प्राइम, यूनियन र गुराँस लाइफले तोकिएको समयमा एकीकृत कारोबार गर्न सकेनन्



काठमाडौं । बीमा समितिले जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुर्याउन निर्देशन दिएपछि प्राइम लाइफ, यूनियन लाइफ र गुराँस लाइफ इन्स्योरेन्सले मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

यी कम्पनीहरुबीच गत वैशाख २९ गते एक आपसमा गाभ्ने, गाभिने सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

तर, मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर भएको ६ महिना वित्दा पनि यी कम्पनीहरुले एकीकृत कारोबार गर्न नसकेका हुन् ।

कम्पनीहरुले कम्पनीहरुको विस्तृत लेखापरीक्षण (डिडिए) र बीमांकीय मूल्यांकनको काम भईरहेको बताएका छन् ।

यी कम्पनीहरुले कात्तिक १ गतेदेखि एकीकृत कारोबार गर्ने समितिलाई जानकारी दिएका थिए । तर, विस्तृत लेखापरीक्षण र बीमांकीय मूल्यांकनको काममा ढिलाई भएकाले कात्तिभित्रै एकीकृत कारोबार नहुने कम्पनीहरुले जनाएका छन् ।

नियामक निकाय बीमा समितिले यी कम्पनीहरुलाई गत जेठ महिनाको ३ गते नै मर्जरमा जाने सैद्धान्तिक सहमति दिएको थियो ।

बीमा समितिले ‘बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६’ को दफा ६ बमोजिम कम्पनीहरुलाई मर्जरका लागि सहमति दिएको थियो । सोही निर्देशिकाको दफा ७ बमोजिम मूल्यांकनकर्ता नियुक्त गरी समितिमा विवरण पेश गर्न समेत निर्देशन दिएको थियो ।

बीमा समितिबाट मर्जरका लागि सैद्दान्तिक सहमति पाएपछि बीमकहरुले आ-आफ्नो सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन गर्न कम्तीमा बीमकको लेखापरीक्षण गर्न योग्य रहेको, फर्म, कम्पनी वा संस्थालाई आपसी सहमतिमा मूल्यांकनकर्ता नियुक्त गरी सोको जानकारी समितिलाई दिनुपर्नेछ ।

तर, जीवन बीमा व्यवसाय गर्ने बीमकहरुको हकमा सम्पत्ति र दायित्व मूल्यांकन गर्नुअघि अनिवार्य रूपमा बीमांकीय मूल्यांकन गर्नुपर्नेछ । मूल्यांकनपछि मात्रै समितिले अन्तिम स्वीकृति दिने व्यवस्था रहेको छ  ।

गुराँस, प्राइम र यूनियन लाइफ इन्स्योरेन्स एक बराबर एकको अनुपातमा गाभिने हो भने यी कम्पनीको संयुक्त चुक्ता पुँजी ७ अर्ब १ करोड ३८ लाख ६६ हजार रुपैयाँ पुग्ने छ ।

मर्जरको सम्झौता गरेका यी ३ कम्पनीमध्ये सबैभन्दा धेरै चुक्ता पुँजी प्राइम लाइफको छ । गत आवको चौथो त्रैमासको अवधिसम्ममा कम्पनीको चुक्ता पुँजी २ अर्ब ७७ करोड ९६ लाख १६ हजार रूपैयाँ छ ।

सोही अवधिसम्ममा गुँरास लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ८ करोड ४२ लाख ५० हजार रूपैयाँ छ भने सबैभन्दा थोरै चुक्ता पुँजी यूनियन लाइफको २ अर्ब १५ करोड रुपैयाँ छ ।


क्लिकमान्डु