७ वर्षमा नेपाल पुनर्बीमा कम्पनीको नाफा ५ अर्बमाथि, कुन वर्षमा कति कमायो ?



काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले ७ वर्षको अवधिमा ५ अर्ब ८ करोड ७६ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७१/७२ देखि आव २०७७/७८ को अवधिमा सो बराबरको नाफा कमाएको हो ।

कम्पनीले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०७१/७२ मा ३६ करोड २६ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । आर्थिक वर्ष २०७७/७८ मा आईपुग्दा कम्पनीले ६१ करोड १ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

आव २०७१/७२ मा कम्पनीको चुक्ता पुँजी ४ अर्ब ८४ करोड ६९ लाख ९ हजार रुपैयाँ थियो । आव २०७७/७८ मा आईपुग्दा कम्पनीको चुक्ता पुँजी ११ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ ।

आव २०७१/७२ मा कम्पनीको जगेडा कोषको आकार १ अर्ब २ करोड ८८ लाख १५ हजार रुपैयाँ थियो । आव २०७७/७८ मा आईपुग्दा कम्पनीको बीमा कोषको आकार १ अर्ब १७ करोड ९३ लाख ६२ हजार रुपैयाँ पुगेको छ ।

यस्तै, आव २०७१/७२ मा कम्पनीको बीमा कोषमा १८ करोड ६ लाख ७१ हजार रुपैयाँ थियो । आव २०७७/०७८ मा कम्पनीको बीमा कोषमा २ अर्ब २३ करोड ३९ लाख ३९ हजार रुपैयाँ सञ्चित छ ।

कम्पनीले आव २०७१/७२ मा पुनर्बीमा कमिशन आयबाट ३३ करोड २१ लाख रुपैयाँ आम्दानी गरेकोमा आव २०७७/७८ मा २ करोड ६९ लाख २९ हजार रुपैयाँ रहेको छ ।

कम्पनीले यस अवधिसम्ममा ११ अर्ब ५ करोड ४ लाख रुपैयाँ भुक्तानी गरेको जनाएको छ । कम्पनीले आव २०७१/७२ मा २ करोड ४६ लाख ५० हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । कम्पनीले आव २०७७/७८ मा ५ अर्ब २७ करोड ८४ लाख ७३ हजार रुपैयाँ भुक्तानी भएको जनाएको छ ।

आव २०७१/७२ मा कम्पनीमा कार्यरत कर्मचारीको संख्या १४ जना मात्रै थियो । आव २०७७/७८ मा आईपुग्दा कम्पनीमा ४५ जना कर्मचारी कार्यरत रहेको कम्पनीले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

नेपालमा पहिलो बीमा कम्पनी स्थापना भएको ६७ वर्षपछि नेपाल सरकार र बीमा कम्पनीहरुको संयुक्त पहलमा नेपालमा पहिलो पुनर्बीमा कम्पनी स्थापना भएको थियो ।

२०७१ साल कात्तिक २१ गते स्थापना भएको यस कम्पनी आजदेखि ८ वर्ष पूरा गरी नवौं वर्षमा प्रवेश गरेको छ ।

स्वदेशी तथा विदेशी बीमा कम्पनीहरुलाई गुणस्तरीय, भरपर्दो र विश्वसनीय पुनर्बीमा सेवा प्रदान गर्नु र पुनर्बीमा शुल्कको नाममा बाह्य मुलुकमा पलयान भईरहेको प्रिमियमको रकमलाई कम गुर्न कम्पनी स्थापना गर्नुको मूख्य उद्देश्य थियो ।

कम्पनीले यस अवधिसम्ममा विभिन्न २१ मुलुकका २९ पुनर्बीमा कम्पनीसँग व्यवसायिक सम्बन्ध स्थापना गरेको छ ।

कम्पनीमा नेपाल सरकार, जीवन बीमा, निर्जीवन बीमा तथा अन्य कम्पनीहरु र सर्वसाधारणको लगानी छ ।

कम्पनीमा नेपाल सरकारको ४४.०४ प्रतिशत, जीवन, निर्जीवन तथा अन्य कम्पनीहरुको ३९.९६ प्रतिशत र सर्वसाधारणको १६ प्रतिशत सेयर स्वामित्व छ ।


क्लिकमान्डु