्योरेन्सले २ करोड ८४ लाख रुपैयाँ, सिद्धार्थले ७६ करोड ४९ लाख रुपैयाँ, हिमालयन एभरेष्टले ७३ करोड ३४ लाख रुपैयाँ, एनएलजीले ६१ करोड ८ लाख रुपैयाँ, प्रिमियरले ५६ करोड ९ लाख रुपैयाँ र लुम्बिनी जनरल इन्स्योरेन्सले ५० करोड २४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

जनरल इन्स्योरेन्सले यस अवधिमा २५ करोड १८ लाख रुपैयाँ मात्रै कुल बीमाशुल्क संकलन गरेको छ ।


क्लिकमान्डु